अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि भैरहवाका तारे होटेलमा २० अर्ब लगानी

शनिबार, ७ फागुन, २०७८
डिजिटल संस्करण
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि भैरहवाका तारे होटेलमा २० अर्ब लगानी

भैरहवा–लुम्बिनी सडकखण्डको मजदियामा सञ्चालित पाँचतारे होटेल ‘पवन प्यालेस’

एयरपोर्ट सम्पन्न भएपछि लुम्बिनीमा बौद्धमार्गी पर्यटकको घुइँचो हुने आशामा होटेलमा लगानी गरेका लगानीकर्ता निर्माण सकिन ढिलाइ भएपछि निराश छन्, अझ पूर्ण रूपमा विमानस्थल सञ्चालन हुने विषय अन्योलमै छ

भैरहवाका व्यवसायी पवनकुमार हलुवाई एउटा सुविधासम्पन्न हस्पिटल बनाएर सञ्चालन गर्ने सोचमा थिए । हस्पिटल खोल्ने तयारी गरिरहेकै वेला ०७१ माघमा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्दै होटेलमा लगानी गर्न व्यवसायीलाई आह्वान गरे । प्रधानमन्त्रीले नै ‘एयरपोर्ट समयमै बन्छ, एयरपोर्ट बनेपछि खचाखच पर्यटक आउँछन्, अब भैरहवा–लुम्बिनीमा धेरै होटेलको खाँचो छ, तपाईंहरू ढुक्कसँग लगानी गर्नुहोस्’ भनेपछि लुम्बिनीमा पर्यटक ओइरिने आशा व्यवसायीहरूले राखे । 

आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्ने निश्चित भएपछि पवनले पनि हस्पिटल बनाउने सोँच परिवर्तन गरेर सुविधासम्पन्न होटेल सञ्चालन गर्ने निष्कर्षमा पुगे । उनले लुम्बिनीको पर्सा चोकनजिकै मजदियामा करिब तीन बिघा क्षेत्रफलमा पाँचतारे होटेल ‘पवन प्यालेस’ निर्माण थाले । एक सय ४७ कोठाको पवन प्यालेस सञ्चालनमा आएको दुई वर्ष हुन थालिसक्यो । तर, समयमै निर्माण सम्पन्न गर्ने भनिएको एयरपोर्ट भने चार वर्ष ढिलो गरी बल्ल सञ्चालनको तयारी भइरहेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडान, भारतसँग जोडिएको बेलहिया–सुनौली स्थलमार्ग, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, औद्योगिक तथा कर्पोरेट क्षेत्र, बढ्दै गइरहेको मध्यम तथा उच्च–मध्यम वर्गीय परिवारका कारण रुपन्देहीमा होटेल खोल्ने लहरै चल्यो । भैरहवामा तारे होटेलसँगै स्तरीय रेस्टुरेन्टहरू पनि सञ्चालनमा आइरहेका छन् ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा बुद्धिस्ट पर्यटक ओइरिने आशामा चन्द्रप्रकाश (सिपी) श्रेष्ठले तीनतारे होटेललाई चारतारेमा स्तरोन्नति गरिसकेका छन् । यस्तै, एयरपोर्ट निर्माण सुरु भएपछि रुपन्देहीको तिलोत्तमामा लक्जरियस पाँचतारे होटेल टाइगर प्यालेस सञ्चालनमा आइसकेको छ । हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजको करिव पाँच अर्ब लगानीमा सञ्चालनमा आएको टाइगर प्यालेस मुलुककै सबैभन्दा ठूलो रिसोर्टमध्ये पर्छ । विमानस्थल निर्माण सुरु भएपछि होटेल व्यवसायीहरूको लगानीको नयाँ गन्तव्य बन्यो, लुम्बिनी–भैरहवा क्षेत्र । पर्यटक ओइरिने आशामा बुटवल हुँदै छपियासम्म होटेल सञ्चालन गर्ने लहर चल्यो । अर्जुन भुसालकोे छपियामा समुद्रको पकिल्पनासहित कृत्रिम तालमाथि लक्जरियस ‘लुम्बिनी प्यालेस रिसोर्ट’ सञ्चालनमा आइसकेको छ । २२ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा पहिलो चरणमै सवा अर्बभन्दा बढी लगानी भइसकेको छ ।

अहिले भैरहवा, लुम्बिनी र बुटवल क्षेत्रमा तारे होटेलमा लगानी बढिरहेको छ । दुईवटा पाँचतारे होटेल सञ्चालनमा आइसकेका छन् । अझै केही पाँचतारे होटेल निर्माणकै चरणमा छन् । कतिपय सञ्चालनमा रहेका होटेलहरूले स्तरोन्नति गरिरहेका छन् । एयरपोर्ट देखेरै दर्जनभन्दा बढी तारे होटेल सञ्चालनमा आइसकेका छन् भने त्यति नै होटेल निर्माण तथा सञ्चालनको तयारीमा रहेको सिद्धार्थ होटेल एसोसिएसनका उपाध्यक्ष विष्णु गौतम बताउँछन् । भैरहवा विमानस्थल सञ्चालनमा आएपछि पर्यटक बढ्ने विश्वास पर्यटन व्यवसायीको छ ।

अन्तर्राष्ट्रिय हवाई उडान, भारतसँग जोडिएको बेलहिया–सुनौली स्थलमार्ग, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, औद्योगिक तथा कर्पोरेट क्षेत्र, बढ्दै गइरहेको मध्यम तथा उच्च–मध्यम वर्गीय परिवारका कारण रुपन्देहीमा होटेल खोल्ने लहरै चल्यो । भैरहवामा तारे होटेलसँगै स्तरीय रेस्टुरेन्टहरू पनि सञ्चालनमा आइरहेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेको नेतृत्वमा भैरहवामा निर्माण भइरहेको ‘गौतम बुद्ध एयरपोर्ट होटेल’ सञ्चालनको अन्तिम तयारीमा छ । चारजनाको ५० करोड लगानीमा निर्माण भएको तीनतारे स्तरको होटेलमा ५० कोठा रहेका छन् । युरोपमा करिब तीन दर्जन होटेल सञ्चालन गरिरहेका लामिछानेको नेपालमा यो दोस्रो होटेल हो ।   

०७१ देखि ०७८ सम्म आइपुग्दा सात वर्षको अवधिमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि सात किलोमिटर दूरीमा मात्रै तारे होटेलहरूमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको उपाध्यक्ष गौतम बताउँछन् । पछिल्लो सात वर्षमा भैरहवा क्षेत्रमा एक अर्बभन्दा बढी लगानीका सात होटेल निर्माण भए, जसमध्ये चार होटेल सञ्चालनमा आइसकेका छन् भने तीन होटेल सञ्चालनको अन्तिम तयारीमा छन् । 

पाँचतारे होटेल पवन प्यालेसमा साढे दुई अर्ब रुपैयाँ लगानी भएको छ । यस होटेलमा एक सय ४७ कोठाहरू रहेको प्यालेसका उपाध्यक्ष सुरज थापाले बताए । यस्तै, एक अर्बभन्दा बढी लगानीमा लुम्बिनी रोडमा बहुराष्ट्रिय चेन होटेल ‘होली डे इन’ सञ्चालनमा आउँदै छ । एक सय २५ कोठाहरू रहने होली डे इन सञ्चालनमा आउन अझै दुई वर्षजति लाग्ने होटेलका सञ्चालक सुरज उप्रेतीले बताए । भैरहवा–बुटवल सडक खण्डको अञ्चलपुरमा निर्माण भइरहेको पाँचतारे होटेल सिद्धार्थ सञ्चालनको अन्तिम तयारीमा छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपले साढे दुई अर्ब लगानी गरेको होटेल सिद्धार्थ तीन महिनाभित्र सञ्चालनमा आउने उनको भनाइ छ ।

भैरहवाको बुद्धचोकमा घिमिरे समूहले पाँच अर्बभन्दा बढी लगानी गरेर लक्जरियस पाँचतारे होटेल निर्माण गरिरहेको छ । एसियन फर्मास्युटिकल्स सञ्चालन गरिरहेको यो समूहले भैरहवामा एसियन इन्टरनेसनल रिजेन्सी होटेल सञ्चालनमा ल्याउन लागेको हो । यो होटेल सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने बताइएको छ । भैरहवा–नवलपरासी सडकखण्डमा सञ्चालित बोधि रेडसन होटेलको स्तरोन्नतिको काम सकिएको छ । बोधि रेडसन स्तरोन्नतिपछि क्यासिनो पनि सञ्चालनमा ल्याएको छ ।

सिपी श्रेष्ठले नेपाल–भारत नाकानजिकै बेलहियामा निर्माण थालनी गरेको पाँचतारे होटेल ‘नान्स–२’ भुसाल समूहले खरिद गरेर सञ्चालनको तयारीमा छ । भुसाल समूहले खरिद गरेसँगै ‘मेघा–२’ नामबाट सञ्चालनमा आउने यस पाँचतारे होटेलमा एक सय १७ कोठाहरू हुनेछन् । यो होटेल सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने सञ्चालक बालकृष्ण भुसालले बताए । भुसाल समूहले रुपन्देहीमा सञ्चालन गर्न लागेको यो दोस्रो होटेल हो । यो समूहले रुपन्देहीको मणिग्राममा मेघा–१, बेलहियामा मेघा–२ र बुटवलमा मेघा–३ होटेल निर्माण गरिरहेको छ । बेलहियामा निर्माण भइरहेको पाँचतारे मेघा–२ होटेलमा साढे दुई अर्ब लगानी हुने भुसालले बताए । यो होटेलमा क्यासिनो पनि सञ्चालन गर्ने लक्ष्यसहित निर्माण थालिएको हो ।

भैरहवाको बुद्धचोकमा निर्माणाधीन पाँचतारे एसियन इन्टरनेसनल रिजेन्सी होटेल

भुसाल समूहले हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले तिलोत्तमा नगरपालिकाको कोटिहवामा सञ्चालन गरिरहेको पाँचतारे रिसोर्ट टाइगर प्यालेस खरिद गर्न डिल गरिरहेको छ । अरू व्यवसायीहरूसँग मिलेर भुसाल समूहले टाइगर प्यालेस खरिद गर्न डिल गरेको हो । १५ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा पाँच अर्बभन्दा बढी लगानी भइसकेको बताइएको छ । यो काठमाडौंबाहिर निर्माण गरिएको सबैभन्दा धेरै लगानीको रिसोर्ट हो । रिसोर्टमा डिलक्स, स्विट र भिआइपी भिल्ला गरी तीन प्रकारका लक्जरियस कोठाहरू छन् । रिसोर्टका भिल्लाको झ्यालबाट सीधै स्विमिङ पुलमा जम्प गर्न मिल्ने गरी डिजाइन गरिएको छ । रिसोर्टमा इन्डियन पर्यटकलाई लक्षित गरी ठूलो क्यासिनो सञ्चालनमा छ । क्यासिनो खेल्न र बिहेबारी गर्न आउने भारतीय नागरिक र लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा ल्याइएको हो । यो होटेल पूर्ण रूपमा निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा चार सय कोठा पुग्ने बताइएको छ । तिलोत्तमा नगरपालिकाभित्र स्टार लेबलका अरु होटेलहरू पनि निर्माणको प्रक्रियामा छन् ।

अहिले बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा सञ्चालित ठूला होटेलमा टाइगर प्यालेस, पवन प्यालेस, लुम्बिनी प्यालेस रिसोर्ट, होटेल कसाई, बुद्धमाया गार्डेन, होटेल होक्के, नान्स, बोधि रेडसन, होटेल निर्वाणा, होटेल जाम्बाला, लुम्बिनी गार्डेन न्यू क्रिस्टल, होटेल यती,  ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, होटेल मौर्यलगायत हुन् । होटेल रेडसन, मौर्य, नान्स, निर्वाणा र  लाकौलले क्यासिनोसमेत सञ्चालन गरेका छन् । अहिले पुराना होटेलहरूले पनि ठूलो लगानी गरेर होटेलको स्तरोन्नति र क्षमता विस्तार गरिरहेका छन् । बुटवल बेलबासमा आरम्भ रिसोर्ट सञ्चालनमा आएको छ । यो रिसोर्टमा २० करोड रुपैयाँभन्दा बढी लगानी भएको बताइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थासम्म आइपुग्दा पुराना होटेलहरूले सेवा–सुविधालाई विस्तार गरिरहेका छन् । होटेल निर्वाणा र लाकौलले आफ्नो क्षमता र सेवा विस्तार गरेका छन् । २० वटा रुम सञ्चालन गरेको होटेल पौवाले ८० रुम थपेर एक सय पुर्‍याउँदै छ । विमानस्थल शिलान्यास भएको सात वर्षकै बीचमा विमानस्थलवरिपरि ५० भन्दा कम कोठाहरू भएका करिब ३५ नयाँ होटेलहरू थपिएको सिद्धार्थ होटेल एसोसिएसनको भनाइ छ । १० देखि ४० करोड रुपैयाँसम्म लगानी भएका यी होटेलहरू अधिकांश सञ्चालनमा आइसकेको एसोसिएसनका उपाध्यक्ष गौतमले बताए । यी होटेलमा करिब सात अर्ब लगानी भएको उनको भनाइ छ । 

अहिले होटेल व्यवसायीका लागि रुपन्देही नयाँ गन्तव्य बनेको छ । काठमाडौं, पोखरा र चितवनमा लक्जरी होटेल चलाइरहेका व्यवसायीको ध्यान पनि भैरहवा–लुम्बिनीले तानेको छ । ठूला व्यावसायिक घरानाहरू पनि लुम्बिनीमा होटेल खोल्ने तयारीमा छन् । पुराना पर्यटन व्यवसायी कर्ण शाक्यले काठमाडौं, पोखरा, सौराहा र लुम्बिनीमा स्तरीय होटेल सञ्चालन गरेका छन् । काठमाडौंको होटेल तिब्बतले लुम्बिनीमा तारे होटेल खोल्न लागेको छ । चर्चित बुटिक होटेल द्वारिकाजले पनि लुम्बिनीमा होटेल खोल्न जग्गा किनिसकेको बताइन्छ । पाँचतारे सोल्टी होटेल पनि लुम्बिनीमा होटेल खोल्ने तयारीमा छ । सोल्टीले नेपालगन्जमा पाँचतारे होटेल सञ्चालनमा ल्याइसकेको छ । अर्बपति व्यवसायी विनोद चौधरीले पनि लुम्बिनीमा होटेल खोल्ने तयारी गरिरहेका छन् । ल्यान्डमार्क ब्रान्डमा पोखरा, काठमाडौं र चितवनमा होटेल तथा रिसोर्ट चलाइरहेको सम्राट ग्रुपले भैरहवामा होटेल खोल्नका लागि जग्गा खरिद गरेर राखिसकेको छ ।

रुपन्देहीमा होटेल व्यवसाय गर्ने नयाँ तथा पुराना सबै व्यवसायीको आशा भनेकै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नै हो । यो विमानस्थल सञ्चालनमा आएपछि ठूलो संख्यामा बौद्धमार्गी पर्यटक आउने अपेक्षा गरिएको छ । तर, तत्कालै होटेल नै सस्टेन हुने गरी पर्यटक आउनेमा पवन प्यालेसका सञ्चालक पवन हलुवाई आशंका व्यक्त गर्छन् । उनी भन्छन्, ‘सरकारले आह्वान गरेअनुसार भैरहवा तथा लुम्बिनी क्षेत्रमा ठूलो संख्यामा होटेल सञ्चालनमा आइसकेका छन्, तर निर्धारित समयमा एयरपोर्ट सञ्चालनमा नआउँदा होटेलका लगानीकर्ता समस्यामा पर्‍यौँ, एयरपोर्ट सञ्चालनमा आउन लागे पनि दैनिक कति उडान हुने हुन् ? सबै उडानमा पर्यटक पक्कै आउँदैनन् होला, खाडीलगायत मुलुकमा काम गर्न जाने नेपालीहरू तारे होटेलका ग्राहक हुँदैनन्, आधा उडानमा आएका पर्यटकले यहाँका होटेल भरिनेवाला छैनन् ।’ 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि व्यवसाय सहज हुन्छ कि भन्ने आशा राखेको लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवाली बताउँछन् । ‘विमानस्थल सञ्चालनमा आउँदै छ, आशाको दियो बल्न थालेको छ, आशा गरौँ, पर्यटन व्यवसायमा केही परिवर्तन पक्कै आउनेछ,’ उनले भने । एयरपोर्ट निर्माण भइरहेको देखेरै २५–३० किलोमिटर टाढासम्म स्टार होटेल खुलिरहेको उनको भनाइ छ । अहिले कोभिडका कारण रुपन्देहीका पुराना र नयाँ सञ्चालनमा आएका सबैजसो होटेल खाली नै रहेको व्यवसायी बताउँछन् ।

गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि भैरहवामा रात्रिकालीन सेवालाई पनि प्राथमिकता दिनुपर्ने होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका अध्यक्ष पीताम्बर न्यौपाने बताउँछन् । भारतीय नाका र अन्तर्राष्ट्रिय विमानस्थल भएपछि राति १० बजेपछि होटेल–रेस्टुरेन्ट व्यवसाय बन्द गर्ने स्थानीय प्रशासनको नियम परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । ‘अर्बौँ लगानी भएको क्षेत्रको लगानी सुरक्षामा सरकार प्रतिबद्ध हुन आवश्यक रहेको उनले बताए । 

सन् १९१५ जनवरीदेखि निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१७ डिसेम्बरसम्म पूरा गर्ने लक्ष्य राखिएको थियो । तर, भूकम्प, भारतीय नाकाबन्दी, स्थानीय ठेकेदारको लापरबाही, तराईकेन्द्रित बन्द–हडताल, निर्माण सामग्रीको अभाव, कोभिड महामारीलगायत विविध कारणले चार वर्ष ढिलो गरी विमानस्थल सञ्चालनमा आउँदै छ ।

See More On

सुझावित समाचार