‘ललितानिवासको जग्गा किर्ते प्रकरणका दोषीहरूलाई उम्काउने प्रपञ्चमा सरकार’

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले  सरकारले ललितानिवासको सरकारी जग्गा किर्ते प्रकरणका दोषीहरूलाई उम्काउने प्रपञ्च गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सिआइबीले दुई वर्ष लगाएर गरेको अनुसन्धान सरकारी वकिलको कार्यालयले फिर्ता गरेर भ्रष्टाचारीहरूलाई ढाकछोप गर्न खोजेको बताए ।

सरकारी वकिलको कार्यालयले अधिकारको दुरुपयोग गरेको उनको भनाइ छ । सरकारी वकिलको कार्यालयबाट मुद्दा गरेर मुद्दालाई ढिसमिस पार्न लागिएकाले यसको विरुद्ध एमालेले सशक्त दबाब सिर्जना गर्ने उनले बताए ।अर्काे एक प्रसंगमा उनले सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप लगाए ।

स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरेको सिफारिसअनुसार सरकारले कुनै निर्णय नगरेको बताए। उनले सरकारले स्थानीय तहको निर्वाचनलाई पन्छाउन खोजेको आशंका पैदा भएको भन्दै एमालेले त्यस्तो हुन नदिने बताए । समयमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने उनको भनाइ छ । 

उपमहासचिव ज्ञवालीले लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको सम्बन्धमा सरकारले भारतीय पक्षसँग कुरा गर्नुपर्ने बताए । नेपालको भूभागमा भारतले बलमिच्याइँ गरेको विषयमा सरकार बोल्नुपर्ने उनले बताए । देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुने पनि उनले उल्लेख गरे । 

सुझावित समाचार