अमेरिकाले भारतसँगको सम्बन्ध रुस–युक्रेनको विषयलाई लिएर नभई बेग्लै द्विपक्षीय सम्बन्ध रहेको बताएको छ। युक्रेनसँग रुसको जारी तानावमाझ विश्व ध्रुवीकरण भइरहेका वेला अमेरिकाले भारतसँगको सम्बन्ध रुससँग जारी तनावबाट प्रभावित नभएको स्पष्ट पारेको हो।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘भारतसँग हाम्रो सम्बन्ध आफ्नै धरातलमा उभिएको छ। युक्रेन संकट र रुससँगको तनावको असर भारतसँगको सम्बन्धमा पर्दैन।’ भारतले रुस र युक्रेनको तनाव शान्तिपूर्ण संवादबाट समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ।
संयुक्त राष्ट्र सुरक्षा परिषदमा युक्रेनसम्बन्धी भारतको अडानसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिन भने प्राइसले अस्वीकार गरे। ‘म यो विशेष मुद्दामा संयुक्त राष्ट्र सुरक्षामा उनीहरूको अडानबारे छलफल गर्न हाम्रा भारतीय साझेदारहरूलाई छोड्नेछु,’ प्रवक्ता प्राइसले भने, ‘हामीले हाम्रा भारतीय साझेदारहरूसहित विश्वभरका दर्जनौँ देशहरूसँग रसियाको सैन्य निर्माण र युक्रेनविरुद्धको अप्रत्याशित सम्भावित आक्रामकताबारे हाम्रा चिन्ता व्यक्त गर्दै आएका छौँ।’
प्राइसले युक्रेनको संकटले छिमेकी र विश्वभरिका देशहरूमा प्रभाव पार्ने पनि बताए। ‘मैले पहिले फरक सन्दर्भमा भनेको थिएँ, युक्रेनविरुद्ध रुसी आक्रमणले त्यस छिमेकीभन्दा बाहिरको सुरक्षा वातावरणमा पनि नकारात्मक प्रभाव पार्नेछ,’ प्राइसले भने, ‘चाहे त्यो चीन होस् वा भारत वा विश्वभरका देशहरूमा यसको प्रभाव हुनेछ।’