चिनियाँ विदेशमन्त्रीको दक्षिण एसिया भ्रमणको सन्देश

बदलिँदो अन्तर्राष्ट्रिय प्रणाली र त्यसभित्र आफ्नो बढ्दो शक्तिलाई समायोजन गर्न चीन दक्षिण एसियाली नीति पुनर्निर्माण प्रक्रियामा छ

आइतबार, ४ बैशाख, २०७९
डिजिटल संस्करण

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले हालै दक्षिण एसियाली राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान, भारत र नेपालको भ्रमण गरे । तालिबानले सत्ता लिएपछि यीको अफगानिस्तान भ्रमण चिनियाँ अधिकारीको पहिलो उच्चस्तरीय भ्रमण हो । गत जनवरीमा मात्र यीले श्रीलंका र मालदिभ्सको औपचारिक भ्रमण गरेका थिए । पछिल्लो चारदेशीय भ्रमणलाई भने कतिपयले रुस–युक्रेन द्वन्द्व र यसमा चिनियाँ अडानका कारण यसको छविमा परेको प्रभावसँग जोडेर हेरेका छन् । हुन त युक्रेन संकटको मामिलामा शब्दमा केही भिन्नता भए पनि व्यवहारमा चिनियाँ र भारतीय अडान लगभग उस्तै छ । तसर्थ, यीको दक्षिण एसियाली भ्रमण रुस–युक्रेन द्वन्द्वका कारण र प्रभावभन्दा बाहिर छ । यस लेखमा वाङ यीको दक्षिण एसिया भ्रमणका केही प्रमुख कारणमाथि विश्लेषण गर्ने प्रयास गरिएको छ ।

चीनको छिमेकी कूटनीतिलाई सुदृढ गर्नु : मार्च २०१३ मा चीनका राष्ट्रपति चुनिएका सी जिनपिङको नेतृत्वमा सन् २०१३ अक्टोबर २४ र २५ मा चीनको छिमेक नीतिलाई लक्षित गर्दै एक सम्मेलन भएको थियो । पोलिटब्युरो र स्थायी समिति सदस्य, प्रमुख केन्द्रीय समितिका अंगका सदस्यहरू, विदेश मामिलासम्बन्धी प्रमुख समूहका सदस्य र वरिष्ठ कूटनीतिज्ञको सहभागिता रहेको सो सम्मेलन सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएदेखि नै छिमेक कूटनीतिसम्बन्धी पहिलो विशेष सम्मेलन हो । राष्ट्रपति भएको छोटो अवधिमै आयोजना गरिएको सम्मेलन र त्यसमा भएको उपस्थितिले राष्ट्रपति सीले आफ्नो परराष्ट्र नीतिमा छिमेकी राष्ट्रहरूलाई दिएको महत्व प्रस्ट हुन्छ ।

सी स्वयंले सम्मेलनमा चीनको शान्तिपूर्ण उदय र राष्ट्रिय पुनरुत्थानको सपना हासिल गर्न छिमेकी एसियाली राष्ट्रहरूले ठूलो भूमिका खेल्ने भएकाले चीनको कूटनीतिमा छिमेकी राष्ट्रहरूले अत्यन्तै महत्वपूर्ण र रणनीतिक स्थान ओगट्ने बताएका थिए । पूर्वी एसिया, उत्तर एसिया, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, पश्चिम एसिया र मध्य एसियासँग सिमाना जोडिएको चीन एसियाको भूरणनीतिक केन्द्रमा अवस्थित छ । त्यसैले, यति ठूलो छिमेकी भएको चीनको आन्तरिक र बाह्य नीतिमा यसको वरपरको परिवेशले व्यापक प्रभाव पार्छ । चीनका लागि छिमेकी राष्ट्रहरूको महत्व औँल्याउँदै चिनियाँ प्राध्यापक पाङ च्रोङयिङ चीनको अस्तित्व र विकासका लागि छिमेकी माहोल सबैभन्दा महत्वपूर्ण रहेको तर्क गर्छन् । पाङका अनुसार यदि चीनको एसियासँगको सम्बन्ध स्थायी रूपमा बिग्रियो भने, यो विश्व शक्ति त के एक योग्य क्षेत्रीय शक्ति पनि हुन सक्दैन । यही सेरोफेरोमा हेर्दा बेइजिङको छिमेकी नीतिमा दक्षिण एसियाले विशेष स्थान ओगटेको छ ।

विभिन्न दक्षिण एसियाली राष्ट्रमा चीनबाट भएको उच्चस्तरीय भ्रमणले चिनियाँ विदेशनीतिमा दक्षिण एसियाले पाएको महत्व प्रस्ट हुन्छ । राष्ट्रपति सी जिनपिङले भुटान र अफगानिस्तानबाहेक सबै दक्षिण एसियाली राष्ट्रको राजकीय भ्रमण गरिसकेका छन् । २८ वर्षमा श्रीलंका, ३० वर्षमा बंगलादेश र २३ वर्षमा नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति हुन् सी । राष्ट्रपति सीको माल्दिभ्सको भ्रमण ४२ वर्षअघि दुई पक्षबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता चिनियाँ राष्ट्र प्रमुखको पहिलो भ्रमण थियो । चिनियाँ विदेशमन्त्री यीले सन् २०१४ देखि २०१९ सम्म विभिन्न अवसरमा भारत चारपटक, पाकिस्तान तीनपटक, नेपाल तीनपटक, बंगलादेश दुईपटक, श्रीलंका एकपटक भ्रमण गरेका थिए । त्यस्तै केन्द्रीय विदेश मामिला आयोगका निर्देशक यांग चिएछीले विभिन्न अवसरमा भारत र श्रीलंकाको भ्रमण गरेका छन् । यस अवधिमा चिनियाँ उपराष्ट्रपतिहरूले भारत र पाकिस्तानको भ्रमण र उपप्रधानमन्त्रीहरूले बंगलादेश, नेपाल र पाकिस्तानको भ्रमण गरेका छन् । 

सीले अघि सारेका छिमेक कूटनीतिको अवधारणाको एक दशक र चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय कांग्रेस आयोजना हुनु केहीअघि कोभिड–१९ को प्रकोप मत्थर भएसँगै वाङ यीले छोटो अवधिमै ६ वटा दक्षिण एसियाली राष्ट्रको भ्रमण गर्नु महत्वपूर्ण छ । यस्तो आक्रामक कूटनीतिक सक्रियताले मुख्यतया चीनको दक्षिण एसियाली कूटनीतिलाई प्रवर्धन गर्ने र दक्षिण एसियाली देशसँगको सम्बन्ध सुदृढ गर्न र आपसी समझदारीलाई प्रगाढ गराउने अभिप्रायले प्रेरित रहेको देखिन्छ ।

बिआरआई परियोजना र दक्षिण एसिया : राष्ट्रपति सीले सन् २०१३ मा पहिलोपटक एसिया, अफ्रिका र युरोपमा चीनको व्यापार र लगानी बढाउने लक्ष्यसहित बिआरआई अवधारणाको घोषणा गरेका हुन् । सन् २०१५ को पाकिस्तान भ्रमणका क्रममा राष्ट्रपति सीले दक्षिण एसिया आफ्नो बेल्ट एन्ड रोड परियोजनाका लागि प्रमुख बिन्दु भएको उल्लेख गरेका थिए । बिआरआईअन्तर्गतका चार परियोजना दक्षिण एसियासँग जोडिएका छन्– चीन–पाकिस्तान आर्थिक करिडोर, बंगलादेश–चीन–भारत–म्यानमार आर्थिक करिडोर, बहुआयामिक ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क र २१औँ शताब्दीको सामुद्रिक सिल्क रोडअन्तर्गत बंगलादेश, श्रीलंका र माल्दिभ्ससँग चीनको सहयोग । चीन सरकारले जारी गरेको बिआरआई भिजन दस्ताबेजमा युनान चीनलाई दक्षिण र दक्षिणपूर्वी एसियासँग जोड्ने प्रमुख केन्द्र र सिनजियाङ चीनलाई मध्य, दक्षिण र पश्चिम एसियाली राष्ट्रहरूसँग जोड्ने प्रमुख केन्द्र हुने उल्लेख गरिएको छ । त्यस्तै, ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कले नेपाल हुँदै तिब्बतलाई दक्षिण एसियासँग जोड्ने उद्देश्य लिएको छ ।

वाङ यीको दक्षिण एसिया भ्रमणले बेइजिङले आफ्नो विदेश नीतिमा यस क्षेत्रलाई प्राथमिकतासाथ हेरेको र आगामी दिनमा दक्षिण एसियाली कूटनीतिमा थप सक्रिय संलग्नता देखाउने सन्देश दिएको छ ।

कोभिड–१९ को महामारी र चीनको आफ्नै शून्य कोभिड नीतिका कारण बिआरआईअन्तर्गतको एउटा पनि आयोजना अघि बढ्न नसकेको अवस्थामा विदेशमन्त्री वाङ यीको भ्रमण बेल्ट एन्ड रोड परियोजनाको गतिलाई निरन्तरता दिन पनि केन्द्रित रहेको छ । वाङ यीको पाकिस्तान भ्रमणका क्रममा दुई देशले चीन पाकिस्तान आर्थिक करिडोरको गतिलाई अघि बढाउने र अफगानिस्तानलाई पनि यस आर्थिक करिडोरमा समावेश गर्ने जनाएका छन् । त्यस्तै, नेपाल भ्रमणका क्रममा दुई राष्ट्रबीच अन्य सम्झौतासँगै चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनाको सम्भाव्यता अध्ययन र नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सनको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ । यीको नेपाल भ्रमणका क्रममा कहीँ बिआरआई परियोजनाको उल्लेख नभए पनि उल्लिखित दुई सम्झौता बहुआयामिक ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्कका हिस्सा हुन् । यीको नेपाल भ्रमणको केही दिनपछि नै वरिष्ठ चिनियाँ नेता ली चान्सुले सभामुख अग्नि सापकोटासँग कुराकानी गरेका थिए । नेसनल पिपल्स कांग्रेसको स्थायी समिति अध्यक्ष तथा चीनको निर्णय गर्ने सर्वोच्च निकाय चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समितिको तेस्रो वरीयताका नेता ली चान्सुले नेपालका सभामुखसँग भएको कुराकानीमा चीन र नेपाललाई बेल्ट एन्ड रोड परियोजनामा संयुक्त रूपमा काम गर्न र ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कको स्थिर प्रवर्धन गर्न आह्वान गरे ।

मित्रतासँगै सीमारेखा : अफगानिस्तान लामो समयदेखि सिनजियाङको उइगुर पृथक्तावादीका लागि सुरक्षित आश्रयस्थान रहँदै आएको छ । अफगानिस्तानमा तालिबान सत्तामा पुनः आउनुअघि नै चीनले तालिबान नेताहरूसँग लगातार वार्ता र संवाद गर्दै आएको छ, जहाँ सिनजियाङ मुद्दा महत्वपूर्ण विषय बनेको छ । यीको हालैको अफगानिस्तान भ्रमणका क्रममा पनि चीनले तालिबान शासकबाट अफगानिस्तानको भूमि कुनै पनि प्रकारको चीनविरोधी गतिविधिका लागि प्रयोग हुन नदिने सुनिश्चितता खोजेको छ । काबुलमा तालिबान अधिकारीसँग वाङको भेटघाट र अफगानिस्तानबारे छलफल गर्न चीनले बहुराष्ट्रिय बैठक आयोजना गर्नु बेइजिङले तालिबानी शासनसँग संलग्नता प्रवर्धन गर्न इच्छुक रहेको स्पष्ट संकेत हो । नेपाल भ्रमणको क्रममा यीले नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा जोड दिएका छन् । विगत केही समयदेखि नेपालमा देखिएको बाह्य शक्तिको सक्रियतालाई चीनले ध्यानपूर्वक हेरिरहेको छ ।

यीको चारदेशीय भ्रमणमध्ये सबैको ध्यान भने भारतको अघोषित भ्रमणले तानेको थियो । जुन २०२० मा दुई देशबीच विवादित सीमामा भएको झडपपछि दुई पक्षबीचको यो पहिलो उच्चस्तरीय भ्रमण हो । पाकिस्तानमा आयोजित इस्लामिक सहयोग संगठनको सम्मेलनमा विशेष अतिथिका रूपमा सहभागी यीले कस्मिरको मुद्दामा इस्लामिक सहयोग संगठनको विचारसँग ऐक्यबद्धता जनाएपछि भारतमा त्यसको चर्को आलोचना भएको थियो । कस्मिरको मुद्दामा १९९० को दशकदेखि तटस्थ रहँदै आएको चीन, मोदी सरकारले जम्मु कस्मिरसम्बन्धी भारतीय संविधानको धारा ३७० खारेज गरेपछि कस्मिर मुद्दामा सशंकित रहँदै आएको देखिन्छ । वाङ यीको वक्तव्यले कस्मिर मुद्दामा भारत सरकारमा हुन सक्ने विस्तारवादी मनसायमा सीमारेखा कोर्ने काम अवश्य गरेको छ । अर्कातर्फ यस्तो आलोचनाका बाबजुद पनि यीले भारतको भ्रमण गर्नु अर्थपूर्ण छ ।

भारतीय विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको भेटमा वाङ यीले द्विपक्षीय सम्बन्धको स्थिर र दिगो विकासलाई प्रवर्धन गर्नुपर्ने आवश्यकता औंल्याउँदै दुई देशबीच वर्षौंदेखिको सीमा विवादलाई व्यावहारिक रूपमा व्यवस्थापन र समाधान गर्नुपर्ने र यसले द्विपक्षीय सम्बन्धको समग्र विकासमा बाधा पु¥याउन नहुनेमा जोड दिए । यस्तो कूटनीतिक अभ्यासले चीनले भारतसँगको सम्बन्धमा अन्तत्र्रिmया र अन्तरनिर्भरता बढाएर स्थिर र शान्तिपूर्ण क्षेत्रीय वातावरण सुनिश्चित गर्न आश्वासन र सहयोगात्मक संलग्नताको धारणालाई उच्च प्राथमिकता दिएको देखिन्छ ।

वर्तमान बदलिँदो अन्तर्राष्ट्रिय प्रणाली र त्यसभित्रको आफ्नो बढ्दो शक्तिलाई सही ढंगले समायोजन गर्न चीन दक्षिण एसियाली नीति पुनर्निर्माणको प्रक्रियामा छ । तसर्थ वाङ यीको दक्षिण एसिया भ्रमणले बेइजिङले आफ्नो विदेश नीतिमा यस क्षेत्रलाई प्राथमिकतासाथ हेरेको र आगामी दिनमा चीनले दक्षिण एसियाली कूटनीतिमा थप सक्रिय संलग्नता देखाउने सन्देश दिएको छ ।

सुझावित समाचार