राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। बुधबार दाङको घोराहीमा भएको निर्वाचनको मतपरिणामअनुसार नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा विजयी भएका हुन्। 

महिलातर्फका उम्मेदवार गैरेले प्रदेशतर्फ २,१६० र स्थानीय तहतर्फ १,५८४ गरी जम्मा ४,३७४ मतभार प्राप्त गरेकी थिइन् भने अन्य समुदायका शर्माले प्रदेशतर्फ २,११२ र स्थानीय तहतर्फ २,२३२ गरी जम्मा ४,३४४ मतभार र दलित समुदायका विश्वकर्माले प्रदेशतर्फ २,१६० र स्थानीयतर्फ २,१९६ गरी जम्मा ४,३५३ मतभार प्राप्त गरी विजयी भएका हुन्।  

त्यस्तै, एमालेको तर्फबाट अन्य समुदायका दाङ घोराहीका रामदयाल गुप्ताले प्रदेशतर्फ १,७७६ र स्थानीयतर्फ १,६०२ गरी  ३,३७८ मतभार, महिलातर्फका बाँकेकी भारती खनाल उपाध्यायले  प्रदेशतर्फ १,७२८ र स्थानीयतर्फ १,५८४ गरी जम्मा ३,३१२ मतभार र गुल्मीका कृष्ण सुनारले प्रदेशतर्फ १,७२८ र स्थानीयतर्फ १,६२० गरी जम्मा ३,३४८ मतभार प्राप्त गरेका थिए। 
 
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चारवर्षे कार्यकाल सकिँदै छ।  संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गरी सक्नुपर्ने व्यवस्था गरेको छ।
 

सुझावित समाचार