काठमाडौं । कर्णाली याक्सलाई चार विकेटले हराउँदै काठमाडौं गोर्खाजले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित निकालेको छ । कर्णाली भने तेस्रो खेलमा पुगेर पराजित भयो ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा काठमाडौं १९.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो ।
प्रतियोगितामा कर्णाली लगातार तेस्रो जित निकाल्दै प्लेअफनजिक पुग्ने योजनामा थियो । तर, फिल्डिङ कमजोर हुँदा हार व्यहोर्न पुग्यो । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन तथा विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको थियो ।
यता, काठमाडौं भने पहिलो जित निकाल्न सफल भयो । काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
काठमाडौंका लागि रसिद खानले सर्वाधिक ५० रन बनाए । ३३ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका सहिदलाई हुसैन तलातले पवन सर्राफबाट क्याच गराएका थिए । उनी अर्धशतक प्रहार गरेको अर्काे बलमै छक्का हान्ने क्रममा बाउन्ड्री लाइनबाट क्याच भएका हुन् । कप्तान करण केसीले २० बलमा ४४ रनको योगदान गरे । उनले चार चौका र तीन छक्का हिर्काएका थिए ।
आदिल आलमले २७ बलमा एक छक्कासहित २० रनको योगदान गरेका थिए । आदिलले तेस्रो विकेटको लागि रसिद खानसँग ५४ रनको साझेदारी गरेका थिए ।
अन्तिम दुई ओभरमा काठमाडौंलाई २१ रन चाहिएको थियो । काठमाडौंका जहनदाद खानले १९औंँ ओभरमा पवन सर्राफलाई दुई छक्का हान्दै खेल नियन्त्रणमा लिएका थिए । यो ओभरमा पवन खर्चिलो बनेका थिए । उनले १७ रन खर्चिए । खेलमा पाकिस्तानी अलराउन्डर जहनदादले १० ओभरमा २२ रन हिर्काएका थिए ।
यसअघि काठमाडौंका लागि अस्ट्रेलियन ओपनर डेभिड वार्नरले १० बलमा १६ रन बनाएका थिए । तीन चौका प्रहार गरेका उनलाई सोमपाल कामीले बोल्ड गर्दा त्रिवि मैदानमा गुञ्जायमान बनेको थियो । उनी एनपिएल खेल्न आउने चर्चित खेलाडीमध्येका एक प्रभावशाली खेलाडी हुन् । नाै रन बनाएका अर्का ओपनर स्मित पटेललाई नन्दन यादवले बोल्ड गरेका हुन् ।
पाँच रन बनाएका भीम सार्कीलाई पाकिस्तानका हुसैन तलातले विकेटकिपर दीपक डुम्रेबाट क्याच गराएका थिए ।
कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलातले समान दुई विकेट लिएका थिए । मार्क वाट र नन्दन यादवले समान एक विकेट लिएका थिए ।
पहिलो इनिङ्समा कर्णालीका ओपनर अरिफुल इस्लामले सानदार सुरुवात गरेका थिए । बंगलादेशका उनले २२ बलमा ४४ रन बनाए । पाँच चौका र तीन छक्का हिर्काएका उनलाई साहब आलमले अस्ट्रेलियन चर्चित ब्याटर डेभिड वार्नरबाट क्याच गराएका थिए । पहिलोपटक एनपिएल खेलिरहेका २१ वर्षीय ब्याटर लगातार तेस्रो खेलमा देखिए । पहिलो खेलमा जनकपुरविरुद्ध ४३ रन तथा दोस्रो खलमा विराटनगरविरुद्ध ३२ रन बनाएका थिए ।
पाकिस्तानका अलराउन्डर हुसैन तलातले २९ बलमा ४० रन बनाए । एक चौका र दुई छक्का हिर्काएका उनी हिट विकेटको सिकार भए । उनी आउट हुँदा कर्णालीले १६.६ ओभरमा पाँच विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।
हुसैनले पवन सर्राफसँग पाँचौँ विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । पवनले २४ बलमा अविजित ३० रन बनाए । उनले दुई चौका हिर्काएका थिए ।
यसअघि इस्लाम र वाटबिच दोस्रो विकेटका लागि ४६ रनको साझेदारी भएको थियो । अलराउन्डर गुल्सन झाले २० रन बनाए । सातौँ नम्बर क्रिजमा आएका गुल्सनले १२ ओभरमा २ छक्का हिर्काएका थिए ।
तेस्रो क्रममा आएका मार्क वाटले २० बलमा दुई चौकासहित १७ रन बनाए ।
यसअघि पहिलो खेल खेलिरहेका बंगलादेशका ओपनर निसन अलामले पाँच बलमा मात्र सात रन बनाए । उनी आइतबार मात्रै नेपाल आइपुगेका थिए । पाकिस्तान टी–२० टिमका कप्तान शाहिदजादा फर्हान फर्किएपछि कर्णालीले युवा ब्याटर अलामलाई भित्र्याएको हो ।
दीपक डुम्रे पनि ६ बलमा आठ रन मात्रै बनाएर आउट भएका थिए ।
काठमाडौंका लागि रिपोन मोन्डोलले दुई तथा शाहव आलम, कप्तान करण केसी, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट लिएका थिए ।
आज नै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन् ।