‘गाउँ आएको बाटो’को छायांकन अन्तिम चरणमा

शुक्रबार, २८ माघ, २०७८
डिजिटल संस्करण

पूर्वी पहाडका राई समुदायको कथालाई चित्रण गरेर निर्माण भइरहेको चलचित्र ‘गाउँ आएको बाटो’को छायांकन अन्तिम चरणमा पुगेको छ। अहिले भोजपुरको बालंखामा गाउँले परिवेशमा आधारित कथावस्तुको छायांकन भइरहेको निर्माता अमोद राईले बताएका छन्। चलचित्रको छायांकन बालंखापछि संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा हुनेछ।

गाउँले परिवेशको छायांकन सकेपछि सहरी रहनसहन, जनजीवन र सहरी संस्कृतिलाई फिल्मांकन गरिने उनले बताए। निर्माता राईका अनुसार हाल चलचित्रको छायांकन ६० प्रतिशतभन्दा बढी सकिएको छ।

‘भौगाेलिक रूपमा छायांकन भैरहेको स्थान निकै विकट हो। मोटरबाटोपछि पनि दुई –तीन घण्टा पैदल हिँड्नुपर्छ। कठिनाइका बाबजुद पनि काम भइरहेको छ। ५०–६० जना टिम लिएर यस ठाउँमा छायांकन गर्नु आफैँमा चुनौती थियो,’ राईले नयाँ पत्रिकासँग भने। ‘गाउँमा मोटरबाटो भित्रिएसँगै उथलपुथलपछि आधुनिक रूपमा रूपान्तरण भएको राई समुदायको कथामा ‘गाउँ आएको बाटो’ केन्द्रित छ,’ उनले थपे।

कोरोना महामारीको अन्याेलताले निर्माण कार्यमा केही समय ढिला भए पनि दर्शकमाझ फरक शैलीमा फरक स्वाद लिएर आउने निर्माता राईले बताए। चलचित्र निर्माणका लागि नेपाल, हङकङ, मकाउ, युके, अमेरिका, बेल्जियम, दक्षिण कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनीमा रहेका राई समुदायका प्रतिनिधिबाट लगानी जुटाइएको छ।
 
कथा लेखन प्रक्रियादेखि निर्माण प्रक्रियासम्म निकै खँदिलो ढंगले अघि बढेकाले ‘गाउँ आएको बाटो’ले दर्शककाे मन जित्ने उनले बताए। चलचित्रको छायांकनलगत्तै सम्पादनको काम सुरु गर्ने राईले बताए। मौलिक चलचित्र निर्देशकको छवि बनाएका नवीन सुब्बाकाे निर्देशनमा बन्दै गरेको ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, खनुमा राई, केशव राई, प्रमिसा राई, प्रेम सुब्बा, राज थापा काउचालगायत कलाकारहरूको अभिनय छ।

सुब्बाले यसअघि फिचर चलचित्र ‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौं’ निर्देशन गरिसकेका छन्। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा अवार्डसमेत जितेको ‘गुडबाई काठमाडौं’ सार्वजनिक प्रदर्शनमा आउने तयारी छ। उनको ‘नुमाफुङ’ले पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रभाव राखिसकेको छ।
 

सुझावित समाचार