राजापाक्षेको आगमन राष्ट्रनायकको रूपमा, बहिर्गमन अपमानपूर्वक मुलुकबाट खेदिएर

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

तमिल विद्रोहीसँगको दशकौँ लामो रक्तपातयुक्त पृथकतावादी युद्धको सफल सैन्य समाधान निकालेर राष्ट्रिय हिरोका रूपमा उदाएका राजापाक्षे परिवार अपमानपूर्वक भागेर मुलुक छोड्न बाध्य भएको छ । श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे माल्दिभ्स पलायन भएका छन् । श्रीमती र दुई निजी सुरक्षाकर्मीसहित एयर फोर्सको एन३२ विमानबाट उनी माल्दिभ्सको राजधानी माले पुगेका हुन् । 

राष्ट्रपति राजापाक्षेलाई संविधानको प्रावधानमा रहेरै सरकारको आग्रहमा सैन्य विमानले माले पुर्याइदिएको श्रीलंकाको हवाई सेनाले जनाएको छ । ‘संविधानको प्रावधानअन्तर्गत र सरकारको आग्रहमा श्रीलंकाको हवाई सेनाले आज बिहान राष्ट्रपति, उनकी श्रीमती र दुई सुरक्षा अधिकारीलाई माल्दिभ्स जान विमान उपलब्ध गराएको हो,’ हवाई सेनाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । 

गोटावाया भागेर माल्दिभ्समा शरण लिन पुगेपछि संविधानअनुसार प्रधानमन्त्री रनिल बिक्रमासिंघे कार्यवाहक राष्ट्रपति नियुक्त भएको सभामुखले पुष्टि गरेका छन् । तर, उनी कुन संवैधानिक प्रावधान र प्रक्रियाअन्तर्गत कार्यवाहक राष्ट्रपति भएका हुन् भन्नेचाहिँ खुलाइएको छैन । श्रीलंकाको सैन्य मुख्यालयले कार्यवाहक राष्ट्रपतिबारे आधिकारिक सूचनाका लागि सरकारसमक्ष आग्रह गरेको छ ।

कार्यवाहक राष्ट्रपतिको कार्यभार आफूमा आएको उद्घोष गर्दै विक्रमासिंघेले शान्ति सुरक्षा कायम गर्न जुनसुकै कदम चाल्न सुरक्षा बललाई आदेश दिएका छन् । उनले शान्ति सुव्यवस्था कायम गर्न उच्च सैन्य अधिकारीको नेतृत्वमा एउटा समिति पनि घोषणा गरेका छन् । विक्रमासिंघेले सभामुखलाई सरकार र विपक्षीलाई मान्ने हुनेगरी प्रधानमन्त्री चयन गर्न आग्रह गरेका छन् ।

यसअघि कर्फ्यु र मुलुकव्यापी संकटकालको घोषणाको आदेशले प्रदर्शनकारीलाई आक्रोशित बनाएको थियो । प्रतिबद्धताअनुसार राजीनामा दिनुको सट्टा आफूलाई कार्यवाहक राष्ट्रपतिका रूपमा प्रस्तुत गरेर प्रदर्शनकारीलाई तर्साउने र दमन गर्ने मनसायले संकटकाल लगाएर कर्फ्युको आदेश दिएपछि प्रदर्शनकारी थप उत्तेजित बन्न पुगे । राष्ट्रपतिलाई भाग्न दिएको भनेर उनीसँग रिसाएका प्रदर्शनकारीलाई यसले झनै आक्रोशित बनायो । उत्तेजित प्रदर्शनकारीले प्रधानमन्त्रीको कार्यालयमै धावा बोले र त्यहाँ पनि कब्जा जमाउन पुगेका छन् ।  परिस्थिति काबुबाहिर जान सक्ने संकेत देखिएपछि घोषणा गरेको केही बेरमै संकटकाल र निषेधाज्ञाको आदेश रद्द गर्नुपर्यो । तर, उनले बुधबार राति नै  देशव्यापी संकटकाल घोषणा गरेका छन् । विक्रमासिंघे कार्यवाहक भएपश्चात् शनिबारपछि खासै अशान्त नदेखिएको कोलम्बो बुधबार दिनभर अशान्त रह्यो । प्रदर्शनकारीले राष्ट्रपति गोटावायलाई तुरुन्त अपदस्थ गर्न माग गरिरहेका छन् ।

राजापाक्षेलाई माल्दिभ्समा पनि अवरोध 
सोमबार अलजजिराको विमानबाट दुईपटक दुबई भाग्न खोजे पनि अध्यागमनको भिआइपी कक्षका कर्मचारीहरूको अवरोधका कारण राजापाक्षे पलायन हुन पाएका थिएनन् । तेस्रो प्रयासमा श्रीलंकाबाट भाग्न सफल भए पनि उनले माल्दिभ्समा पनि अवरोधको सामना गर्नुपरेको छ । माल्दिम्सको एयर ट्राफिक कन्ट्रोलले बन्दरनाइके अन्तर्राष्ट्रिय विमानस्थलमा राजापाक्षेलाई लिएर आएको सैन्य विमानलाई सुरुमा अवतरणको अनुमति दिन अस्वीकार गरेको माल्दिभ्सका अधिकारीलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ । उनको विमानलाई अवतरणका लागि माल्दिभ्सको संसद्का सभामुख एवं पूर्वराष्ट्रपति मोहम्मद नासिदले हस्तक्षेप नै गर्नुपरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले लेखेका छन् । उनलाई मालेमा शरण दिएको भनेर मालेमा विरोध प्रदर्शन भएको छ । राजापाक्षे सिंगापुर जाने तर्खरमा रहेको बताइन्छ । 

श्रीलंकाको संवैधानिक प्रावधान 
श्रीलंकाको संविधानअनुसार राष्ट्रपतिको अनुपस्थितिमा प्रधानमन्त्री कार्यवाहक हुने प्रावधान छ । यही प्रावधानअन्तर्गत विक्रमासिंघे कार्यवाहक राष्ट्रपति भएका छन् । राजापाक्षेले वाचाअनुसार राजीनामा पठाए भने विक्रमासिंघे ३० दिनका लागि कामचलाउ राष्ट्रपति हुनेछन् । तर, प्रदर्शनकारी विक्रमासिंघेलाई कामचलाउ राष्ट्रपति स्वीकार गर्ने मुडमा छैनन् । उनीहरूले प्रधानमन्त्रीको पनि तत्काल राजीनामा माग गरिरहेका छन् । तर, बुधबारको घटनाक्रमले विक्रमासिंघेको नजर राष्ट्रपति पदमा गएको हो कि भन्ने देखिन्छ । 

एजेन्सीको सहयोगमा

सुझावित समाचार