नेपालको लोकतन्त्र सही दिशामा छ : भदोरिया

बिहिबार, २३ मंसिर, २०७८
डिजिटल संस्करण

भारतका समाजवादी अभियन्ता एवं बहुजन समाज पार्टीका केन्द्रिय प्रवक्ता सुधीन्द्र भदोरियाले नेपालको लोकतन्त्र सही दिशामा अघि बढेको उल्लेख गर्दै संविधान थप सुदृढ गर्न शीर्ष नेतालाई सुझाब दिएका छन् ।  कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुन आउन लागेका नेता भदोरियाले नेपाल र भारतबीच हिमालयदेखि अरब सागरसम्म जीवन रेखाको सम्बन्ध रहेको भन्दै यसको महत्वलाई दुबै देशले बुझ्नुपर्नेमा पनि जोड दिएका छन् । 

‘दक्षिण एशियाका अन्य मुलुकहरुबीचको द्विपक्षीय सम्बन्धको तुलनामा नेपाल र भारतबीचको सम्बन्धको महत्व उच्च छ । सांस्कृतिकरुपमा त छँदैछौँ,  हिमालयदेखि अरबसागरसम्म हामी जोडिएका छौं । व्यापार, पर्यावरण, सामरिक सबै हिसाबले हाम्रो सम्बन्ध महत्वपूर्ण छ,’ नेपाल भारत सम्बन्धका जानकार भदोरियाले नयाँ पत्रिकासँग भने । 

उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री मायावती नेतृत्वको बहुजन समाज पार्टीका शीर्ष नेता रहेका भदोरियाले ०६२/६३ मा नेपालमा प्रजातान्त्रिक आन्दोलनका बेला भारत सरकार र नेपाली राजनीतिक दलहरुबीच समन्वय गरेका थिए । भदोरियासहित तत्कालीन सांसद डीपी त्रिपाठी, भारतीय कम्युनिष्ट पार्टी मार्क्सबादीका महासचिव सीताराम यचुरी, कंग्रेसका नेताहरुसँग उनले नेपालको आन्दोलनमा ऐक्यबद्धता जनाउन भूमिका निर्वाह गरेका थिए । ०७२ सालको नाकाबन्दीका समयमा भदोरियासहितका नेताले भारत सरकारको विरोध गरेका थिए ।  

शीर्ष नेताहरु बिपी कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालासँग उनको निकट सम्बन्ध थियो । ‘प्रधानमन्त्री शेरबाहदुर देउवाजीसँग मैले काम गरेको छु । त्यसो त प्रचण्डजी, माधव नेपालजी, केपी ओलीजी, बाबुराम भट्टराईजीसँग मेरो अटुट मित्रता छ । ओलीजी उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री हुँदा मैले धेरैपटक नेपाल भारत सम्बन्धका सम्बन्धका कुराकानी गरेको छु, उहाँसँग सहकार्य गरेको छु,’ भदोरियाले भने, ‘लोकतन्त्रको लडाईँ नेपालले लडिरहँदा हामी पनि साथमा थियौँ । गिरिजाबाबु, प्रचण्ड, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनालजीसँग हामीले सहकार्य गरेका हौँ । ’ 

कांग्रेस महाधिवेशनमा सहभागी हुन काठमाडौं आउने क्रममा भदोरियाले दुई  देशका राजनीतिक दलबीच सम्बन्ध  र विश्वास अभिबृद्धि गर्न कोशिस गर्ने बताए । ‘नेपाली कांग्रेससँग हाम्रो विशेष सम्बन्ध पुरानो र विशेष छ अनि एक अर्कामा हामीबीच सम्मान  प्रेम छ । अन्यदलहरुसँग पनि हाम्रो हार्दिक सम्बन्ध छ,  थप बजबुत बनाउने केशिस गर्नेछु’ भदोरियाले भने ।  

भदोरियाले कोभिड १९ का कारण अर्थतन्त्रमा परेको संकटदेखि जलवायु परिवर्तनको संकटबाट भारत र नेपाल दुबै पीडित भएको भन्दै यी मुद्दामा दुई देश एकै ठाउँमा उभिनुपर्ने बताए । ‘हिमालमा हिउँ पग्लिएको छ । यसको भयानक  र दुरगामी प्रभाव नेपाल र भारत दुबैको जनजीवनमा हुनेवाला छ’ उनले भने, ‘हिमालयदेखि समुद्रसम्मका बिषयमा नेपाल र भारतले एउटै राय राख्नुपर्छ । ’

‘नेपालको संविधान उत्कृष्ट’
भदोरियाले नेपालको संविधान प्रगतिशिल रहेको बताए । ‘संविधान निर्माणका क्रममा नेपालले जनजाति, दलित, महिला सबैलाई उचित स्थान दिएको छ । दुनियाँको राम्रो सम्बिधान नेपालले दिएको छ’ उनले भने, ‘म दाबासाथ भन्छु भारतको राजनीतिक प्रणाली, कर्मचारीतन्त्र, राजनीतिक दलहरु नेपालको लोकतन्त्रबाट प्रभावित छन् । नेपाली जनता र लोकतन्त्रको स्वास्थ्य राम्रो होस्, लोकतन्त्र सुदृढ होस् भन्ने हामी सबै पक्षको चाहना छ ।’

उनले राजतन्त्रको समय भन्दा नेपाल राजनीतिक प्रक्रियाका हिसाबले उन्नत बाटोमा  अघि बढेको बताए । ‘हामीकहाँ पनि अंग्रेज हुँदा आर्थिक स्थिति राम्रो थिएन । बेलायतले भारतबाट खर्बौ रुपियाँ लिएर गयो । हामीमाथि उसको शोषण थियो । तर, स्वतन्त्रतासँगै प्राप्त गरेको लोकतन्त्रले हामीलाई यो ठाउँसम्म ल्याइपुर्याएको हो’ भदोरियाले थपे, ‘नेपालमा पनि गिरिजाबाबुको नेतृत्वमा भएको आन्दोलनले राजतन्त्रको शोषणबाट मुलुकलाई अघि बढाएको छ । पछिल्लो २० बर्ष नेपालले  लोकतन्त्रमार्फत् ठूलो राजनीतिक उपलब्धी हासिल गरेको छ । राजतन्त्र हटाएर नेपालले ठूलो तरक्की गरेको छ, राष्ट्र निर्माणमा यो ऐतिहासिक फड्को हो ।’ यद्यपि नेपालका दलहरुले राष्ट्रहितमा धेरै काम गर्न बाँकी रहेको उनको टिप्पणि छ । 

नेपालका राजनीतिक पार्टीलाई  संविधान र लोकतन्त्रलाई मजबुत बनाउन उनले सुझाब दिए । ‘कांग्रेस सभापति शेरबहादुर देउबाजीको यसमा नेतृत्वदायी भूमिका रहोस् भन्ने हामी चाहन्छौँ । ३५ बर्षदेखिमा मेरा मित्र देउवाजी यसमा सक्षम हुनुहुन्छ भन्ने मेरो विश्वास हो’ उनले भने । 

‘दुई देशका समस्या जटिल छैनन्’
नेता भदोरियाले नेपाल र भारतबीचका समस्याहरुलाई  ‘परिवारमा आउने सानातिना बिषय’ भनेका छन् । ‘हामीबीच सुल्झिन नसक्ने समस्या छैन । नेपाल र भारत दुबैले एकअर्कालाई कहिल्यै नराम्रो साेंचेका छैनन् । भारतका कुनै पनि दल वा सरकारले नेपालको अहित शोच्नै सक्दैनन्’ भदोरियाको जिकिर छ, ‘नेपालमा भारतको गम्भीर सुरक्षा चासो छ । विशेष गरि १९९९ मा काठमाडौंदेखि कान्दाहारसम्म  इन्डियन एयरलाइन्सको जहाज अपहरण भएदेखि भारत अलिकति चनाखो छ । तर, नेपाल सरकारले भारतको सुरक्षा चासोलाई हमेसा सम्बोधन गर्दै आएको छ ।’ उनले नेपाल र भारतबीच सुरक्षा र सीमा जोडिएका बिषयहरु भविश्यमा सकारात्मकरुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । 

अर्को सन्दर्भमा उनले भारतीय जनताले नेपाली जनतालाई हस्तक्षेप गर्ने परिकल्पना पनि गर्न नसकिने टिप्पणि गरे । ‘मानवअधिकार र लोकतन्त्रका सन्दर्भमा नेपालले सही बाटो लिएको छ । नेपालले अन्तराष्ट्रिय सम्बन्ध वा अन्य बिषयमा लिने निर्णयका सवालमा भारतमा कुनै पनि प्रकारको राय छैन’ उनले भने, ‘नेपाल र चीन वा नेपाल र अन्य मुलुकबीचको सम्बन्ध कसरी अघि बढाउने भन्ने नेपालको छनौट हो । हाम्रो ध्यान भारतको हित सुरक्षित कसरी सुरक्षित गर्ने भन्नेमा मात्रै छ ।’ यद्यपि भदोरियाले सुदृढ सम्बन्ध  दुबै देशको भविश्य र भूगोलको यथार्थ भएको पनि भन्न छुटाएनन् । 

दुई देशलाई महात्मा गौतब बुद्धले जोडेको पनि उनले बताए । ‘गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीले विश्वलाई सन्देश दिएको छ, हामी बुद्धबाट प्रभावित छौँ’ उनले भने, ‘संस्कृति, बिचारधारा, भावनामा हामीबीच गहिरो प्रभाव र अन्तरसम्बन्ध छ ।’ 

सुझावित समाचार