नुवाकोट बेल्कोटगढी ३ डाँडागाउँका कृष्णहरि पुडासैनी २०७२ साल वैशाख १२ गते आएको भूकम्पका घाइते हुन् । पर्यटक लिएर रसुवाको लाङटाङ पुगेका वेला उनी भूकम्पमा परेका थिए। भूकम्पको चार दिनपछि मात्रै उनको उद्धार भएको थियो । त्रिशूली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनी काठमाडौं आए । छाउनीस्थित क्याम्पमा केही दिनको उपचारपछि उनी आफ्नो घर फर्किए । तर उनको व्यथा निको भएको थिएन। उनलाई फेरि बुवा लीलानाथले थप उपचारका लागि काठामाडौं ल्याए। २०७२ असार १ गते ओम अस्पतालमा उनको उपचार सुरु भयो । अस्पतालले कृष्णहरिलाई आइसियूमा राखेर उपचार सुरु गर्यो । उनलाई सुरुमा टिटानासको आशंका गरियो।
टिटानास पुष्टि भएपछि थप उपचारका लागि उनलाई ओम अस्पतालले टेकु अस्पताल रिफर गरे पनि टेकुले आफूसँग आइसियू नभएको बताएपछि बालाजुस्थित जनमैत्री अस्पतालमा असार ३ गते उनलाई भर्ना गरिएको कृष्णहरिका बुवा लीलानाथ सम्झिन्छन्।
जनमैत्रीले कृष्णहरिलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गर्यो। बोल्दाबोल्दै भेन्टिलेटर छिरेको छोरो ५०औँ दिनमा मुडोजस्तो भएर बाहिर निस्कँदाको क्षण लीलानाथ कल्पना पनि गर्न सक्दैनन्। छोराको उपचारका लागि लीलानाथले राजनीतिक दलका नेताहरूलाई आफ्नो पीडा सुनाए। छोराको उपचारका लागि खर्चको व्यवस्था गरिदिन माग गरे। तर पनि उनको माग कतै सुनुवाइ भएन। राज्यबाट उनले अहिलेसम्म उपचार खर्चको नाममा ५० हजार मात्र पाएको गुनासो गरे।
उपचारकै क्रममा कृष्णहरिको पछाडिको भागमा घाउ आउन थाल्यो। जनमैत्री अस्पतालबाट उनलाई ७ महिना १३ दिनपछि एम्बुलेन्समा राखेर राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा ल्याइयो। ट्रमा सेन्टरमा ८ महिनाको उपचारपछि उनको घाउ सन्चो भयो । घाउ सन्चो भएपछि अस्पतालले डिस्चार्ज लेखिदिए । तर कृष्णहरिको अवस्था सामान्य थिएन।
शारीरिक रूपमा हलचल गर्न नसक्ने छोरालाई बोकेर लीलानाथ कहाँ जाउन् ? त्यसपछि ट्रमा सेन्टरकै चिकित्सकको सहयोगमा उनी सम्राटसिंह बस्नेतसँग सम्पर्कमा जोडिए र अहिलेसम्म बस्नेतले सञ्चालन गरेको हेल्थ केयर नेपालको आश्रयमा छन्। भूकम्प गएको वर्षदेखि अहिलेसम्म उनी काठमाडौंमा बसेर छोराको उपचार गराइरहेका छन्।
भूकम्पका घाइतेले नि:शुल्क उपचार पाउने सुनेका उनले उपचार खर्चका लागि सरकारी निकायमा हारगुहार पनि गरे। तर भूकम्पको ३८ महिनापछि उपचारका लागि ५० हजार पाएको बताए । लीलानाथ प्रश्न गर्छन्, नि:शुल्क भने पनि मेरो छोराको उपचार किन हुन सकेन?