संरक्षण नपाएको पाटनको दत्तात्रय मन्दिरको कथा

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

ललितपुरको पाटन दरबार क्षेत्रमा रहेका सबैजसा मठमन्दिर पुनर्निर्माण भइसके। भूकम्पमा भत्किएको कृष्ण मन्दिर, भीमसेन मन्दिर, चार नारायण मन्दिर, भाइदेग मन्दिर, दुईवटा मल्लकालीन पार्टीलगायत संरचनाको निर्माण कार्य सकियो। तर, दरबारको पूर्वी भागमा अवस्थित मल्लकालीन दत्तात्रय मन्दिर भने अलपत्र अवस्थामा छ। यो मन्दिरको सामुन्ने रहेको भीमसेन मन्दिरको हालै पुनर्निर्माण सम्पन्न भएको छ। 

ऐतिहासिक दत्तात्रय मन्दिर भने निकै जीर्ण बनेको छ। यो मन्दिरको एक भागलाई स्थानीय व्यक्तिको घरले समेत अतिक्रमण गरेको छ। पाटनका स्थानीय राजु ताम्राकारका अनुसार मन्दिर संरक्षणबारे सरकारी निकायलाई जानकारी गराइएको छ। तर, सरकारी निकायले चासो दिएका छैनन्। ‘कुनै समय पाटन क्षेत्रमा सम्पदाको संरक्षण र स्याहार गर्ने जिम्मा पुरी समुदायलाई दिइन्थ्यो । उनीहरूको संरक्षणमा रहनुपर्ने उक्त मन्दिर सोही समुदायकै व्यक्तिले बनाएको घरको चेपुवामा परेको छ । घरधनीले मन्दिरको एकापट्टिको छानोसमेत भत्काएका छन्,’ उनले भने, ‘ती घरधनी हाल विदेशमा छन्।’ उनका अनुसार मन्दिरमा रहेको महादेवको मूर्तिलाई जस्तापाताले छोपिएको छ। मन्दिरको वरिपरि घुम्ने बाटो पनि बन्द गरिएको छ। सामुन्ने अग्लो घर ठडिएको छ। रेखदेख नहुँदा मन्दिरमा प्रयोग भएका कामासूत्रका टुँडालहरू चोरी भएका छन्। 

यसबाहेक मन्दिरभित्रका ऐतिहासिक मूर्तिसमेत चोरी भएको हुन सक्ने स्थानीयवासीको आशंका छ। उनीहरूका अनुसार यो मन्दिरको ढोका हरेक दिन खुल्छ । पुजारीले दैनिक पूजाआजा पनि गर्छन्। तर, मन्दिरको भौतिक अवस्थामा चासो नदिँदा मन्दिरको संरचना नाजुक बनेको छ। ‘मल्लकालीन समयताका मठमन्दिर संरक्षणका लागि यहाँ पुरी समुदायलाई राखिएको थियो, तर, अहिले तिनै समुदायका व्यक्तिले बनाएको घरले मन्दिरको छानो खोसेको छ,’ स्थानीय सुदर्शन महर्जनले भने, ‘यो मन्दिरको नजिकै एउटा मल्लकालीन पार्टी पनि थियो, तर त्यो पार्टी भएको ठाउँमा व्यक्तिको घर बनेको छ।’ उनका अनुसार हरेक वर्ष पुस ३ गते दत्तात्रय मन्दिरको पूजा गर्ने चलन छ। 

पाटनका स्थानीयले यही मन्दिरमा पुगेर दत्तात्रयको पूजा गर्दछन्। लोप हुने अवस्थामा पुगेको मन्दिर बचाउन आग्रह गर्दै स्थानीयले पुरातत्व विभागलाई खबर गरेका थिए। तर, विभागले उक्त क्षेत्रमा रहेको मन्दिरबारे चासोसमेत देखाएको छैन। विभागका प्रवक्ता रामबहादुर कुँवरले त्यहाँ मन्दिर छ भन्नेबारे आफूलाई जानकारीसमेत नभएको बताए । उनले भने, ‘त्यहाँ मन्दिर भएको जानकारी हामीलाई छैन, स्थानीयले मकहाँ खबर पनि गर्नुभएको छैन, यसबारेमा मैले बुझेर मात्रै भन्न सक्छु।’

सुझावित समाचार