काठमाडौं विश्वविद्यालयका १७०० विद्यार्थी दीक्षित

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न संकायका गरी एक हजार सात सय १२ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित भएका हुन् ।

कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन्। उक्त दीक्षान्त समारोहमा पुरुष एक हजार ३२ तथा ६०.२८ प्रतिशत र महिलाको ६ सय ८० जना अर्थात् ३९.७२ प्रतिशत दीक्षित भएका हुन् । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका एक सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता र आइआइटी हैदेराबादका निर्देशक बिएस्. मूर्तिको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति देउवाले खनिज पदार्थको पहिचान गरी विशेषज्ञता हासिल गरी देश विकासमा टेवा पुर्याएकामा धन्यवाद व्यक्त गरे ।

‘खनिज पदार्थको पहिचान गरी ग्रिन हाइड्रोजन उत्पादन व्यवस्थापन गर्नु आजको आवश्यकता हो त्यसमा विश्वविद्यालयले दक्ष प्राविधिकको उत्पादन गरेकोमा खुसी व्यक्त गर्दछु ।’ देउवाले भने, ‘जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र जैविक विविधताको अनुसन्धानमा दक्ष जनशक्ति उत्पादन गरी मुलुकको विकासमा थप टेवा पुर्याउँछ भन्ने विश्वास लिएको छु ।’

स्वदेशभित्रै युगअनुसारको शिक्षा प्रदान गर्ने विश्वविद्यालयको उद्देश्य उनले बताए । विश्वविद्यालयले विभिन्न देशका विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अगाडि बढेको पनि उनले बताए । विश्वविद्यालयमा हालसम्म ३८ हजार तीन सय ३६ उत्तीर्ण तथा दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलसहित विभिन्न शिक्षासेवीहरूको उपस्थिति रहेको थियो ।
 

सुझावित समाचार