बेलायतले युक्रेनलाई दुई मिलियन पाउन्डबराबरको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले जनाएको छ। बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूलाई अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने तयारी गरेको विदेशमन्त्री ट्रसले जनाएका छन्।
मन्त्रालयका अनुसार हाल युक्रेनमा १२ मिलियनभन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ। यसको वास्तविक संख्या अझ बढी हुन सक्ने बताइएको छ।
'पोल्यान्ड र स्लोभाकियाका गोदामहरू अर्को हप्ताको सुररुदेखि युक्रेन सरकारलाई यी सामान आपूर्ति गर्न तयार छन् । त्यसपछि लगभग २५ ट्रक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ,' शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।
गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रहरूले युक्रेनी 'उत्तेजना'विरुद्ध आफूलाई बचाउन मद्दतका लागि अपिल गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेको हो। रुसको कारबाहीको जवाफमा पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन्। रासस/एएनआई