कोरोना भाइरसविरुद्धको खोपमा अनियमितता गरेको र झुटो अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको राजीनामा माग गरेको हो।
कोरोनाविरुद्धको खोपमा भएको अनियमितताको तथ्य सरकारले ढाकछोप गर्न लागेको आरोप एमालेले लगाएको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले अनुदान र खरिदबाट प्राप्त गरेको २४ लाख खोपको हिसाबकिताब पनि एमालेले माग गरेको छ।
‘खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सिभिल अस्पताल बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित छ।’
झुट बोल्ने व्यक्ति नैतिक रूपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भन्दै तत्काल राजीनामा गर्न विज्ञप्तिमार्फत माग गरिएको छ। केही दिनअघि एक अन्तर्वार्ताका क्रममा मन्त्री खतिवडाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका वेलामा आफूले खोप किनेर लगाएको अभिव्यक्ति दिएका थिए। त्यसलगत्तै एमालेले मन्त्री खतिवडाको उक्त भनाइको खण्डन गर्दै आइरहेको छ।

