४२ कलाकारका चार दर्जनभन्दा बढी क्यारिकेचर एकै ठाउँमा

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

४२ जना कलाकारले बनाएका चार दर्जनभन्दा बढी क्यरिकेचरलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले एकै ठाउँमा प्रदर्शनीको अवसर जुटाइदिएको छ । नेपाली क्यारिकेचर–०७९’ प्रदर्शनीका नाममा नक्सालस्थित प्रतिष्ठान परिसरमा आइतबार सुरु भएको प्रदर्शनीमा नेपालका चर्चित अनुहारहरूको ‘क्यारिकेचर’ राखिएको छ । 

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजका अनुसार पत्रकारिता र कलाकारितामा क्यारिकेचरको महत्व विशिष्ट छ । रङ र रेखाद्वारा व्यक्तिको भावसहितको बढाइचढाइ अर्थात् अतिरञ्जना गरिएको चित्रको पत्रकारितामा अझै बढी महत्व छ । यही महत्व दर्साउन पनि क्लब र प्रतिष्ठानले विगतमा जस्तै संयुक्त रूपमा ‘नेपाली क्यारिकेचर–०७९’ प्रदर्शनीको आयोजना गरेको हो । उनका अनुसार प्रतिष्ठान र क्लबले क्यारिकेचर विधामा महिला कलाकारका लागि २८–३० पुसमा क्यारिकेचर कार्यशाला राखेको थियो । कार्यशालामा सहभागी महिला कलाकारले बनाएका उत्कृष्ट क्यारिकेचर पनि प्रदर्शनीमा छन् । क्लबका अध्यक्ष क्षितिजले प्रदर्शनीमा नेपालको सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्तित्वका क्यारिकेचर राखिएको बताए । 

प्रदर्शनीमा अशोकमान सिंह, अविन श्रेष्ठ, जीवन राजोपाध्याय, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवीन्द्र मानन्धर, केशवराज खनाल, योगेश खपाङ्गी, राजेश मानन्धर, सागर शाह, भानु भट्टराई, महेश बस्ताकोटी, रवि मिश्र, रामकृष्ण थापा, उमेशचन्द्र अधिकारी, दीपक गौतम, सानुराज डंगोल, अकृन अधिकारी, सुजिता महर्जन, रमिला महर्जन, एनबी गुरुङ, पल्पसा मानन्धर, प्रकाश थापा प्रथा, एलिना पोखरेल, असिना भण्डारी र अर्पिता शाक्यलगायतका कला, साहित्य, खेलकुद, चलचित्र, व्यापारलगायत क्षेत्रमा योगदान दिएका व्यक्तित्वको क्यारिकेचर राखिएका छन् । 

 व्यंग्य गर्दै सचेत गराउनु महत्वपूर्ण काम 
प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालका अनुसार कसैको मुहारलाई हुबहु उतारेर अतिरञ्जना गर्नु ठूलो कला हो । यसमा हास्य र व्यंग्यसमेत हुने हुँदा झनै महत्वपूर्ण छ । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली कलाक्षेत्रमा क्यारिकेचरको महत्व पछिल्लो समय बढ्दै गएको बताए । कार्टुन, पत्रकारितासँगै कलामा समेत क्यारिकेचरको विशिष्ट महत्व रहेकाले यसलाई अझै समृद्ध पार्नुपर्ने उनको धारणा छ । 

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपालमा कार्टुनसँगै क्यारिकेचरको महत्व र आवश्यकता बढ्दै गइरहेको बताए । ‘नेपाली कलालाई आममानिससम्म पुर्याउन हामी सबैले प्रयत्न गर्नुपर्छ,’ उनले भने, ‘कलाले नै मानिसलाई समृद्ध र विशिष्ट बनाउने हो । समाजसँग सीधै संवाद गर्न सक्ने विधाको रूपमा कार्टुनलाई लिइन्छ ।’

सुझावित समाचार