सुदूरपश्चिममा पहिलोपटक ह्याकाथन प्रतियोगिता हुँदै

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन प्रतियोगिता आयोजना हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङअन्तर्गतको इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ स्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, इन्जिनियरिङ विभागमा आगामी मंसिर ५ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिताको तयारी तीव्र पारिएको छ।

ह्याकाथन प्रतियोगिता– २०८३ का संयोजक तथा क्लबका तत्कालीन अध्यक्ष गोविन्द जोशीका अनुसार प्रतियोगितामा आठ विधामा टोलीबिच प्रतिस्पर्धा हुनेछ। स्वास्थ्यमा पहुँच, शिक्षा, वातावरण, विपत् उत्थानशीलता, कृषि तथा प्रविधियुक्त अर्थतन्त्र, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता, वित्तीय प्रविधि तथा समावेशिता र खुला नवप्रवर्तन तथा मौलिक सिर्जनशीलता विधामा प्रतिस्पर्धा गराइनेछ।

जोशीका अनुसार प्रारम्भिक चरणमा सहभागी हुन कुनै शुल्क लाग्नेछैन। प्रारम्भिक छनोटबाट विज्ञहरूको मूल्यांकनमा परेका टोलीले मात्र प्रतियोगितामा सहभागी हुन शुल्क तिर्नुपर्नेछ।

क्लबकी अध्यक्ष जेलिना भट्टले विद्यार्थीमा रहेको सिप, क्षमता र सिर्जनशीलता उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइन्। प्रतियोगिताबाट उत्कृष्ट भएका परियोजनालाई पुरस्कार प्रदान गर्नुका साथै स्थानीय तहलगायत सरकारी निकायमा नीतिगत सुझाव तथा कार्यान्वयनका लागि पेस गरिने उनले जानकारी दिइन्।

प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट क्षेत्रीय प्रोत्साहन र उत्कृष्ट प्रस्तुतिका लागि जनही पाँच हजार रुपैयाँ तथा उत्कृष्ट महिला टोलीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। विजेता तथा उत्कृष्ट टोलीलाई प्रमाणपत्रसमेत वितरण गरिने आयोजकले जनाएको छ।

क्लबका सल्लाहकार दिलीप पन्तले ह्याकाथनले वर्तमान समाजमा देखिएका समस्या पहिचान गरी प्रविधिमार्फत समाधान खोज्न सहयोग पुग्ने बताए।

यस्ता प्रतिस्पर्धाबाट प्राप्त नवीनतम योजनाले राज्यको नीति निर्माणमा समेत योगदान पुर्याउन सक्ने उनको भनाइ छ। उनले विश्वविद्यालय तथा अन्य सरोकारवाला निकायको सहयोगमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका प्रमुख हरिप्रसाद जोशीले विद्यार्थी स्वयंले अघि सारेको रचनात्मक कार्यक्रम सफल बनाउन विद्यालय, विभाग, विश्वविद्यालय तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीका लागि खाना तथा बसोबासको व्यवस्था आयोजकले गर्ने जनाएको छ।

ह्याकाथनमा सफ्टवेयर निर्माणकर्ता, प्रोग्रामर, डिजाइनर तथा प्रविधिका क्षेत्रमा रुचि राख्ने नवप्रवर्तकहरू एकै ठाउँमा भेला भएर ४८ घण्टाभित्र विभिन्न सामाजिक तथा व्यावहारिक समस्याको प्रविधिमा आधारित समाधान विकास गर्नेछन्।

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यस प्रतियोगिताले प्रदेशका सम्भावना र समस्याको पहिचान गर्दै नवीनतम प्रविधिको विकास, युवा प्रतिभाको प्रोत्साहन र स्थानीय समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


 


कञ्चनपुर, १५कार्तिक 

सुझावित समाचार