हत्यारो आफ्स्पा अधिनियम खारेजीको विकल्प छैन

बिहिबार, २३ मंसिर, २०७८
डिजिटल संस्करण

४ डिसेम्बर २०२१ का दिन भारतीय सुरक्षा बलले नागाल्यान्डको मोन जिल्लामा १७ कोइला मजदुरको हत्या ग¥यो । औपचारिक प्रतिवेदनले यस हत्याकाण्डलाई विद्रोहविरोधी अभियानका क्रममा भएको त्रुटि बताएको छ । घटनालाई भारतका गृहमन्त्री अमित शाहले दुर्भाग्यपूर्ण बताएका छन् भने नागाल्यान्डका मुख्यमन्त्रीले संवेदना व्यक्त गर्दै न्यायको वाचा गरेका छन् । नागरिकको अमानवीय गैरन्यायिक हत्या र त्यसपछि आएका माफिनामाहरूले भारतीय लोकतन्त्रबारे के भन्छन् ? 

नागाल्यान्ड राज्यलाई अशान्त एवं खतरनाक करार गर्दै यहाँ सन् १९५८देखि अतिरिक्त संवैधानिक नियम सशस्त्र बल विशेषाधिकार अधिनियम (आफ्स्पा) लागू भइरहेको छ । जुन २०२१ मा गृह मन्त्रालयले ३१ डिसेम्बर २०२१ सम्म आफ्स्पालाई लम्ब्यायो । नागाल्यान्डका सुरक्षा बललाई शान्ति सुरक्षा कायम गर्न नागरिक अंग एवं संस्थालाई कुल्चने अधिकार दिइएको छ । आफ्स्पा (१९५८) अनुसार भारतीय सुरक्षाकर्मीलाई शंकाका भरमा हत्या गर्न, बिनापक्राउ पुर्जी हिरासतमा राख्ने अधिकार दिएको छ । दशकौँदेखिको मानवअधिकार अभिलेख हेर्ने हो भने आफ्स्पाअन्तर्गत उत्तरपूर्वी भारतका सुरक्षाकर्मीले कानुनी सजायबाट उन्मुक्ति पाएका छन् । यो दण्डहीनताबारे सर्वोच्च अदालतले चासो व्यक्त गर्दा भारतीय सुरक्षा बलले नागरिक अदालत सैन्य अदालतबाट टाढा रहनुपर्ने प्रतिक्रिया दियो । मानवअधिकारवादी अभियन्ताका अनुसार आफ्स्पाअन्तर्गत भएका यातना, गैरन्यायिक हत्या र बेपत्ता पारिएका घटनाका पीडितलाई न्याय दिलाउने काम अत्यधिक चुनौतीपूर्ण छ ।    

उत्तरपूर्वी भारतमा राज्य हिंसाका दोषीलाई दिइने सजायको अवस्था एकदमै निराशाजनक छ । विभिन्न माध्यममा नेताको संवेदना र न्यायको प्रत्याभूतिको प्रस्तुति र आश्वासन बाँडिएका छन् । यी आश्वासनको सार्थकता खुनी नरसंहारका पीडितलाई न्याय दिइन्छ कि दिइन्न भन्ने विषयले निर्णय गर्नेछ । यी त भए केन्द्रका आश्वासन एवं छलफल । नागाल्यान्डको यथार्थ के छ ? हत्याकाण्डको सबैभन्दा पहिलो प्रभाव नागाल्यान्ड सरकारले पर्यटक आकर्षित गर्न सिर्जना गरेको ‘होर्नबिल उत्सव २०२१’ मा परेको छ । नागाल्यान्डका कोन्याक, चाङ, साङ्ताम, खियाम्न्युङ्गन, यिमचुङ्गर र फोम जनजातिको संयुक्त संगठन इस्टर्न नागाल्यान्ड पिपुल्स अगनाइजेसन (एन्पो) ले ‘हाम्रा मानिस मारिँदा हामी कसरी नाच्न सक्छौँ (पर्यटक आकर्षित गर्न) ?’ भन्दै उत्सव रद्द गरेका छन् । 

दशकौँदेखिको मानवअधिकार अभिलेख हेर्ने हो भने आफ्स्पाअन्तर्गत उत्तरपूर्वी भारतका सुरक्षाकर्मीले कानुनी सजायबाट उन्मुक्ति पाउँदै आएका छन्
 

जबसम्म अत्याचारी आफ्स्पा (१९५८) खारेज हुँदैन, क्षोभ एवं निन्दाको कुनै अर्थ छैन । यो अधिनियमले नागा एवं अन्य उत्तरपूर्वी भारतका नागरिकलाई भारतको संविधानको धारा २१ ले सुनिश्चित गरेको बाँच्न पाउने अधिकारलाई कुण्ठित गरेको छ । यसअघि पनि थुप्रै गैरन्यायिक हत्या उपेक्षा गरिएका छन् र यो हत्याकाण्ड पनि भिन्न हुनेछैन । हाम्रो पीडा र क्रोध नौलो होइन । पर्यटक आकर्षित गर्ने सुन्दर गाउँका चित्र भएका ब्रोसरलगायत प्रचार सामग्रीमा आफ्स्पा आतंक लुकेका छन् । हर्नबिल उत्सवमा हामीले जतिसुकै नाच प्रदर्शन गरे पनि नागा जनतामाथि थोपरिएको सैन्यकरणको क्रूर इतिहास मेटिनेछैन अर्थात् भारतीय सेनाले नागालाई मैमत्त भएर गोली दाग्न छाड्नेछैन । तपाईं नागाल्यान्डमा हुनुहुन्छ भने भाजपाका सदस्य हुनुले पनि तपाईंलाई आफ्स्पा आतंकबाट जोगाउन सक्दैन ।

सन् २००९ देखि २०११ का बीचमा असम–नागाल्यान्डको तराईका सीमामा विद्यावारिधि फिल्डवर्कका क्रममा मैले मोन जिल्लाको कोइला खानीको भ्रमण गरेकी थिएँ । यहाँको जाडो याम निकै चिसो र धुलाम्य हुन्छ । डिसेम्बर अर्थात् कोइला उत्खनन याम धेरै सामाजिक उत्सव–समारोहसँग मिल्छ । क्रिसमसको महिना र चाडपर्वको उमंगले कोइला खानीका मजदुरलाई पनि छुन्छ अर्थात् उनीहरू आफ्नो परिवारका लागि नयाँ लुगा किन्ने र साथीहरूसँग समय बिताउने योजना बनाउँछन् । कमाइले अपुग भए पनि यी मजदुर जहिल्यै पनि उत्सव महिनामा आफ्नो कमाइको हिस्सा प्रियजनहरूलाई दिने गर्थे÷गर्छन् । बिदा मान्न स्वदेश फर्केका प्रवासीलाई स्वागत गर्ने समय पनि हो डिसेम्बर ।  

यहि उमंगको महिना डिसेम्बरमा १७ जना नागा कोइला मजदुरको भयावह हत्याको पृष्ठभूमिमा नागा जनताले सैन्यकरण र आफ्स्पाविरुद्धको मौनता तोड्नैपर्छ । हर्नबिल उत्सवमा बज्ने कुनै पनि सांगीतिक राग वा दर्शकलाई चकित पार्ने सांस्कृतिक नृत्यले हामीलाई बचाउनेछैन । हामीलाई हाम्रा पीडा बारम्बार सम्झाउने गरिन्छ । नागाल्यान्डको हर्नबिल उत्सवले नागाल्यान्डको वास्तविकता झल्काउँदैन । यस्ता उत्सवले तीन पुस्तादेखि हामीमाथि परेको बज्रपातलाई मेटाउँदैनन् । हामी मौन बसिरह्यौँ भने निश्चित रूपमा आउने वर्षहरूमा चौथो पुस्ता पनि प्रताडित हुनेछ । मेरा हजुरबा, हजुरआमा, आमाबुबा र मेरो पुस्ताले भारतले हाम्रो पुख्र्यौली क्षेत्रमा लादेको विद्रोहविरोधी अभियानको भयावह आतंकको स्थितिलाई भुलेका छैनौँ । सन् १९९७ मा इन्डो–नागा युद्धविरामले हामी नागाहरूको भावी पुस्ताले एक पृथक् भविष्यको अनुभव गर्नेछन् भन्ने आशा लिएर बसेका थियौँ । मोन जिल्लाका घटनाले यी आशालाई छियाछिया बनाइदिएको छ ।

नागा गाउँहरूमा सबैभन्दा क्रूर विद्रोहविरोधी अभियान देखे–झेलेका नागा बुबा–आमाहरू ती भयावह अभियानलाई शब्दमा व्यक्त गर्न सक्दैनन् । यी निमुखा पीडामा रुन्छन् । तर, भारतीय गुप्तचर निमुखालाई विद्रोहीको समर्थक बताउँछन् र आतंक जारी राख्छन् । यो त्रासदी हाम्रो जीवन्त अनुभव हो र यसबारे अर्को रायको औचित्य छैन । नागाले नागाल्यान्ड र छिमेकी राज्यबाट आफ्स्पा खारेज गर्ने माग राख्नुपर्छ । नागाल्यान्ड राज्यमा आफ्स्पाको आधिकारिक समय सीमा ३१ डिसेम्बर २०२१ रहेको छ । आफ्स्पा खारेज गर्ने माग गरेर न्यायका लागि लड्न आह्वान गर्ने हाम्रो नागा परम्परालाई जोगाउने साहस गरौँ ।
उत्तरपूर्वी भारतमा आधारित अनलाइन मिडिया रायोतबाट  

सुझावित समाचार