निर्वाचनमा सामाजिक सञ्जाल : कम खर्चिलो, तर प्रभावकारी

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

सामाजिक सञ्जाल तटस्थ र पहिलोपटक मतदान गर्दै गरेका ३६ लाख मतदातासम्म पुग्ने प्रभावकारी माध्यम हुने सम्भावना

सोसल मिडिया, अर्थात् सशक्त इन्फ्ल्युएन्सर
पछिल्लो समय सामाजिक सञ्जालहरूले मानिसको विचारलाई अभूतपूर्व रूपले आकार दिन थालेको विभिन्न अध्ययनले देखाएका छन् । पहिलोपटक मतदानमा सहभागी हुने कम्तीमा २० प्रतिशत मतदाताको राजनीतिक दृष्टिकोणलाई सामाजिक सञ्जालले आकार दिन थालेको अमेरिकी निर्वाचनहरूको अध्ययनमा देखिएको छ । सामाजिक सञ्जालको बढ्दो पहुँच र शक्तिका कारण यसको उल्लेख्य प्रभाव देखिन थालेको हो । 

प्रतिबद्ध कार्यकर्ताबाहेकका अधिकांश मतदाता इन्फ्लुएन्सरहरूबाट प्रभावित भएर मतदान गर्छन् । पछिल्लो समय सामाजिक सञ्जाल सशक्त इन्फ्लुएन्सरका रूपमा उदाएको छ । उम्मेदवारले मतदाताको मनमा आफ्नो र दलको राम्रो छवि निर्माण गर्न सामाजिक सञ्जाल अधिकतम प्रयोग गर्न थालेका छन् । चुनावमा इन्फ्लुएन्सर नयाँ विषय त होइन, तर पछिल्ला निर्वाचनमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न विश्वभर नै इन्फ्लुएन्सरहरूमा अधिकतम भर पर्न थालिएको छ । 

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा चुनाव प्रचारप्रसार एवं आफ्नो छवि निर्माणमा सामाजिक सञ्जाल उपयोग गर्ने पहिलो उम्मेदवार थिए । डोनाल्ड ट्रम्पलाई सत्तासीन बनाउन पनि सामाजिक सञ्जालको ठूलो हात रहेको अध्ययनले देखाएका छन् । ‘चुनावमा सामाजिक सञ्जालको प्रभाव सर्वत्र छ, अध्ययनले सोसल मिडिया र शिक्षकलाई दुई महत्वपूर्ण इन्फ्लुएन्सर पाएको छ,’ स्टडीडटकमका रणनीतिकार ब्रुक गिवर्टले फोब्र्ससँग भनेका छन् । 

प्रशान्त किशोर सामाजिक सञ्जाल प्रयोगकर्ता

निर्वाचनमा राजनीतिक पार्टीका विद्यमान स्रोतसाधनलाई अधिकतम प्रभावकारी उपयोग गरेर तिनको शक्तिलाई गुणात्मक बनाउनुपर्छ

तटस्थ र नयाँ मतदातासम्म पुग्ने प्रभावकारी माध्यम 
कुनै पनि पार्टीमा नलागेका तटस्थ मतदाता र पहिलोपटक मतदान गर्दै गरेको पुस्ताले अधिकतर इन्फ्लुएन्सरबाट प्रभावित भएर नै मतदान गर्ने गर्छन् । निर्वाचन आयोगका अनुसार ५ पुस ०७८ सम्म १८ वर्ष उमेर पुगेका मतदाताको संख्या एक करोड ६२ लाख ४३ हजार छ । थपिएका नयाँ मतदाताको संख्या ३६ लाख ५९ हजार दुई सय ९९ छ । यो संख्या झन्डै अघिल्लो निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएको ठूलो दल कांग्रेसको बराबर हो । यो निर्वाचनमा नयाँ मतदाता निर्णायक हुनेछन् । यस्तोमा जुन दल तटस्थ र विशेषगरी नयाँ मतदातासम्म प्रभावकारी माध्यमबाट पुग्न सक्छन्, तिनले राम्रो प्रदर्शन गर्नेछन् । 

डेटारिपोर्टलडटकमअनुसार नेपालमा जनवरी ०२१ मा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या एक करोड ३० लाख थियो । सन् २०२० र २०२१ को बीचमा एक वर्षमै नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या ३० प्रतिशतले बढेको तथ्यांकले देखाउँछन् । अर्थात्, अबको चुनावमा मतदानमा सहभागी हुने मतदाताको ठूलो संख्या सामाजिक सञ्जालमा संलग्न जनसंख्या हुनेछ । यसले सामाजिक सञ्जाललाई चुनावमा पार्टी र उम्मेदवारको प्रचारप्रसारमा अधिकतम परिचालन गर्न सक्ने प्रभावशाली दलले राम्रो नतिजा ल्याउन सक्ने सम्भावना रहेको संकेत गर्छ । यसबाट पनि नेपालको आसन्न निर्वाचनमा अनिर्णित मतदाताहरूलाई सामाजिक सञ्जालले प्रभावित गर्ने आकलन सहजै गर्न सकिन्छ ।

कम खर्चिलो माध्यम
सामाजिक सञ्जाल दल र उम्मेदवारबारे असल सन्देश पस्किने गतिलो माध्यम बन्न सक्ने देखिएको छ । नेपालका राजनीतिक दलहरूले निर्वाचन क्षेत्रअनुसारको वर्गीकृत तथ्यांक निर्वाचन आयोगबाट सजिलै प्राप्त गर्न सक्छन् । त्यसलाई केलाएर चुनावी रणनीतिक योजना बनाई प्रचारप्रसारमा लाग्दा चुनावी खर्चसमेत कम हुन सक्छ । खर्चिलो बन्दै गएको निर्वाचन प्रचारप्रसारलाई सीमित स्रोतसाधनको अधिकतम उपयोग हुने गरी रणनीति बनाउन सक्दा कम खर्चिलो बनाउन सकिन्छ । 

नेपालमा इन्टरनेटको ६० प्रतिशत ब्यान्डविथ फेसबुक, टिकटक चलाउनमा खपत हुने गरेको देखिन्छ भने शिक्षित र सहरी वर्गमा सीमित ट्विटरको ब्यान्डविथ हिस्सेदारी करिब २६ प्रतिशत देखिन्छ । यसबाट नेपालमा फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालको क्रेज देख्न सकिन्छ, अर्थात् फेसबुक, युट्युब, टिकटक र ट्विटरको प्रचार–प्रसारलाई जसले रणनीति बनाएर प्रभावशाली सामग्री पस्किनेछन्, प्रचार–प्रसारको यो मोर्चा उनीहरूकै हुनेछ । 

प्रचार–प्रसारको सशक्त मोर्चा
पछिल्लो समय आफ्नो कुरा छिटो र प्रभावकारी ढंगले सम्प्रेषण गर्ने माध्यम बनेको छ, टिकटक । प्रभावकारिताकै कारण बेइजिङ ओलम्पिकलाई मध्यनजर गर्दै चीनबाहिर मुलुकको सकारात्मक छवि फैलाउन चीन सरकारले पश्चिमका टिकटकर हायर गरेको थियो । नेपालमा इन्टरनेटको ६० प्रतिशत ब्यान्डविथ फेसबुक, टिकटक चलाउनमा खपत हुने गरेको देखिन्छ भने शिक्षित र सहरी वर्गमा सीमित ट्विटरको ब्यान्डविथ हिस्सेदारी करिब २६ प्रतिशत देखिन्छ । यसबाट नेपालमा फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालको क्रेज देख्न सकिन्छ, अर्थात् फेसबुक, युट्युब, टिकटक र ट्विटरको प्रचारप्रसारलाई जसले रणनीति बनाएर प्रभावशाली सामग्री पस्किनेछन्, प्रचारप्रसारको यो मोर्चा उनीहरूकै हुनेछ । यही कारण चुनावी रणनीतिकारहरूले पछिल्लो समय सामाजिक सञ्जाललाई बढ्दो रूपमा उपयोग गर्न थालेका छन् । 

चुनावी रणनीतिको भारतीय अभ्यास
भारतीय चुनावी रणनीतिकार प्रशान्त किशोर चुनावी रणनीति कार्यान्वयनको प्रभावकारी उपकरण सामाजिक सञ्जाललाई बनाउने गर्छन् । सावधानीपूर्वक निर्माण गरिएका प्रचार सामग्रीलाई अभियानकै रूपमा सोसल मिडियाबाट प्रसार गर्छन् । उनको प्रचार सामग्रीमा एकरूपता, लय र सकारात्मकता हुन्छ । रङको चयनदेखि स्थानीय प्रचार सामग्रीसम्ममा एकरूपता देखिन्छ । प्रतिस्पर्धीको चर्काे आलोचनाभन्दा आफ्नो असल छवि पस्किने प्रयास हुन्छ । जसलाई स्थानीय स्वंयसेवीहरूले योजनाबद्ध रूपले लक्षित मतदातासम्म प्रवाहित गरिरहन्छन् । मतदाताले दिएका पृष्ठपोषणका आधारमा प्रचारप्रसारका सामग्रीलाई सुधार गर्दै जान्छन् । चुनाव जित्न मतदाताको मनोविज्ञान बुझ्नु र त्यसैअनुरूप चुनावी योजना बनाउनुपर्ने हुन्छ । मतदाताको मनोविज्ञान बुझेर उनीहरूसमक्ष आफ्नो सकारात्मक छवि र एजेन्डा लिएर जाने प्रचार शैलीले नतिजा दिएको देखिन्छ । भारतमा पछिल्लो समयका केही चुनाव यसरी नै वाररुममा बसेका रणनीतिकारहरूको योजनामा लडिए । त्यसले सफल नतिजा पनि दिएको देखिएको छ । 

कसरी तयार गरिन्छ चुनावी रणनीति ?
चुनावी रणनीतिकारहरूले प्रत्येक निर्वाचन क्षेत्रका मतदाताको सूक्ष्म र वर्गीकृत अध्ययन गर्छन् । मतदातालाई विभिन्न समूहमा विभाजन गरेर कुन क्षेत्र र समूहका मतदातालाई सजिलै प्रभावित बनाउन सकिन्छ, निक्र्योल गर्छन् । त्यसैका आधारमा पहुँचको रणनीति बनाएर कार्यान्वयनमा लैजान्छन् । मतदाताको मनमा के चलिरहेको छ भन्ने नबुझी बनाइने रणनीतिले जबर्जस्ती थोपरिएको अनुभूति गराउने र त्यसअनुरूपका रणनीतिले दिगो रूपले नै प्रभावित गर्न सक्ने मनोविश्लेषक बताउँछन् । मतदातालाई धर्म, जात, लिंग, उमेर समूहका आधारमा उनीहरूको चासोका आधारमा सम्बोधन गरिन्छ । तिनको रुचि, अरुचिलाई ख्याल गरिन्छ । चुनावी रणनीतिका लागि विश्वसनीय तथ्यांक, त्यसलाई जमिनीस्तरमा लैजाने प्रतिबद्ध स्वयंसेवीहरूको दस्ता, त्यसको प्रभाव र पृष्ठपोषण लिने प्रणाली र सबैभन्दा बढी एकरूपता र इमानदार प्रयास आवश्यक पर्छ ।

सन् २०११ यता भारतीय चुनावी रणनीतिकार प्रशान्त किशोर र उनको राजनीतिक कन्सल्टेन्सी कम्पनीले विभिन्न पार्टीका लागि चलाएका नौमा आठ चुनावी अभियान सफल भएको देखिन्छ । तथ्यांक र मतदातालाई केन्द्रमा राखेर उनले अख्तियार गरेका चुनावी रणनीतिले बिजेपीका नरेन्द्र मोदीदेखि ममता बनर्जीसम्मलाई सफलतापूर्वक सत्तासीन गराइसकेको छ । प्रशान्त चुनावमा राजनीतिक पार्टीका विद्यमान स्रोतसाधनलाई अधिकतम प्रभावकारी उपयोग गरेर तिनको शक्तिलाई गुणात्मक बनाउँछन् । मतदाताको इच्छाअनुरूपका सन्देश र वाचा उनीहरूकै भाषामा लिएर विभिन्न माध्यमबाट मतदातासमक्ष पुग्छन् । सन् २०१४ को बिहार विधानसभाको निर्वाचनमा आइप्याकको अभियान नितिश कुमारको सकारात्मक छवि र प्रतिबद्धता लिएर दूरदराजका मतदातासम्म पुगेको थियो ।

सन् २०१४ को बिहार चुनावमा उनीहरू बिहारका मुख्यमन्त्री नितिशको हस्तलिखित पत्रको प्रतिलिपि र क्यालेन्डरहरू लिएर हरेक घर पुगेका थिए । उनीहरूले मोबाइल प्रविधिको पनि उपयोग गरेका थिए । मिसकल गर्न मतदातालाई एउटा फोन नम्बर उपलब्ध गराइएको थियो, जसमा मिसकल दिएको एक मिनेटमै कलब्याक आउँथ्यो । प्रापकले नितिशको आवाजमा महागठबन्धनको पक्षमा मतदानका लागि आह्वान गरिएको रेकर्डेड स्वचालित सन्देश सुन्न सक्थे । यसले मतदातामा अन्तरंग संवादको भान दिन्थ्यो र घनिष्टताको अनुभूति गराउँथ्यो । साथै, उम्मेदवारलाई थप जिम्मेवारीको बोध पनि गराउँथ्यो । 

प्रशान्त किशोर हरेक मतदातासम्म पुग्न हजारौँ ह्वाट्सएप समूह बनाउँछन् । ती समूह जात, लिंग, उमेर, निर्वाचन क्षेत्रलगायतका विशिष्ट आधारमा बनाइन्छन् । जसमा सिर्जनात्मक र सुन्दर शब्दमा सन्देशहरू प्रवाहित गरिन्छन् । सकेसम्म नकारात्मक सामग्रीलाई प्रवाहित गरिँदैन । अनलाइन संस्करणमा पोस्टर बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । पृष्ठपोषणका आधारमा प्रचार सामग्रीको छनोट गर्छन् । जसले प्रतिक्रिया जनाउने व्यक्तिलाई उसको कुराको सुनुवाइ भएको अनुभूति हुन्छ र अपनत्व महसुस गर्छ । सकारात्मक पृष्ठपोषण पाएका नाराहरूलाई चयन गरिन्छ । धेरैभन्दा थोरै अनि सरल र धेरैले रुचाएका नाराहरूलाई एकसाथ उपयोग गरिन्छ । यो शैली पछिल्ला निर्वाचन अभियानमा समेत अपनाइएका छन् ।

(एजेन्सीको सहयोगमा)

सुझावित समाचार