लगानीकर्ताको ध्यान उत्पादनमूलक र व्यापारमूलक समूहमा

आइतबार, ११ पुष, २०७८
डिजिटल संस्करण

गत साता बजार बढ्न थालेसँगै लगानीकर्ताले उत्पादनमूलक र व्यापार समूहमा लगानी उच्चदरमा बढाएका छन् । यी समूहको दैनिक औसत कारोबारमा मात्रै क्रमशः २ सय ६९ प्रतिशत र ३३ प्रतिशतले वृद्धि भएको छ ।

साताभरमा यी समूहमा एक अर्ब ५७ करोड र ६ करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो । उत्पादनमूलक समूहमा शिवम् सिमेन्ट्स, हिमालयन डिस्टिलरी र युनिलिभरको कारोबार रकम बढेको छ । व्यापारमूलक समूहमा विशाल बजार र साल्ट ट्रेडिङ दुवैको कारोबार रकम बढेको छ । 

गत साता चार दिन बजार खुल्दा नेप्से परिसूचक भने एक सय ४३ अंकले बढेर दुई हजार पाँच सय २० बिन्दुमा आइपुगेको छ । दैनिक औसत कारोबार रकम पनि ७ दशमलव ५४ प्रतिशतले बढेर तीन अर्ब ४६ करोड पुगेको छ भने साताभरमा १३ अर्ब ८६ करोडको कारोबार भएको छ । 

गत साता वरुण हाइड्रो र शिवमकाे मूल्य सबैभन्दा धेरै २० देखि २४ प्रतिशतसम्म बढेको छ भने सेन्चुरी कमर्सियल बैंकको सबैभन्दा कम १६ प्रतिशतले मूल्य घटेको छ । हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै एक अर्ब ३७ करोडको कारोबार भएको छ । 

पछिल्लो समय तरलता सहज बनाउन भन्दै मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको सञ्चित कोषमा रहेकोमध्ये ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने व्यवस्था गरेपछि प्रणालीमा ४१ अर्ब रुपैयाँ थपिने भएको छ । त्यस्तै, राष्ट्र बैंकले यही महिनाभित्रमा बैंकहरूलाई ९२ अर्ब पुनर्कर्जा प्रवाह गर्ने भएपछि पनि तरलता दबाब कम हुने अपेक्षामा बजार बढेको हो । 

यद्यपि, पुस मसान्तमा कर तिर्ने प्रयोजनका लागि करिब ५० अर्ब रुपैयाँ नै प्रणालीबाट बाहिरिने र राष्ट्र बैंकको ढुकुटीमा गएर थुप्रिने गर्छ । साथै, सूचीकृत कम्पनीहरूबाट लाभांश प्राप्त गर्ने अवधि लगभग सकिएकाले पनि मूल्य परिवर्तनबाट मात्रै लाभ लिन सकिने अवस्था छ । अहिले बजार केही न्यून तहमा आएकाले पनि लगानी बढाउन सकिन्छ । तर, तत्काललाई भने कम्पनीहरूको मूल्यमा मात्रै आधारित भएर भन्दा पनि कम्पनीले दिइरहेको प्रतिफल, वित्तीय विवरणलगायतलाई आधार मानेर लगानी गर्नु सही हुनेछ ।

See More On

सुझावित समाचार