१६ महिनादेखि थन्क्याएर राखिएका रेलको पुन: परीक्षण

आइतबार, २५ पुष, २०७८
डिजिटल संस्करण

लामो समयदेखि धनुषाको इनरुवा स्टेसनमा थन्क्याएर राखिएका दुवै रेलका इन्जिनलाई शनिबार पुनः परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयसम्म एकै स्थानमा राखिएका दुवै रेलका इन्जिनलाई शनिबार कुर्थासम्म गुडाइएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले लामो समयदेखि एउटै स्थानमा राखिएका रेलका इन्जिन ट्रायलका लागि चलाइएको बताए । खरिद गरेर नेपाल ल्याएदेखि रेल नचलाउँदा दुवै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनेरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुवै रेलका इन्जिनलाई मर्मत–सम्भार गरिएको महाप्रबन्धक झाले बताए । 

२ असोज ०७७ मा नेपाल सरकारले भारतसँग दुवै दिशातर्फ चल्न सक्ने डेमो मोडेलका दुई रेल खरिद गरेका थिए । खरिद गरिए पनि कर्मचारी र कानुनको अभावमा रेललाई इनरुवा स्टेसनमा त्रिपालमुनि छोपिएर राखिएको थियो । सशस्त्र प्रहरीको निगरानीमा रहे पनि हावाहुरी तथा घामपानीले त्रिपाल च्यातिएर खुला अकाशमुनि थन्क्याएर राखिएका कारण रेलको कलर उडिसकेको छ । रेल चलाएर आएका भारतीय रेलचालक बिएन राईले रेल्वेको अवस्था राम्रो रहेको बताए । रेल्वेमा कुनै समस्या नरहेको बताउँदै उनले भने, ‘रेल इन्जिनमा तत्काल कुनै समस्या छैन । तर, रेल गुडाउँदा सर्वसाधारण रेल्वे ट्र्याकमा आउने गरेकाले समय–समयमा समस्या हुने गरेको छ ।’

यता, महाप्रबन्धक झाले आगामी फेब्रुअरीदेखि रेल सञ्चालन हुने गरी आफूहरूले तयारी गरेको बताए । उनले भने, ‘रेलको इन्जिनको अवस्था, रेल्वे ट्र्याकको अवस्था परीक्षणका लागि परीक्षण गरेका छौँ, सबै सामान्य रहेको खण्डमा चाँडै नै रेल सञ्चालन हुन्छ ।’ रेलको उद्घाटन मिति नेपाल र भारतको सहमतिमा तय हुने बताउँदै उनले तत्काल कर्मचारी व्यवस्थापन, टिकटलगायतका विषयमा जुटेको बताए । 

डकुमेन्ट्री बनाउन रेल सञ्चालन 
जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनको डकुमेन्ट्री बनाउन भारतबाट करिब सातजनाको टोली आएको थियो । दुईवटा ठूलो भिडियो क्यामरा र ड्रोनसहित आएका उनीहरूले रेलमार्गको पूरै भिडियो खिचेर लगेका छन् । भारतबाट समाचार र प्रतिवेदन बनाउन आएका बताउने उनीहरूले आफ्नो आधिकारिक मिडिया तथा कार्यालयको विषयमा भने बताउन सकेनन् ।

तर, भारतको उत्तर प्रदेशमा हुन लागेको विधान सभाको चुनावलाई प्रभावित गर्न नेपाल–भारत रेल सञ्चालन गरेको डकुमेन्ट्री बनाउन रेल सञ्चालन गरेको स्रोतको भनाइ छ । यो विषयमा महाप्रबन्धक निरञ्जन झासँग बुझ्दा उनले भने, ‘डकुमेन्ट्रीका लागि मात्रै रेल सञ्चालन गरेको होइन, लामो समय त्यतिकै बसेको र अब सञ्चालन मिति पनि नजिकिन थालेपछि परीक्षण गरेका हाैं ।’
 

See More On

सुझावित समाचार