- ६ खेल सकिँदा विराटनगरका लोकेश बम, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, जनकपुरका मोइन अली, चितवनका डेभिड मालान र कर्णालीका सोमपाल कामीले अर्धशतकीय इनिङ्स खेले
काठमाडाैं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा ६ खेल सकिएका छन् । कर्णाली याक्स लगातार दुई जितका साथ शीर्ष स्थानमा छ । ठुलो लगानी गरेको विराटनगर किंग्सले लगातार दुई खेल गुमाएको छ । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले समान एक जित र हार सामना गरेको छ । सुदूरपश्चिम रोयल्सले पनि समान एक जित र एक हार निकालेको छ । काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सले समान एक खेल खेल्दा हारको नतिजा निकालेका छन् ।
अहिलेसम्म ६ खेल सकिँदा पाँच ब्याट्सम्यानले मात्र अर्धशतकीय इनिङ्स खेलेका छन् । विराटनगरका लोकेश बम, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, जनकपुरका मोइन अली, चितवनका डेभिड मालान र कर्णालीका सोमपाल कामीले अर्धशतकीय इनिङ्स खेलेका छन् । लोकेश, दीपेन्द्र, मोइन, अरिफुल इस्लाम र पवन सराफले समान दुई खेल खेलेका छन् । लोकेश सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा छन् । एनपिएलको ब्याटिङ स्ट्राइकमा लुम्बिनीका डार्सी सटले २२२.२२ राखेका छन् । यसैगरी, कर्णालीका दीपक डुम्रेले २०६.२५ र विराटनगरका एन्ड्रे रुसेलले दुई खेलमा १८७.५० स्ट्राइक राखेका छन् । यसैगरी, धेरै रन बनाउनेमा लोकेश, दीपेन्द्र र मोइन अली क्रमशः शीर्ष तीन स्थानमा छन् ।
लोकेश बम (विराटनगर)
टी–२० फर्म्याटमा लोकेश आक्रामक शैलीमा ब्याटिङ गर्न मन पराउँछन् । उनले चालू एनपिएलको पहिलो खेलमा त्यति ब्याटिङ जादु देखाउन सकेनन् । विराटनगरको दोस्रो खेल कर्णाली याक्ससँग थियो । लोकेशले पहिलो बलदेखि आक्रामक रूपमा प्रदर्शन गरे ।
उनले ८७ रनको आक्रामक इनिङ्स खेल्दा विराटनगरले एक सय ८६ रनको विशाल योगफल खडा गर्यो । यस खेलमा लोकेशले अर्धशतकीय इनिङ्स खेल्दा नौ चौका प्रहार गरेका थिए । सो खेलमा कर्णालीले सनसनीपूर्ण रूपमा चार विकेटको जित निकाल्यो । लोकेशले दुई खेलमा एक सय १३ रन जोडेका छन् । उनले दुई इनिङ्समा सात चौका र १० छक्का प्रहार गरे ।
दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)
सुदूरपश्चिमलाई लगातार दुई संस्करण फाइनल पुर्याउँदा कप्तान दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, उनले सुदूरपश्चिमलाई दुईपटकको प्रयासमा पनि विजेता बनाउन सकेनन् । यसपटक पनि दीपेन्द्रको लक्ष्य टोलीलाई च्याम्पियन बनाउनु नै हो । अहिले उनी फर्ममा देखिन्छन् । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित हुँदा उनले गतिलो ब्याटिङ प्रदर्शन गरेका थिए । दोस्रो खेलमा उनी पोखराविरुद्ध चम्किए । चालू एनपिएलमा सुदूरपश्चिमले पहिलो जित निकाल्ने क्रममा कप्तान दीपेन्द्रले पोखराविरुद्ध ३६ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५१ रनको योगदान दिए । समग्रमा उनी धेरै रन बनाउने सूचीको दोस्रो स्थानमा छन् । उनले एक इनिङ्स नटआउट खेल्दै ७८ रन जोडेका छन् । उनले अहिलेसम्म ६ चौका र दुई छक्का प्रहार गरेका छन् ।
मोइन अली (जनकपुर)
जनकपुरले विदेशीमध्ये अनुभवीका रूपमा इंग्ल्यान्डका पूर्वक्रिकेटर मोइन अलीलाई अनुबन्ध गरेको छ । ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गर्न सक्ने क्षमता बनाएका मोइनले दोस्रो खेलमा अर्धशतकीय इनिङ्स खेले । काठमाडौं गोर्खाजलाई सहज पराजित गरेको प्रतिस्पर्धामा जनकपुरका लागि मोइनले ५१ बलमा समान तीन चौका र छक्का प्रहार गरी ५८ रन जोडेका थिए । चालू एनपिएलमा सर्वाधिक रन बनाउने सूचीमा उनी तेस्रो स्थानमा छन् । उनले समान चार चौका र छक्का प्रहार गरी ७७ रन बनाएका छन् । उनीभन्दा एक रनले दीपेन्द्रसिंह अगाडि छन् ।
डाविड मालान (चितवन)
इंग्ल्यान्डका पूर्वक्रिकेटर मालानले एनपिएलको आफ्नो पहिलो खेलमै सनसनी ब्याटिङ गरे । विराटनगरसँगको प्रतिस्पर्धामा उनले आफ्नो ब्याटिङ क्लास देखाए । यस खेलमा उनले ५० बलमा समान पाँच चौका र छक्का प्रहार गरी सर्वाधिक ७० रनको योगदान दिए । उनकै अर्धशतकीय इनिङ्समा चितवनले विराटनगरविरुद्ध एक सय ५७ रनको माध्यम योगफल खडा गरेको थियो । सो खेलमा चितवन आठ रनले विजयी भएको थियो । मालानले इंग्ल्यान्डका लागि २२ टेस्ट, ३० एकदिवसीय तथा ६२ टी–२० आई खेलेका छन् । उनले टेस्टमा एक, एकदिवसीयमा ६ र टी–२० आईमा एक शतक लगाएका छन् । उनले टी–२० फर्म्याटमा चार सय खेल पाँच शतक तथा ७७ अर्धशतक बनाएका छन् ।
सोमपाल कामी (कर्णाली)
नेपालका अलराउन्डर सोमपाल अहिले राष्ट्रिय टोलीमा छैनन् । राष्ट्रिय टोलीमा फर्कन उनी प्रयासरत छन् । घरेलु तथा राष्ट्रिय टोलीमा सोमपाल आफ्नो आक्रामकका लागि चिनिन्छन् । उनले चितवनसँगको रोमाञ्चक खेलमा ब्याटिङ र बलिङमा अलराउन्ड खेल देखाए । उनले ब्याटिङमा ६३ रन तथा बलिङमा चार विकेट लिए । यसै प्रदर्शनका कारण उनी खेलकै म्यान अफ दी म्याच भए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । यस खेलमा सोमपालले १९३.७५ को स्ट्राइक रेट राखे ।