तीन महिनापछि खोलियो लुम्बिनीको दानपेटिका

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण

लुम्बिनीको प्रमुख आम्दानीको स्रात मानिने दानपेटिका तीन महिनापछि खोलिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईको नेतृत्वमा सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा आइतबार दानपेटिका खोलिएको हो । 

दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभी क्यामेरा जडान गरी गणना सुरु गरिएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकहरूले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी सबै पक्षको रोहबरमा दानपेटिका खोलिएको कोषाध्यक्ष भट्टराईले बताए । उनले आफूले कोषाध्यक्ष पद सम्हालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग नभएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए । 

भट्टराईका  अनुसार आइतबार एउटा मात्रै दानपेटिका खोलिएको छ । चारवटा दानपेटिका खोलेर संकलित दानको गणना गर्न चार दिनसम्म लाग्ने उनले बताए । राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा दानपेटिका खोलिएको हो । यसअघि ०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो । १५-१५ दिनमा दानपेटिका खोल्नुपर्ने भए पनि दानपेटिका भरिएपछि मात्रै खोल्ने गरिएको कोषाध्यक्ष भट्टराईले बताए । 

अघिल्लोपटक दानपेटिकामा ३७ लाख दान संकलन भएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको स्राेतका रूपमा दानलाई लिने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि  भारतीय पर्यटकको आवागमन वृद्धि भएको कोषले जनाएको छ । 

सुझावित समाचार