‘गरिब मुलुकमा खाद्यवस्तुको मूल्य थप वृद्धि हुने’

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण

विश्व व्यापार संगठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेन संकटका कारण खाद्यपदार्थको मूल्यवृद्धि भएको उल्लेख गरेकी छिन्। उनका अनुसार खाद्यपदार्थको मूल्यवृद्धि भएपछि खाद्यसंकट पनि बढ्ने खतरा देखिएको छ।

खाद्यपदार्थमा भएको मूल्यवृद्धि र खाद्यसंकटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने उनले बताइन्। ‘यसबारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ। यसको असर विशेष गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,’ उनले भनिन्।

खाद्यपदार्थको मूल्यवृद्धि र खाद्यसंकटका कारण ठूलो मानवीय क्षतिसमेत हुन सक्नेमा पनि उनले चिन्ता व्यक्त गरेकी छिन्। विश्वका धेरै देशमा खाद्यसंकटसँगै ऊर्जासंकट पनि मुख्य समस्याका रूपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उनको भनाइ छ। ऊर्जासंकटका रूपमा उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावलाई समेत संकेत गरेकी छिन्।

गार्जियनसँगको अन्तर्वार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै संकटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यसतर्फ विश्वको ध्यान जानुपर्नेमा जोड दिइन्। रासस/एएनआई

सुझावित समाचार