सर्वोच्च अदालतले नेपाल प्रहरीका तीनजना डिआइजीको बढुवाविरुद्धको रिट हेर्न नमिल्नेमा राखेको छ। डिआइजी ईश्वरबाबु कार्कीले गत १७ चैतमा दर्ता गराएको रिट हेर्न नमिल्नेमा परेको सर्वोच्चले जनाएको छ। रिटमाथि आइतबारका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ तोकिएको थियो।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा हुनेमा धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुक रहेका छन्। सोही विषयलाई लिएर डिआइजी कार्कीले सर्वोच्चमा रिट हालेका थिए। यसअघि बढुवाविरुद्धमा लोकसेवा आयोगमा समेत उजुरी परेको थियो। आयोगले एआइजी बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको थियो।