पोखराका तालहरूको नयाँ मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

पोखरा महानगरपालिकाको १६ चैत ०७८ मा सम्पन्न कार्यपालिकाको बैठकले पोखराका तालहरूको मापदण्ड घटाउन गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार आदेश दिएको हो । कार्यपालिका बैठकले पोखरामा रहेका तालहरूको ६५ मिटरको मापदड घटाएर फेवातालको ३०, रूपा र बेगनासको ५५/५५, न्युरोनी, खास्टे, दिपाङ, गुँदे, कमल र मैदीको २०/२० मिटर कायम गर्ने निर्णय गरेको थियो ।

१६ वैशाख ०७५ मा सर्वाेच्चले तालको मापदण्ड ६ महिनाभित्र तोक्न र ताल किनारको ६५ मिटरभित्र कुनै भौतिक संरचना निर्माण नगर्न र संरक्षण क्षेत्र कायम गर्न भन्दै निर्देशनात्मक आदेश दिएको थियो । आफ्नो कार्यकाल सकिन लाग्दा महानगरको कार्यपालिका बैठकले सर्वाेच्चले आदेश दिएको तीन वर्ष पुग्न लाग्दा दिएको आदेशलाई लत्याउँदै मापदण्ड घटाउने निर्णय गरेको थियो । तत्कालीन महानगर नेतृत्वले भने सर्वोच्चको आदेशअनुसार मापदण्ड कायम गरेको दाबी गरेको  थियो ।

महानगरको मापदण्ड घटाउने निर्णयविरुद्ध अधिवक्ताहरू खगेन्द्र सुवेदी, कृष्णहरि खड्का, दिपेन्द्रप्रसाद घिमिरे र सरोजनाथ प्याकुरेलले ११ जेठमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइपछि अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशमा पोखरा महानगरपालिका तथा महानगर कार्यपालिका, महानगरपालिकाका प्रमुख, पोखरा उपत्यका नगर विकास समिति, ताल संरक्षण तथा विकास प्राधिकरणलाई मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि नयाँ मापदण्ड कायम नगर्न आदेश दिएको हो ।

४७ वर्षअघि तोकिएको थियो मापदण्ड
तत्कालीन पोखरा नगर योजनाले १५ मंसिर ०३० मा पोखराका तालहरूको मापदण्ड कायम गरेको थियो । नगर योजनाले गरेको निर्णय तत्कालीन सरकारले स्वीकृत गरेपछि कार्यान्वयनमा आएको थियो । स्वीकृत मापदण्डअनुसार फेवाताल किनारादेखि दुई सय फिटसम्म कुनै निर्माण गर्न नपाइने, त्यसपछि ताल किनार क्षेत्रको जग्गामा नेपाली कच्चा पदार्थबाट निर्मित पर्यटकीय डिस्पोजल कटेज निर्माण गर्न पाउने र अर्कोतर्फ सोहीअनुसारको एक तले कटेज मात्र निर्माण गर्न पाइनेलगायत थियो ।

सुझावित समाचार