नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दा कम क्षति हुने गरी सत्तारुढ दलहरूबीच प्रदेश सभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो धारणा राखेका हुन् । यस सम्बन्धमा केन्द्रीय समितिमा व्यापक छलफल भइरहेको र त्यसले आवश्यक निर्णय लिने उनको भनाइ थियो ।
‘गठबन्धनबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भइरहेको छ । तर, गठबन्धन गर्दाखेरी पनि नेपाली कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी हामी गठबन्धनमा जानुपर्छ,’ उनले भने, ‘सभापतिजी विधि र विधानसम्मत जानुभएन । ३ महिनामा चयन हुनुपर्ने कोषाध्यक्ष अझै चयन गर्न सक्नुभएको छैन ।’
नेता कोइरालाले पार्टीको विधानअनुसार अझै केन्द्री कोषाध्यक्षसमेत चयन गर्न नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोशसमेत गरे । उनले पार्टीलाई विधि र विधानमा हिँडाउन नेतृत्वलाई सचेत गराउने काम आफूहरूले गरिरहने बताए ।