लमजुङमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता सुरु, १८ टोली सहभागी

सोमबार, १२ पुष, २०७८
डिजिटल संस्करण

लमजुङको सदरमुकाम बेँसीसहरको सहजी खेल मैदान त्रिवेणी रंगशालामा त्रिवेणी कपको २९औँ संस्करण सुरु भएको छ। विगत २९ वर्षदेखि बेँसीसहरमा हुँदै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता सोमबार सुरु भएको छ। 

लमजुङमा आयोजित राष्ट्रव्यापी फुटवल प्रतियोगितामा देशभरका १८ क्लबले भाग लिएका छन्। प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मछिरीङ शेर्पाले उद्घाटन गरेका हुन्। 

शेर्पाले लमजुङमा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गरी खेलको विकास र खेलाडीले खेल्न सक्ने उपयुक्त वातावरणको सिर्जना गर्नुपर्ने बताए। उनले भने, ‘जिल्लामा प्रतिभाशाली खेलाडीको पहिचान गराउने थलो नै त्रिवेणी युवा क्लब हो। यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्छ।’

उनले सरकारले खेल क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने पनि बताए। शेर्पाले आगामी ३०औँ त्रिवेणी कपको प्रायोजक अखिल नेपाल फुटबल संघ बन्ने प्रतिबद्धता जनाए। 

जिल्लामा फुटवल खेलको विकास र प्रवर्धन गरी व्यावसायीकरण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए। गत वर्ष कोरोनाका कारण स्थगित भए पनि यसवर्ष जोखिम कम भएकाले प्रति योगितालाई निरन्तरता दिइएको गुरुङले बताए। 

प्रतियोगितामा पहिलो हुनेलाई नगद ५ लाख त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने क्लबका उपाध्यक्ष एवं खेल संयोजक इन्द्र रानाले बताए। दोस्रो हुनेलाई रजतपदकसहित नगद ३ लाख प्रदान गरिनेछ। सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०–५० हजार प्रदान गरिनेछ। यस्तै, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५–१५ हजार, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिनेछ। 

प्रतियोगितामा काठमाडौं, कास्की, चितवन, तनहुँलगायत जिल्लाबाट फुटबल टोली सहभागी भएका छन्। सोमबारको मैत्रीपूर्ण खेलमा आयोजक त्रिवेणी युवा क्लबले नेपाली सेना श्रीजङ गणलाई ४–० गोलअन्तरले पराजित गरेको छ। 

See More On

सुझावित समाचार