गतवर्ष असोज अन्तिम र कात्तिकमा डुबान र बाढीका कारण धानबाली गुमाएका कैलालीका किसानलाई राहत वितरणको काम बल्ल सुरु भएको छ। पीडित किसानलाई क्षतिपूर्तिस्वरूप संघीय सरकारले उपलब्ध गराएको नगद रकम यहाँका स्थानीय तहहरूले वितरण गर्न सुरु गरेका छन्।
किसानलाई राहतका लागि करिब २२ करोड रुपैयाँ स्थानीय तहहरूलाई निकासा दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। सरकारको तोकेको मापदण्डअनुसार क्षतिका आधारमा स्थानीय तहहरूले राहत रकम वितरण गरिरहेका छन्। २५ असारभित्र राहत रकम किसानलाई वितरण गरिसक्न भनिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। कतिपय तहले राहत रकम वितरण गरिसकेका छन्।
भजनी नगरपालिकाको कृषि शाखा प्रमुख कमलप्रसाद चौधरीले किसानलाई राहत वितरण कार्य भइरहेको बताए । उनले केही दिनभित्रै राहत वितरण कार्य सकिने जानकारी दिए। गत वर्षको बाढी र डुबानबाट भजनी नगरपालिकामा साढे ६ हजार हेक्टरमा लगाइएको धानबाली नष्ट भएको थियो। त्यसबाट १० हजार किसान पीडित बनेकाे चौधरीले बताए।
राहत वितरणका लागि मापदण्ड बनाइएको छ। एक कठ्ठादेखि १० कठ्ठासम्म क्षति भएका किसानलाई प्रतिकठ्ठा तीन सय १५ रुपैयाँ राहत वितरण भइसकेको छ। त्यस्तै, ११ कठ्ठादेखि ६० कठ्ठासम्म क्षति भएका किसानलाई प्रतिकठ्ठा एक सय २५ रुपैयाँ र त्योभन्दा बढी क्षति भएकालाई प्रतिकठ्ठा ७५ रुपैयाँ राहत दिने मापदण्ड बनाइएको छ।
गत वर्ष ३१ असोजदेखि २ कात्तिकसम्म भएको अविरल वर्षाले कैलालीमा पाकेको धानबालीमा ठूलो क्षति पुगेको थियो। वर्षापछि भएको डुबान र बाढीले काटेर सुकाउन खेतमा राखिएको धानबाली नष्ट भएको थियो। लामो समय डुबान भएपछि काटेको धान सुकाउन राखेको धान खेतमै उम्रिएको थियो । कतिपय ठाउँमा धान बाढीले बगाएको थियो।