साताको दोस्रो दिन सोमबार नेप्से सूचक २ दशमलव ६९ अंकले घटेको छ । कारोबारको सुरुवातमा नेप्से सूचक बढेर दुई हजार ६ सय बिन्दु रोकिने प्रयास गरे पनि नाफा बुक गर्ने होडले बजार पुनः ओरालो लागेको हो ।
नेप्से सूचक ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ बिन्दुमा बन्द भएको छ । आइतबार नेप्से सूचक ७१ अंकले बढेपछि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता सोमबार नाफा बुक गर्न पुगेका हुन् ।
बजार घटे पनि कारोबार रकम सकारात्मक नै रहेको पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । बजारले करेक्सन पार गरेको अवस्था र पुँजी बजारलाई सकारात्मक बनाउँदै लैजाने सरकारको धारणाले आगामी दिनमा बजार बढ्ने आधार तय भएको पोखरेलको भनाइ छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३८ स्क्रिप्टमा एक करोड बढीको कित्ता–इकाइ सेयर किनबेच हुँदा पाँच अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ ।
नबिल बैंकको सर्वाधिक ३० करोडमाथिको कारोबार हुँदा शिवम् सिमेन्ट, नेपाल लाइफ इस्योरेन्स, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंकको २६ देखि १८ करोड रुपैयाँसम्मको कारोबार भएको छ । यस दिन एक सय ८२ वटा स्क्रिप्टको मूल्य घटेको छ भने आठवटा स्क्रिप्टको सेयर मूल्य बढेको छ । गोखार्ज फाइनान्स र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । त्यस्तै, सामलिङ पावर कम्पनीको सेयर मूल्य पनि बढेको छ ।
कारोबारमा आएका १३ वटा समूहका सूचकमा गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको जीवन बिमा र निर्जीवन बिमा समूहका सूचक यस दिन २ प्रतिशत र ५ पाँच प्रतिशत बढीले घटेका छन् । अन्य गुमाउनेमा वाणिज्य बैंक, फाइनान्स, माइक्रो फाइनान्सका लगानीकर्ता रहेका छन् । जोशी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढीले घटेको छ । जानकारी जनरल इस्योरेन्स, गुडविल फाइनान्सका लगानीकर्ताले पनि यस दिन गुमाउन पुगेका छन् ।