एएफसी यू– १७ एसियन कप छनोट : नेपाल समूह ‘एफ’मा

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

बहराइनमा आयोजना हुने एएफसी यू– १७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ। एएफसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह ‘एफ’मा परेको छ।

चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन्। एएफसीले जारी गरेको तालिकाअनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुनेछ।

सिंगल  राउन्डरोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउनेछन्। एएफसीले छनोट खेल्न लागेका एसियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर मंगलबार तालिका सार्वजनिक गरेको हो । १०  समूहअन्तर्गत समूह ‘डी’सम्म पाँच टोली रहेका छन् । यस्तै, अन्य समूहमा चार टोली समावेश गरिएको छ।

एसियाली पावरहाउस समूह ‘ए’मा अटाएको छ भने छिमेकी भारत समूह ‘डी’मा समावेश छ। सँगै अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स पनि समूह ‘डी’मा नै रहेको छ। यस्तै भुटान र बंगलादेश समूह ‘ई’मा छन् भने श्रीलंका समूह ‘जे’मा समावेश छ।

हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ। यस्तै समूहको दोस्रो हुने उत्कृष्ट पाँच टोलीले समेत एसियन कप खेल्नेछ। एएफसी यू–१७ एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

सुझावित समाचार