भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले राजनीतिक रूपमा महत्वपूर्ण उत्तर प्रदेश राज्यको विधानसभा निर्वाचनमा अप्रत्यासित ढंगले विजय हासिल गरेको छ । पार्टी र उम्मेदवारविरुद्ध जनता ठूलो स्तरमा क्रुद्ध छन् भनेर विश्लेषण गर्नेहरू भाजपाको जितबाट तीनछक भएका छन् । यद्यपि भाजपाले पहिलेभन्दा कम मत पाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतको चौथो ठूलो राज्य उत्तर प्रदेशसँग प्रतीकात्मक सम्बन्ध छ, जहाँ उनलाई हिन्दुत्व परियोजना लागू गर्न ठाउँ निर्माण भएको छ । हिन्दुत्व परियोजनामा संविधानतः भारतलाई हिन्दू राज्य बनाउने योजना जोडिएको छ, जसमा हिन्दूलाई अन्य नागरिकलाई भन्दा बढी अधिकार हुनेछ र धार्मिक अल्पसंख्यकका अधिकार एवं स्वायत्तता घटाइनेछ ।
लोकसभाको कुल पाँच सय ४३ सिटमा ८० भन्दा बढी सिट एक्लै ओगट्ने यो राज्यमा हिन्दू उग्रवादीले मध्ययुगीन इतिहास बोकेको बाबरी मस्जिद भत्काएपछि त्यहाँ एक हिन्दू मन्दिर स्थापना गर्न गत तीन दशकदेखि आन्दोलन छेडिएको थियो । स्मरण रहोस्, मस्जिदको अवैधानिक विध्वंसले भड्किएको हिन्दू– मुसलमान द्वन्द्वले भाजपालाई राष्ट्रियस्तरमा उदाउन मद्दत गर्यो । उत्तर प्रदेश र तीन साना राज्यमा भाजपाको विजयले मोदीको हिन्दुत्व परियोजना रोक्ने प्रयासमाथि गम्भीर असर गरेको छ । भाजपा नेताका चुनावी र्याली (केही र्यालीमा प्रधानमन्त्री मोदीसमेत सरिक थिए) विपक्षी नेताका भन्दा साना थिए । मोदीका आलोचकलाई ठूलो संख्यामा बेरोजगारीविरुद्ध युवा आन्दोलनले उत्तर प्रदेशको राजनीतिमा भाजपाको अन्त्य हुनेमा विश्वास थियो । यसबाहेक राज्यका मुख्यमन्त्री आदित्यनाथ सरकारको कोभिड व्यवस्थापनमा अस्तव्यस्त अर्थात् कोभिडबाट मरेकाको लास गंगामा तैरिरहेको, नदी किनारा बालुवामा बेवारिसे छाडिएको अवस्थाले चुनावमा अप्ठ्यारो पार्ने ठानिएको थियो ।
उत्तर प्रदेशको पश्चिमी इलाकामा किसान आन्दोलनको शक्तिशाली पकड थियो, जसले मोदीलाई तीन थान कृषि कानुन फिर्ता गर्न बाध्य तुल्याएको थियो । केही मुद्दामा भाजपाको प्रदर्शन नराम्रो भए पनि मोदीले व्यक्तिगत रूपमा मतदाताको हितमा लगानी गरेको छु भन्ने पारेर मतदातालाई विश्वस्त गराएका हुन सक्छन् । कोभिड खोप कार्यक्रमले मोदीलाई व्यक्तिगत रूपमा श्रेय दियो । उनको जन्मदिनमा कीर्तिमानी खोप अभियान सञ्चालन गरिएको थियो । आममानिसले खोपका लागि मोदीप्रति कृतज्ञता जनाएको देखाउन होर्डिङ बोर्ड राखिए । कोभिड प्रमाणपत्रमा मोदीको फोटो राखियो । महामारीका वेला नुन, खाना पकाउने तेल, चनालगायत रासनका प्याकेटमा मोदी र योगीको तस्बिर छापिएका थिए । यी प्याकेटलाई आपत्कालीन राहतका रूपमा वितरण गरिएको थियो । पार्टीको लोगोसहितको खाममा केही नगद रकम उत्तर प्रदेशका विपन्न जनतालाई बाँडियो ।
सरकारी तथ्यांकअनुसार उत्तर प्रदेश अत्यधिक हिंसा हुने राज्य हो, तर योगीको कानुन र व्यवस्थामा राम्रो प्रदर्शन छ भन्ने भान पारिएको छ । यसलाई मुसलमानलाई आपराधिकतासँग जोड्ने हिन्दुत्व रणनीति सफल भएको मान्नुपर्छ । यो रणनीतिमा अन्तरधार्मिक विवाह, भूमि विवाद र धर्म विशेषको पहिरनलाई वर्णन गर्दा ‘जिहाद’ शब्द प्रयोग गरेर हिन्दूलाई खतरामा रहेको पार्नु पनि रहेको छ । धेरै मुसलमानका घर भत्काउन बुलडोजर प्रयोग गरियो र चुनावी र्यालीमा थप बुलडोजर चलाउने वाचासमेत गरियो । मुसलमान मुख्य विपक्षी समाजवादी पार्टीका प्रमुख समर्थक थिए भन्ने तथ्यले भाजपालाई समाजवादी पार्टीलाई अपराधसँग जोड्ने आधार बन्यो । यति मात्रै नभई चुनाव आयोगको नाकैमुनि धेरै भाजपा उम्मेदवारले खुलेआम इस्लामद्वेषी भाषण दिएका थिए ।
उत्तर प्रदेशको चुनावले लामो समयदेखि प्रतीक्षा गरिएको कांग्रेस पार्टीको पुनरुत्थान अझै हुन नसकेको देखाउँछ । तैपनि पार्टी नेतृ प्रियंका गान्धीले सबै सम्भव तरिकाले उत्साहजनक अभियान चलाएकी थिइन् । उनले आयोजना गरेका जुलुसले ठूलो भिडलाई आकर्षित गर्यो । उनले स्पष्ट ढंगले सबै जात एवं वर्गका महिलालाई चुनावमा आकर्षित गर्ने प्रयास पनि गरेकी थिइन् । महिलालाई ४० प्रतिशत चुनावी टिकटसमेत बाँडियो । तर, पार्टीको भुइँतहमा संगठनको अभाव चुनावी परिणाममा झल्किन पुग्यो ।
कृषि कानुनविरोधी आन्दोलनमा लागेका केही क्षेत्रमा भाजपाविरोधी शक्तिले चुनाव जिते पनि भाजपाले लखिमपुर खेरीका ६ वटै सिट जित्यो । स्मरण रहोस्, लखिमपुर खेरीमा मोदी सरकारका गृह राज्यमन्त्रीका छोराले चलाएको गाडीले कुल्चेर तीन आन्दोलनकारी किसानको मृत्यु भएको थियो । केही अपवादबाहेक किसान आन्दोलनको ऊर्जाले भाजपालाई पराजित गर्न सघाएन । भाजपाले चुनावी रणनीतिमा सामाजिक सञ्जाल र अन्य मिडियाको पनि राम्रै प्रयोग गरेको थियो । यसबाहेक भाजपासम्बद्धहरूले कर्णाटक राज्यमा हिजाब पहिरिएका मुसलमान बालिकालाई स्कुल र कलेजमा प्रवेश निषेध गराएर विवाद सिर्जना गरेका थिए । यी घटनालाई भारतका उन्मादी टेलिभिजन च्यानलले लगातार प्रसारण गरिरहे । चुनावका दौरान मोदीको छवि निर्माणमा कुनै कसर बाँकी राखिएन । युक्रेन द्वन्द्वका वेला केही भारतीय मिडियामा पुटिन, जेलेन्स्की र बाइडेन द्वन्द्व समाधानका निम्ति मोदीलाई पर्खिरहेका थिए भन्ने धारणासमेत सिर्जना गरियो । मोदीले भारतीय विद्यार्थीलाई उद्धार गर्न पुटिनलाई ६ घन्टा युद्धविराम गर्न लगाए भन्ने झुटसमेत टेलिभिजनमार्फत फैलाइयो । उत्तर प्रदेशमा भाजपाको जितले लोकप्रिय अधिनायकवाद गहिरो गरी गढेको छ भन्ने देखाउँछ । यसले मोदीलाई आफ्नो हिन्दुत्वको परियोजना लागू गर्न संविधानमा छेडखानीको बाटो खोलिदिएको छ ।
द कन्भर्सेसन