तारा एयर दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाकै शव भेटियो

उद्धारमा खटिएका सुरक्षाकर्मी फिर्ता, दुर्घटनास्थलबाट ब्ल्याकबक्स समेत भेटियाे

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण

कोवाङमा ल्याइएका १२ जनाको शवलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडाैं पठाउने तयारी

मुस्ताङको थासाङ गाउँपालिका– २ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीनजना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ।

विमानमा सवार २२ जनाकै शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार १० जनाको शव सोमबार नै काठमाडौं पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ ।

दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए ।

कोवाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडाैं पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज  हराएको १९ घन्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिक रूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार दुई सय मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान संकलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घन्टा उकालो हिँड्नुपर्छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुकाएकाहरूको शव संकलन र उद्धार गरेका थिए  । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बाग्लुङको बडिगाड गाउँपालिका– ७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । 

सुझावित समाचार