२०२१ को अन्तर्राष्ट्रिय खेलकुदलाई फर्केर हेर्दा

शनिबार, १७ पुष, २०७८
डिजिटल संस्करण

गत  वर्ष २०२१ मा कोरोना भाइरसको महामारी नै थियो । कोरोनाविरुद्धको भ्याक्सिन खोप प्रभावकारी भएसँगै विश्व खेलकुद फेरि चलायमान भयो । युरोपियन फुटबलमा दर्शकसहित नै फुटबल आयोजनाहरू भए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सीमित दर्शकसहितको क्रिकेट प्रतियोगिता आयोजना गर्न अनुमति दियो । कोरोनाका कारण सन् २०२० मा हुन नसकेका बृहत् खेलकुद प्रतियोगिता गत वर्ष नै भयो । टोकियो ओलम्पिक, युरोकप तथा आइसिसी टी–२० विश्वकप पनि सफलतापूर्वक सम्पन्न भए । टोकियो ओलम्पिक पूर्ण रूपमै बन्द रंगशालामा भएको थियो । युरोकप र विश्वकपमा सीमित दर्शकबीच भएको थियो । एजेन्सीहरूको सहयोगमा सन् २०२१ मा भएका प्रमुख खेलकुद गतिविधि यस्ता छन् । 

मेसी र रोनाल्डोले गरे क्लब परिवर्तन
गत वर्ष फुटबलमा ठूलै हलचल भनेको नै अर्जेन्टिनी कप्तान लियोनल मेसीले क्लब परिवर्तन गर्नु नै थियो । स्पेनिस क्लब बार्सिलोनामा १७ वर्ष बिताएपछि मेसीले नचाहँदानचाहँदै बार्सिलोना छाड्न विवश भए । २००४ देखि निरन्तर रूपमा बार्सिलोनाका प्ले मेकर खेलाडीका रूपमा स्थापित मेसीले बार्सिलोनामा आधा तलबमै खेल्न रुचि राखेका थिए । 

कोरोनाका कारण आर्थिक धराशयी सामना गरेको बार्सिलोनाले खेलाडीसँगको सम्झौताकै अन्तिम दिनसम्म पनि नवीकरण गर्न सकेन । मेसीले धेरैपटक बार्सिलोनामा बस्न विभिन्न ‘अप्सन’ राखेका थिए । बार्सिलोनाले कुनै पनि प्रस्ताव पूरा गर्न नसक्ने भनेपछि अन्ततः मेसी फ्री एजेन्टको माध्यमबाट विश्वकै महँगो क्लबमा पर्ने पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भए । यद्यपि मेसी म्यानचेस्टर सिटीमा जाने कुरा पनि थियो । तर, सिटीसँग पर्याप्त रकम नहुँदा इंग्लिस क्लब मेसी अनुबन्ध गर्ने होडबाटै बाहिरियो ।

पिएसजीले वर्तमान समयकै उत्कृष्ट खेलाडी मेसीलाई भित्र्याउँदै आफ्नो ब्रान्डिङ बलियो बनाउन सफल भएको छ । मेसी मात्र होइन, गत वर्ष पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि सिरिए क्लब युभेन्ट्स छाडे । लामो समयपछि मेसीले आफ्ना मिल्ने साथी नेमारसँगै खेल्न अवसर पाउँदा दंग भए । सन् २००९ पछि रोनाल्डो म्यानचेस्टर युनाइटेड क्लबमै फर्किए । इंग्लिस प्रिमियर लिगमा गत वर्ष ठूला स्टार खेलाडीका रूपमा रोनाल्डो नै भित्रिए । गत सिजनमा युभेन्ट्सले सिरिए उपाधि जित्न नसक्दा रोनाल्डोले क्लब छाडेका हुन् । ३६ वर्षको उमेरमा रोनाल्डोले युनाइटेडका लागि राम्रो प्रदर्शन गरिरहेका छन् । यसैगरी स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसले पनि क्लब छाडे । उनी पिएसजीमा पुगेका छन् । एक दशकपछि स्पेनिस क्लबमा मेसी र रोनाल्डोविना नै बार्सिलोना र म्याड्रिडबीचको एल क्लासिको भएको छ । 

 ओलम्पिक 
जापानमा कोरोना भाइरस बढी नै रहेको थियो । भ्याक्सिन प्रभावकारी नहुँदा जापानमा गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको आयोजनाले टोकियोलगायत अन्य सहरमा कोरोना महामारीका रूपमा बढ्ने निष्कर्ष थियो । विश्व स्वास्थ्य संगठनले पनि जापानको अवस्था सन्तोषजनक नभएको जनाएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसिसी) ले सबै प्रोटोकल अपनाएर ओलम्पिक गर्न सकिने जापानलाई अनुमति दियो । विवाद तथा भयभीत अवस्थामै जापानले ओलम्पिक आयोजना गर्‍यो । चीनले अन्तिम दिन पदक तालिकाको शीर्ष स्थान गुमायो । 

अमेरिकाले आफ्नो साख रक्षा गर्दै सर्वाधिक ३९ स्वर्ण हात पार्‍यो । चीनले पौडी तथा जिम्न्यास्टिकमा गतिलो प्रदर्शन गर्न नसक्दा नै अमेरिकालाई पाखा लगाउन नसकेको हो । चीन ३८ स्वर्णका साथ दोस्रो स्थानमा सीमित भयो । आयोजक जापानले इतिहासमै पहिलोपटक सर्वाधिक २७ स्वर्णपदक जित्यो । तेस्रो स्थानमा रहेको जापानलाई चौथो स्थानको बेलायतले पछ्यायो । बन्द रंगशालाभित्र आयोजित ओलम्पिक अवधिभरि आयोजक जापानले प्रतियोगिता सञ्चालन भइरहँदा विदेशी खेलाडी, अफिसियल तथा समर्थकलाई निश्चित क्षेत्रभन्दा बाहिर जाने अनुमति दिएन । 

 युरोकप
यद्यपि २०१९ मै ओलम्पिक र युरोपियन फुटबल च्याम्पियनसिप (युरोकप) हुनुपर्ने थियो । यी दुवै प्रतियोगिता निर्धारित मितिभन्दा एक वर्ष पछि धकेलिएको थियो । २०२१ मै विश्व खेलकुदमा दुई वटा ठूला इभेन्ट्स भए । पहिलो ओलम्पिक र दोस्रो युरोकप थियो । युरोपियन फुटबलकै सर्वोच्च संस्था युइएफएले युरोकप २०२१ को संस्करणमा ११ राष्ट्रलाई आयोजक बनाएको थियो । युइएफएको उद्देश्य नै ११ देशका ११ वटै सहरमा युरोपक सञ्चानल हुँदा फुटबल संस्कृतिको विकास हुनुका साथै पयर्टयकीय दृष्टिकोणले पनि आर्थिक नाफा गराउने थियो । २४ राष्ट्रले सहभागिता जनाएको युरोकपमा इटालीले उपाधि उचाल्यो । 

प्रतियोगिताको सुरुवातमै डेनमार्कका मिडफिल्डर क्रिस्टियन मैदानमै ढले । मुटुको धड्कन रोकिँदा उनी मैदानमै लड्न पुगेका थिए । तत्कालै मैदानमा उपचार सम्भव हुँदा उनले मृत्युमाथि जित हात पारे । क्रिस्टियनकै प्रेरणामा डेनमार्कले उत्कृष्ट प्रदर्शन गरेको थियो ।डेनमार्कले सेमिफाइनलमा स्थान बनायो ।आलोचनाबीच स्पेनले पनि अन्तिम चारको स्थान रक्षा गर्‍यो । पछिल्लो एक दशक जर्मनीलाई अन्तर्राष्ट्रिय फुटबलमा सफलता दिलाएका प्रशिक्षक जोचिम लोले राष्ट्रिय टोली छाडे । 


योपटक इंग्ल्यान्डले युरोकप इतिहासमा पहिलोपटक फाइनलमा स्थान रक्षा गरेको थियो । इंग्ल्यान्डले फाइनलमा इटालीविरुद्ध भिड्यो । पेनाल्टी सुटआउटमा इंग्ल्यान्ड इटालीसँग ३–२ ले पराजित भयो । फाइनल खेल १–१ को बराबरी भएको थियो । योपटक नाम चलेका स्टार खेलाडीले त्यति पकड जमाउन सकेनन् । 


 कोपा अमेरिका र बालोन डिअर
अन्तर्राष्ट्रिय फुटबलमा असफलता हात पार्दा आलोचना खेपेका मेसीले गत वर्ष ती सबै आलोचकको मुख बन्द गरेका थिए । डेढ दशकको फुटबल करिअरमा मेसीले पहिलोपटक आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि दिलाउन सफल भए । यसपटक अर्जेन्टिनाले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिलविरुद्ध प्रतिस्पर्धा गर्‍यो । अर्जेन्टिनाले दक्षिण अमेरिकी फुटबलकै कट्टर प्रतिद्वन्द्वी ब्राजिललाई १–० ले हराउँदै उपाधि जित्यो । मेसीले राष्ट्रिय टोलीबाट उपाधि जित्न नसकेको खडेरीमाथि पूर्णविराम यसै प्रतियोगिताबाट पूरा गर्न सफल भए । 

कप्तानीमा पहिलोपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन मुख्य भूमिका निर्वाह गरेका मेसीले बालोन डिअर उपाधि पनि हात पारे । मेसीले बालोन डिअर उपाधि संख्या सात पुर्‍याएका छन् । यो उपाधि जित्दा उनले बुन्डेस लिग च्याम्पियन बायर्न म्युनिखका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीलाई निराश पारे । 

अस्ट्रेलिया पहिलोपटक टी–२० विश्वकप च्याम्पियन

अस्ट्रेलियाले आइसिसीले आयोजना गरेको प्रतियोगिताको जित्न नसकेको टी–२० पुरुष विश्वकप थियो । अस्ट्रेलियले गत वर्ष यो उपाधिमाथि कब्जा जमायो । युएई र ओमानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा अस्ट्रेलियाले फाइनलमा एकपक्षीय रूपमा न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै ट्रफी उचाल्यो । न्युजिल्यान्डले पहिलो ब्याटिङ गरी चार विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो । अस्ट्रेलियाले मिचेल मार्सको ७७ रनको सहयोगमा १८.५ ओभरमा दुई विकेट गुमाउँदै एक सय ७३ रन जोड्दै पहिलोपटक टी–२० विश्वकप उपाधि उचाल्यो ।


 जोकोभिकको दबदबा 

सर्वियन खेलाडी नोभाक जोकोभिकको दबदबा नै रह्यो । वर्षभरि आयोजना हुने चारमध्ये तीनवटा ग्रान्डस्लाम उपाधि जोकोभिकले नै जिते । उनले क्रमशः अस्ट्रेलियन, फ्रेन्च तथा विम्बल्डन ग्रान्डस्लाम हात पारे । युएस ओपन भने रसियाका डानिलले जिते । जोकोभिकले पुरुषतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने रेकर्ड पनि बराबरी गरे । उनले स्विटजरल्यान्डका रोजर फेडेरर र स्पेनिस राफेल नाडालको नाममा रहेको २० ग्रान्डस्लाम बराबरी गरेका हुन् । महिलातर्फ भने फरक–फरक खेलाडीले ग्रान्डस्लाम जितेका छन् । अस्ट्रेलियन ओपन नाओमि ओसाका, फ्रेन्च ओपन बार्वोरा, विम्बल्डन बाट्ली तथा युएस ओपन इमा राडुकानले हात पारे ।
एजेन्सीको सहयोगमा श्रीलोचन राजोपाध्याय

सुझावित समाचार