मिटरब्याजी रामदेवका छोरा र छोरी पुर्पक्षका लागि कारागार चलान

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

ठगी तथा आपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त रामदेव साह भने फरार

विपन्न नागरिकको उठीवास लगाउने सप्तरीका मिटरब्याजी रामदेव साह तेलीका छोरा र छोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । मिटरब्याजका नाममा रामदेवले गर्दैै आएको ठगीमै संलग्न रहेको आरोप लागेका खडक नगरपालिका– ७ कल्याणपुरका नन्दकिशोर साह र अनुराधा साहलाई जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले थुनामा राख्न आदेश दिएको हो । 

मंगलबार दुवैको बयान सकिएपछि बुधबार साँझसम्म थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि साह दाजुबहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको सप्तरी जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्केले जानकारी दिए । अदालतको आदेशसँगै उनीहरूलाई राजविराज कारागार पठाइएको छ । ठगी तथा आपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त रामदेव साह भने फरार छन् ।

फरार साह र परिवारका अन्य सदस्यको खोजी भइरहेको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले बताए । साह परिवारमाथि जग्गा बन्धकी राखी चर्को मिटरब्याज असुली गर्ने र धेरैजसो ऋणीले ब्याज चुक्ता गरिसक्दासमेत धितो फिर्ता नगरेको आरोप छ ।

सप्तरीकै नौजनाले साह परिवारमाथि संयुक्त रूपमा ठगी तथा आपराधिक विश्वासघातका मुद्दा दायर गरेका छन् । थुनछेक बहस चलिरहँदा अदालतको मूलढोकामा बुधबार पनि पीडित पक्षले प्रदर्शन तथा नाराबाजी गरेका थिए । न्यायको माग गर्दै मंगलबारदेखि उनीहरूले अदालतअगाडि प्रदर्शन थालेका हुन् । 

सुझावित समाचार