सभापतिले आफूखुसी अगाडि बढ्न खोजे दुर्घटना हुन्छ : शेखर कोइराला

शनिबार, २४ पुष, २०७८
डिजिटल संस्करण
सभापतिले आफूखुसी अगाडि बढ्न खोजे दुर्घटना हुन्छ : शेखर कोइराला

फाइल तस्बिर ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् । 

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण भने बनी नसकेको बताए । सभापति शेरबहादुर देउवाले विधानमा भएको व्यवस्थालाई गलत रूपमा प्रयोग गरेर  हिँड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न नसक्ने कोइरालाले बताएका हुन् । 

‘अहिले भर्खर सुरुवात हो । जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनुपर्यो । देखिने गरी हुनुपर्यो, न्यायसंगत हुनुपर्यो । उहाँले विधानलाई टेकेर हिंड्नुभएको छ । तर, जसरी नियुक्तिहरू गर्नुभएको छ । कार्य समितिमा ल्याउनुभएको छ,’ कोइरालाले भने, ‘त्यसको मापदण्ड के हो भन्ने कुरा हामीले जान्न जरुरी छ ।’

पार्टीमा सबै क्रियाकलाप न्यायसंगत हुनुपर्छ भन्ने आफूहरूको चाहना भएको र त्यसो हुन नसकेको अवस्थामा पार्टीलाई अप्ठ्यारो पर्ने उनको भनाइ थियो । उनले भने, ‘त्यस्तो भयो भने पार्टी दुर्घटनामा जान्छ । दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने ।’

एक फरक प्रसंगमा कोइरालाले आमनेपाली जनतामा एमसिसीको बारे फैलिएको त्रास चिर्न संसदमार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताए  । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको भन्दै अवरुद्ध संसद सुचारु गर्नतर्फ कांग्रेस र एमाले दुवै लाग्नुपर्ने बताए । 

न्यायपालिकामा दबाब दिन जरुरी रहेको बताउँदै कोइरालाले प्रधानन्यायाधीशले स्वयं निकास खोज्नुपर्ने धारणा राखे ।  कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस एक्लै चुनाव लड्नेसमेत दोहोर्याएका छन्।  

सुझावित समाचार