२६ सयमाथिको टेवा खोज्दै नेप्से : कारोबार रकम पनि बढ्दै

सोमबार, १९ पुष, २०७८
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ६० दशमलव ४१ अंकले बढेर दुई हजार पाँच सय ८४ दशमलव ९१ बिन्दुमा पुगेको छ । यसअघि दुई हजार पाँच सयबाट कारोबार नेप्से सूचक यस दिन उतारचढावबीच दुई हजार ६ सयनजिक पुगेर बन्द भएको छ । अघिल्लो साताबाटै नेप्से सूचकले दुई हजार ६ सयमाथिको टेवा खोजिरहेको छ । बियरिस बजारबाट बुलिसतर्फ बजार गएको देखिन्छ । नेप्से सूचक पछिल्लो एक हप्ता दुई हजार पाँच सयवरिपरि घुमिरहेको थियो । एक लगानीकर्ता पुसभरिमा नेप्से सूचक दुई हजार सात सयमाथिसम्म पुग्ने अनुमान गर्छन् । 

अघिल्लो कारोबार दिन बुधबार तीन अर्ब रुपैयाँमाथिको कारोबार भएकोमा आइतबार चार अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । बजार उच्च अंकले बढेपछि लगानीकर्तामा नाफा बुक गर्ने होड पनि कायमै रहेको छ । साधारणसभाको समय अन्तिम चरणमा पुगेकाले लाभांश सुरक्षित गर्ने समय पनि करिब सकिएको छ । लामो करेक्सन भएपछि अब घट्ने ठाउँमा नेप्से सूचक नरहेको आकलन पनि सेयर कारोबारीमा बढेको देखिएको छ ।

आइतबार सर्वाधिक कारोबार हिमालयन डिस्टिलरीको भएको छ । कम्पनीको ४४ करोडमाथिको कारोबार हुँदा नबिल बैंक, शिवम् सिमेन्ट, नेपाल बंगलादेश बैंक, अपि पावर कम्पनीको २९ करोड रुपैयाँदेखि १७ करोड रुपैयाँसम्मको कारोबार भएको छ । यस दिन एक सय ६८ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ भने १८ वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ । म्युचुअल फन्डबाहेक कारोबारमा आएका १२ वटा समूहका सूचक सकारात्मक बन्दा लगानीकर्ताको आकर्षण उत्पादनगत क्षेत्र देखिएको छ । त्यस्तै विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

दुई कम्पनीको सेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । हिमालयन डिस्टिलरी र मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । सूर्या लाइफ इस्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै, गोर्खाज फाइनान्सले यस दिन सर्वाधिक गुमाएको छ । अन्य गुमाउनेहरूमा म्युचुअल फन्ड समूह रहेका छन् ।

See More On

सुझावित समाचार