एमालेका उम्मेदवारको सिफारिस र निर्णय गर्ने विधि तय, मापदण्ड केन्द्रीय कमिटीले तोक्ने (भिडियोसहित)

मंगलबार, १ चैत, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवारको सिफारिस र निर्णय गर्ने विधि तय गरेको छ । मंगलबार साँझ बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहका उम्मेदवारको विधि तय गरेको हो । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदै छ । 

वडाध्यक्ष र वडासदस्यको निर्णय जिल्ला कमिटीले गर्ने सचिवालय बैठकपछि एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको निर्णय जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्नेछ । यस्तै, महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको निर्णय जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने गुरुङले जानकारी दिए । 

उम्मेदवारको सिफारिस र निर्णयबारे पुरानै विधिलाई नै पारित गरेको उनले बताए । उम्मेदवारको मापदण्ड भने केन्द्रीय कमिटी बैठकले तोक्ने गुरुङले जानकारी दिए । 

उनका अनुसार आगामी ७ चैतमा पोलिटब्युरो तथा ९ र १० चैतमा केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय सचिवालय बैठकले गरेको छ । बैठकमा जिल्लाको शक्ति सन्तुलनको स्थिति, निर्वाचनको तयारी र कार्यक्रमबारे रिपोर्टिङ हुने उनले बताए । बैठकमा महासचिव शंकर पोखरेलले केन्द्रीय कार्यालय, सचिवालय, विभाग र अन्य निकायको बारेमा रिपोर्टिङ गर्ने गुरुङले जानकारी दिए । 

यस्तै, अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए । ‘१०औँ महाधिवेशनयता मुलुकको राजनीतिक परिस्थिति धेरै परिवर्तन भइसकेको छ । एमालेको अवरोध हुँदाहुँदै एमसिसी पारित भएको छ । सरकारको अकर्मण्यता जारी छ । अर्थतन्त्र लथालिंग बन्दै छ । यस्तो परिस्थितिमा एमालेको दृष्टिकोणको बारेमा केन्द्रीय कमिटीबाट निर्णय गर्नुपर्ने भएकाले अध्यक्ष कमरेडले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुन्छ,’ गुरुङले भने। 

सचिवालय बैठकले निर्वाचन विभाग पनि गठन गरेको छ । यस्तै, १३ चैतमा स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ। 

सुझावित समाचार