ललितपुरको कुपण्डोलस्थित प्रहरी चौकीको पारिपट्टि एउटा भवन छ। उक्त भवनको दोस्रो तलामा छ– ललितपुर महानगरपालिका– १० को वडा कार्यालय। वडाले त्यहाँ तीनवटा कोठा भाडामा लिएको छ।
त्यही कोठाबाट सञ्चालन भइरहेको छ वडाको कामकाज। वरिपरि घना बस्ती भए पनि यो वडामा त्यति भिडभाड देखिँदैन। छिटोछरितो सेवा प्रवाहले कार्यालयमा भिडभाड कमै मात्र हुने गर्छ। त्यही साँघुरो ठाउँमा छिटोछरितो सेवा दिने वडाको नेतृत्व गरिरहेका छन्– ८२ वर्षीय वडाध्यक्ष नरसिंह व्यञ्जनकार।
उनीसँग अहिले एकजना वडासचिव र अन्य चारजना कर्मचारी छन्। यसबाहेक स्वास्थ्य महिला स्वयंसेविका पनि छन्। उनले एउटै वडामा बसेर काम गर्न थालेको १० कार्यकाल भयो। तपाईं वडाध्यक्षमा मात्रै किन बसिरहनुभएको छ भनेर हामीले सोध्दा उनी भन्छन्, ‘म राजनीति गर्दिनँ र मेरो बुझाइमा वडाध्यक्षको जिम्मेवारी भनेको समाजसेवा हो।’
व्यञ्जनकार कुनै राजनीतिक पृष्ठभूमिबाट उदाएका होइनन्, न त औपचारिक शिक्षा नै लिएका छन्। वडामा उनले गरेको नेतृत्व भने निकै परिपक्व छ। उनको १०औँ कार्यकाल सकिन करिब डेढ महिना मात्रै बाँकी छ।
वैशाख ३० गते स्थानीय तहको नयाँ नेतृत्वका लागि पुनः चुनाव हुँदै छ। एउटै वडामा लामो समय वडाध्यक्ष भएर काम गरेका व्यञ्जनकारलाई अझै पनि वडाध्यक्षको पद अरूलाई हस्तान्तरण गर्न मन छैन। यसपटक पनि उनले स्वतन्त्र उम्मेदवार भएर चुनावमा उठ्ने योजना बनाइसकेका छन्।
लामो समय आफूले काम गरेको ठाउँमा अर्काको हात परेपछि वडा बिग्रने र आफूले हात हालेका विकास निर्माणका कामले गति नलिने डरमा उमेरले बुढ्यौली लागे पनि यसपटक उनले पुन: वडामा आउने योजना बनाएका हुन्।
‘अरू कसैलाई वडाध्यक्षमा उठ्नुस् भनेको छु, तर एकमनले मैले सुरु गरेका काममा अरू कसैले बिगार्ला भन्ने डर पनि लागिरहेको छ,’ उनले भने, ‘मलाई पुनः एकपटक वडामा दोहोरिन मन लागेको छ।’
व्यञ्जनकारले ०२९ देखि ०४२ सालसम्म वडालाई झोलामा चलाए। त्यतिवेला वडामा कर्मचारी हुँदैनथे। झोलामा एउटा छाप बोकेर हिँड्थे। वडावासी जहाँ छन् त्यहीँ पुगेर छाप लगाइदिन्थे, आवश्यक लिखित कागजात तथा सिफारिस बनाइदिन्थे।
‘पहिले वडाध्यक्षलाई जनताले राम्रो मान्थे। मानसम्मान पनि टक्य्राउँथे। तर, अचेल वडाध्यक्षलाई गन्दैनन्,’ उनी स्मरण गर्छन्, ‘अहिलेका वडाध्यक्षको प्रवृत्तिका कारण जनताले गन्न छाडेका हुन्, त्यसैले वडाध्यक्षले राजनीति गर्ने होइन, सेवा गर्ने हो।’
आफूले सेवा गर्ने मनसायले वडाको काम गरेकोले दशपटकसम्म पनि चुनावमा जितेको उनको भनाइ छ। सबैलाई मिलाएर लैजान सक्ने र वडावासीको मन नदुख्ने काम गरेपछि चुनाव जित्न सकिने उनको अनुभव छ ।
‘मैले चुनाव जित्नका लागि पैसा खर्च गरेको छैन, कसैसँग पैसा पनि मागेकाे छैन, म कुनै पार्टीको झन्डा बोकेर चुनावमा उठेको पनि छैन, स्वतन्त्र व्यक्तिका रूपमा चुनावमा उठेँ,’ उनले भने, ‘स्थानीयवासीले मलाई भोट दिएर जिताइरहनुभयो।’
तर, लामो समय एउटै वडामा चुनाव जितेका व्यञ्जनकारले वडाको कार्यालय भने बनाउन सकेका छैनन्। साँघुरो ठाउँमा बसेर उनले सेवा दिइरहेका छन्। सानो ठाउँमा बसेर सेवा दिन अचेल निकै कठिन भइरहेको पनि उनको भनाइ छ।
उनका अनुसार पहिले पातलो बस्ती र थोरै सेवाग्राही हुँदा सानो ठाउँमा सेवा दिन सकिन्थ्यो। तर, अहिले जनसंख्या बढेको र भिडभाड पनि बढेकाले वडा कार्यालय अलि व्यवस्थित चाहिने उनको बुझाइ छ। ‘कुपन्डोलमै वडा कार्यालय भवन बनाउने योजना वडा समितिबाट पास गराइसकेको छु,’ उनले सुनाए, ‘जग्गाको निर्णय भइसकेकाले हालकै कार्यकालमा शिलान्यास गर्ने योजना छ।’
कहिल्यै चुनाव नहारेका व्यञ्जनकार
निरन्तर जनप्रतिनिधि चुनिइरहनु जोकसैका लागि पनि सजिलो कुरा होइन। तर, व्यञ्जनकारले भने चुनावमा कहिल्यै हारेनन्। एउटै पदमा दशपटकसम्म दोहोरिरहे। २०२९ सालदेखि उनले अनवरत जितिरहेका मात्रै छन्।
यो वडाध्यक्षको यात्राबाट अझै उनी अलग हुने सोच बनाएका छैनन्। अनवरत यात्रा अझै जारी राख्ने उनको भनाइ छ। चुनावमा उनी सधैँ स्वतन्त्र उम्मेदवार भएर उठे। कहिले निर्विरोध जिते त कहिले भारी मतान्तरसहित जित हात पारे।
‘म चुनावमा त्यस्तो खर्च गर्दिनँ, र मसँग त्यस्तो जादु पनि छैन, प्रचारप्रसारमा पनि जान्नँ, तर मलाई भोट दिनेले राम्ररी चिन्नुभएको छ, र उहाँहरूलाई मैले पनि राम्ररी चिनेको छु,’ उनले भने।
गएको चुनावमा व्यञ्जनकारले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मलाल व्यञ्जनकार ९७ भोटले हराएका थिए। स्वतन्त्र रूपमा चुनाव लड्दा पनि जितेका उनलाई विभिन्न पार्टीले टिकट दिए पनि लिन मानेनन्। यसपटक पनि टिकट दिने बताए पनि उनी स्वतन्त्र रूपमा उठ्ने तयारी गरेका छन्।
उनले ०२९ मा तत्कालीन ललितपुर नगरपालिका– १ बाट पहिलोपटक वडाध्यक्षमा जितेका थिए। त्यसपछि उनले समाजसेवाको रूपमा वडाध्यक्ष पदलाई प्रयोग गरे। निरन्तर काम गर्दै जाँदा जनताको मन जित्न सफल भए। त्यसपछि ०३४ मा पनि वडामा उनी नै छनोट भए।
त्यतिवेला गाउँफर्क अभियान सुरु भएको थियो। ०३९ मा उनी तेस्रोपटक वडाध्यक्ष भए। त्यतिवेला उनी निर्विरोध चुनिएका थिए। तर, चुनाव जितेको एक वर्षपछि ०४० असोजमा तत्कालीन प्रधानपञ्चसँग विवाद भयो।
उक्त विवाद ललितपुर नगरपालिकाको भवन बनाउने विषयमा थियो। त्यस्तै, ०४३ मा भएको चुनावमा उनी पुनः वडाध्यक्षमा निर्विरोध छानिए। ०४९ सालमा उनलाई पार्टीको क्रियाशील सदस्य लिन आग्रह गर्दै नेपाली कांग्रेसले टिकट दिने आवश्वासन दियो। तर, चुनाव नजिकिँदै जाँदा टिकट दिएन। त्यसपछि व्यञ्जनकार स्वतन्त्र रूपमा उठ्ने घोषणा गरे। त्यसपछि उनी निर्विरोध निर्वाचित भए।
शाही शासनकालमा भएको चुनावमा पनि उनी निविरोध चुनिएका थिए। ‘त्यतिवेला मलाई नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिन भन्दै धेरैले दबाब दिए, मेरो आफन्तले मेरो क्रियाशील सदस्यता पनि बनाइदिएका रहेछन्, तर चुनावमा मलाई झुटो वचन दिएपछि मैले क्रियाशील सदस्यता त्यतिवेलै त्याग गरेँ,’ व्यञ्जनकारले भने, ‘आफूले राम्रो काम गरेपछि पार्टीकै पछि लागेर वा पैसा खन्याएर चुनाव जितिने मात्रै होइन।’
सिसिटिभीबाट नियाल्छन् कुपन्डाेल क्षेत्र
वडाध्यक्ष नरसिंहले साँघुरो कार्यालयबाट पुल्चोकदेखि थापाथलीसम्मको दुश्यलाई नियाल्छन्। त्यसका लागि उनको कोठामा २५ ठाउँमा जोडिएको सिसिटिभी जडान छ। उनी त्यही सिसिटिभी हेरेर वडा आसपासमा के भइरहेको छ, थाहा पाउँछन्।
‘अर्को कार्यकालमा कुपन्डाेलको मुहार फेर्छु’
यो कार्यकालमा सोचेअनुरूप काम गर्न नसकेको उनी स्विकार्छन्। काम गर्ने खास समय कोरोना संक्रमणले बिथोलेको उनको भनाइ छ। ‘मैले कुपन्डाेल क्षेत्रमा लामो समय वडाध्यक्ष भएर काम गरेँ, तर यहाँको क्षेत्र र भूमिलाई मैले व्यवस्थित पार्न सकेको छैन,’ उनले भने, ‘अब आउँदो कार्यकालयमा मैले कुपन्डाेलको मुहार फेर्छु।’
फुर्तिला र हट्टाकट्टा व्यञ्जनकार
उमेर ८२ वर्ष पुगे पनि व्यञ्जनकार फुर्तिला र हट्टाकट्टा छन्। उनलाई खासै स्वास्थ्य समस्या छैन। स्वास्थ्य अवस्था ठीक भएकाले पनि आफू सक्रिय भएर वडामा काम गर्न सकिरहेको व्यञ्जनकारको भनाइ छ। उनी बिहान ४ बजे उठ्छन्। नियमित कर्म र पूजापाठ गर्छन्। त्यसपछि वडावासीकहाँ पुग्छन्। कहिले पाटन क्षेत्रमा हुने दाफा भजनमा पनि सरिक हुन पुग्छन्।