रुस र युक्रेनबीचको युद्ध चर्किएका वेला अर्को चरणको शान्तिवार्ता सोमबार हुने भएको छ। यसअघि पनि युक्रेन र बेलारुसबीचको सीमामा दुई देशबीच वार्ता भएको थियो। यसपटकको वार्ता भने कहाँ बस्ने भन्नेबारे केही खुलाइएको छैन।
रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरूले जनाएका छन्। तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिएका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा अर्को (तेस्रो चरणको) वार्ता सोमबार हुनेबारे जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
युक्रेनका अधिकारीहरूले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन्। दुई दिनअघि दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी दुवै पक्षले आ–आफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी तेस्रो चरणको वार्ता गर्ने बताएका थिए।
रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोहीबमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए। रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने भएका शुक्रबार बताइएको थियो।
उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको बताइएको छ। युक्रेनी राजधानी किभमा खतराको जनाउ दिने साइरनहरू अहिले पनि बजेका उल्लेख गरिएको छ। त्यस्तै युक्रेनको उत्तरी सहर चर्निभमा पनि गोलाबारी भइरहेको छ।
पछिल्लो एक हप्ताभन्दा लामो समयदेखि रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ। ती स्थानहरूमा युक्रेनी फौजको प्रतिवाद जारी छ। जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको छ। यसैले पनि रुस वार्ताका लागि तयार भएको बताइएको छ। रासस/सिन्ह्वा