जिल्ला अस्पताल मनाङमा छैन एक्सरे मेसिन

एक्सरे गर्न बाहिरी जिल्ला जानुपर्ने बाध्यता

मंगलबार, १८ माघ, २०७८
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा रहेको एक मात्र जिल्ला अस्पताल मनाङमा एक्सरे मेसिन नहुँदा मनाङवासीले सास्ती भोग्दै आएका छन् । मनाङकोे एक मात्र जिल्ला अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार नहुँदा मनाङवासीलाई उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको चामेकी अस्मिता गुरुङ बताउँछिन् । 

उनी भन्छिन्, ‘सामान्य चोटपटक लागेपछि उपचारका लागि छिमेकी जिल्ला लमजुङ तथा काठमाडौं,पोखरा जानुपर्ने बाध्यता छ। भौगोलिक रूपमा विकट भएकाले पनि उपचारको पहुँचमा पुग्न मनाङवासीलाई समस्या छ । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने समस्या हल गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय अनिता गुरुङ बताउँछिन् । उनी भन्छिन्– ‘मनाङवासी कहिलेसम्म उपचारको अभावमा बस्नुपर्ने हो ।’

 मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले स्वास्थ्य सेवा सहज बनाउन स्थानीय सरकारसँग समन्वय गरिएको बताए । उनले भने ‘मनाङमा रहेको एक मात्र जिल्ला अस्पतालमा एक्स–रे, भिडियो एक्स–रेलगायतका प्राविधिक सेवा उपलब्ध नहुँदा महँगो भाडा तिरेर उपचारका लागि बिरामी पोखरा काठमाडौं जानुपरेको छ । जिल्लामा मेसिन उपलब्ध रहे पनि मेसिन बिग्रिएकाले प्रयोगमा नआउँदा मनाङवासीले सास्ती खेप्नुपरेको प्रजिअ आचार्यको भनाइ छ । ‘अस्पतालमा मेसिन नहुँदा जिल्लावासीले समस्या भोग्दै आएको व्यहोरा प्रदेश सरकारसमक्ष पेस गरेका छौँ’ प्रजिअ आचार्यले भने । स्थानीय सरकारले पनि पटकपटक जिल्लामा कम्तीमा आधारभूत स्वास्थ्य सेवा सहज बनाउन प्रदेश र संघीय सरकारसमक्ष आग्रह गरेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । 

उनले भने ‘जिल्लामा रहेको एक मात्र जिल्ला अस्पताल मनाङमा आधारभूत सेवा उपलब्ध भए पनि जिल्लावासीले उपचारका लागि छिमेकी जिल्ला लमजुङसहित पोखरा काठमाडौंको भर पर्नुपर्ने थिएन । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले मनाङवासी बिरामी परेमा हेलिकाेप्टरकै भर पर्नुपर्ने बाध्यता छ मौसमअनुकूल नभए ज्यान नै जान सक्छ ।’ स्वास्थ्य कार्यालय मनाङले प्रदेश, संघ र स्थानीय सरकारसमक्ष समस्या समाधानका लागि पहल गरिरहेको बताए । 
 

सुझावित समाचार