एनपिएल आफैँले गर्ने क्यानको तयारी

अघिल्लोपटक क्यानले एनपिएल आयोजना गर्न भारतीय कम्पनीलाई जिम्मेवारी दिएको थियो, तर प्रतियोगिता नै भएन, अब आफैँ आयोजना गर्ने भएपछि पुरानो सम्झौता रद्द गर्ने क्यानको तयारी

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

हरेकजसो देशका क्रिकेट बोर्डले टी–२० फ्रेन्चाइज लिग आयोजना गर्छन् । फ्रेन्चाइज लिगबाट बोर्डले कमाइ गर्नुका साथै खेलाडीलाई व्यावसायिक पनि बनाउने गरेको छ । छिमेकी मुलुक भारतको भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पनि इन्डियन प्रिमियर लिग आयोजना गरिरहेको छ, जुन संसारकै महँगो टी–२० फ्रेन्चाइज लिगमा पर्छ । दक्षिण एसियाकै बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानका क्रिकेट बोर्डले आफ्नै स्वामित्वमा प्रत्येक वर्ष टी–२० फ्रेन्चाइज लिग आयोजना गरिरहेका छन् । 

तर, नेपालमा भने यस्तो संस्कार सुरु नै भएको छैन । नेपाल क्रिकेट संघ (क्यान)ले अहिलेसम्म आफ्नो आयोजनामा टी–२० लिगसमेत गरेको छैन । क्यानले आफ्नै आयोजनामा वर्षौंदेखि नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने घोषणा गर्दै आए पनि यो महत्वाकांक्षी योजना साकार बनाउन सकिरहेको छैन । तर, यसविपरीत नेपालका निजी क्षेत्रका कम्पनीहरूले भने फ्रेन्चाइज लिग आयोजना गरिरहेका छन् । उनीहरूले आ–आफ्ना लिगमा चर्चित खेलाडी भित्र्याउँदै नेपालको टी–२० फ्रेन्चाइजलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याइरहेका छन् । नेपालमा हुँदै आएको एभरेस्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल)ले विश्वबजारमा समेत चर्चा पाइरहेका छन् । 

गत असोजमा काठमाडौंमा भएको इपिएलको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्यो, जुन नेपाली खेलकुदमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो । यो लिगमा पाकिस्तानका पूर्वकप्तान सहिद अफ्रिदीसमेत खेल्न आएका थिए । यो वर्ष कोरोना महामारीका कारण निजी क्षेत्रबाटै आयोजना हुँदै आएका डिपिएल र पिपिएल भने हुन सकेका छैनन् । इपिएल आयोजना भएको दुई महिनापछि क्यान पुनः एनपिएल गर्न आतुर देखिएको छ । 

 यसपटक एनपिएल जसरी  पनि हुन्छ : क्यान
यसपटक क्यानले जसरी पनि एनपिएल आयोजना गर्ने जनाएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार क्यानले आफैँ एनपिएल आयोजना गर्नेछ । १३ र १४ पुसमा धनगढीमा हुने क्यानको साधारणसभामा एनपिएलसम्बन्धी प्रस्ताव लैजाने उनले बताए । ‘साधारणसभाको मुख्य एजेन्डा नै एनपिएल हुन सक्छ,’ उनले भने, ‘साधारणसभाले यसको निर्णय गर्नेछ ।’ कार्यवाहक सचिव मल्लका अनुसार एनपिएल हालसम्म नेपालमा भएका टी–२० फ्रेन्चाइजभन्दा भव्य हुनेछ ।

क्यानले अघिल्लोपटक एनपिएल आयोजना गर्न भारतीय कम्पनीलाई जिम्मेवारी दिएको थियो । अब आफैँ आयोजना गर्ने भएपछि सो सम्झौता रद्द गर्नुपर्छ । साधारणसभामा यो सम्झौता रद्द गरी क्यानले नै सबै स्वामित्व ग्रहण गर्ने प्रस्ताव पनि हुने कार्यवाहक सचिव मल्लले बताए ।गत वर्ष मंसिरमा सम्पन्न क्यानको बोर्ड बैठकले एनपिएल आयोजनाको अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई दिएको थियो । क्यानले १० वर्षका लागि एनपिएल सञ्चालन गर्ने गरी ४२ करोड रुपैयाँमा सेभेन थ्रीलाई जिम्मा दिएको थियो । सेभेन थ्रीसँगको प्रारम्भिक सम्झौतापछि यसको विरोध सबैतिरबाट भएको थियो । ‘सुरुमा हामी भारतीय कम्पनीको सम्झौता खारेज गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसपछि आयोजनाको प्रक्रिया अगाडि बढाइनेछ ।’ तर, एनपिएल कहिले गर्ने भन्ने सम्बन्धमा उनले केही बताएनन् । 

See More On

सुझावित समाचार