नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले मिश्रित निर्वाचन प्रणालीले देश नबन्ने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले समानुपातिक निर्वाचन प्रणालीलाई कायम राख्दासम्म सरकार स्थायी नहुने तर्क गरेका हुन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीले वाम एकताको बाटो खुला राखेकाे उल्लेख गर्दै रसाइलीले कांग्रेसले पनि सबैका लागि गठबन्धनको बाटो खुला राख्नुपर्ने बताए। उनले भने, 'जसरी माओवादी र एकीकृत समाजवादीले कांग्रेसका कारण निर्वाचनमा अपेक्षित परिणाम नआएको भनेर पार्टीको बैठकमा राखेर वाम एकताको बाटो खुला राखेका छन्, हामीले पनि सबैका निम्ति बाटो खुला राख्नुपर्छ।'
रसाइलीले निर्वाचन इतिहास देखाएर नभई तत्कालीन एजेन्डाका आधारमा जितिने भन्दै हिजो विभिन्न नाममा बनेका संघीयताबारे कांग्रेसले छलफल चलाउनुपर्नेसमेत उल्लेख गरे।