नेपाली पत्रकारितालाई दक्षिण एसियामै खुला, स्वतन्त्र र मर्यादित बनाउनुपर्छ : सञ्चारमन्त्री कार्की

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण
नेपाली पत्रकारितालाई दक्षिण एसियामै खुला, स्वतन्त्र र मर्यादित बनाउनुपर्छ : सञ्चारमन्त्री कार्की

फाइल फोटो

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली पत्रकारितालाई दक्षिण एसियामै खुला, स्वतन्त्र र मर्यादित बनाउनुपर्ने बताएका छन्।  मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आज आयोजना गरेको ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’ विषयक राष्ट्रिय गोष्ठीमा उनले यस्तो बताएका हुन् । 

‘सञ्चार क्षेत्रमा कार्यस्थल सुरक्षितसम्बन्धी निर्देशिका एउटा दस्ताबेज बनाउने मात्र होइन, यसलाई कार्यान्वयन गरेर जानुपर्छ,’ मन्त्री कार्कीले भने, ‘यो दस्ताबेजले पत्रकारलाई मात्र होइन, सबै नागरिकलाई उदाहरण हुने गरी कार्यान्वयन गरेर जानुपर्छ ।’

उनले सञ्चारमाध्यमको कार्यकक्ष, कार्यस्थल, समाचार संकलन गर्ने ठाउँमा मात्र सुरक्षा नभई समग्र समाजलाई सुरक्षित बनाउने विषयमा छलफल हुनुपर्ने जरुरी भएको उल्लेख गरे ।  ‘सञ्चारकर्मी आफू अनुशासित, उत्तरदायी र पादरर्शी हुन सके आफू र समाजलाई पनि हिंसाबाट मुक्त गर्न सक्छौँ,’ उनले भने ।

मन्त्री कार्कीले विकसित तथा अविकसित देशहरूका समस्या फरक खालका हुने प्रसंग उल्लेख गर्दै सुन्दर देश नेपालको प्राकृतिक स्रोतसाधनको उपयोग गरी समाजप्रति उत्तरदायी नागरिक बनाउन सञ्चारमाध्यमको भूमिका अहं हुने पनि चर्चा गरे । ‘नेपाल प्राकृतिक हिसाबले निकै सुन्दर देश हो, प्राकृतिले प्राकृतिक स्रोत साधन दिएको छ,’ मन्त्री कार्कीले थपे, ‘प्राकृतिक सम्पदाको प्रयोग गरेर दक्षिण एसियामा आगामी पुस्ता धनी बनाउन जरुरी छ, त्यस कार्यमा सबैजना लाग्न जरुरी छ ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कुनै पनि कार्यस्थल सुरक्षित बनाउन सरकारको दायित्व रहेको भए पनि सञ्चार क्षेत्र अरू कार्यस्थलभन्दा फरक र संवेदनशील भएको बताए ।

पत्रकारको कार्यस्थल काम गर्ने ठाउँ मात्र नभएर समाचार संकलनका साथै समाचारका स्रोतसम्म पनि पुग्नुपर्ने एक महत्वपूर्ण स्थान भएकाले यसलाई फरक प्रकृतिको र संवेदनशील कार्यस्थलका रूपमा लिनुपर्ने धारणा उनको थियो । 

सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थलसम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिल पनि  सरकारकै अंग भएको सचिव डा. अर्यालले बताए । ‘नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका सम्पूर्ण बैंकहरूले कानुनसरह लागू गर्छन्,’ सचिव अर्यालले भने, ‘त्यस्तै सञ्चारको क्षेत्रमा प्रेस काउन्सिले लागू गरेको आचारसंहिता वा निर्देशिका पनि कानुनसरह लागू हुन्छ ।’ –रासस

सुझावित समाचार