उपत्यकामा जारी यातायातको जोर-बिजोर प्रणाली हटाउने प्रशासनको निर्णय

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा आधा महिनादेखि जारी यातायातको जोरबिजोर प्रणाली सोमबारबाट हट्ने भएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । ‘सिसिएमसीको सिफारिसअनुसार सोमबारबाट जोरबिजार हट्छ, १ फागुनबाट विद्यालय खुल्छन्,’ बैठकपछि एक प्रमुख जिल्ला अधिकारीले भने ।

उपत्यकामा जारी जोरबिजोर प्रणाली १४ माघकाे रातिबाट केही खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा जोरबिजोर कायमै थियो ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले भोलिबाट जोरबिजोर प्रणाली हटाइएको एउटै प्रकारको आदेश जारी  गरेका छन् । 
जिल्ला प्रशासन कार्यालय, भक्तपुरको आदेश यस्तो छ :-

यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले काठमाडौं उपत्यकामा निजी सवारी र ट्याक्सीमा रहेको जोर बिजोर प्रणाली सोमबारदेखि हटाउन जिल्ला प्रशासन कार्यालयहरूलाई सिफारिस गरेको थियो । आइतबार बसेको सिसिएमसी बैठकले जोरबिजोर हटाउन सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

यस्तै आगामी १ फागुनदेखि विद्यालय, सिनेमा घर र रात्रिकालीन व्यवसाय सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको नेपालले बताइन् । 

सुझावित समाचार