दुई साता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि : ग्यास प्रतिसिलिन्डरमा एकैपटक ७५ रुपैयाँ बढाइयो

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल आयल निगमले उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटरमा तीन–तीन रुपैयाँ बढाइएको छ । खाना पकाउने एलपी ग्यासमा त एकैपटक प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर एक हजार पाँच सय ७५ पुर्‍याइएको छ । दुई साता नबित्दै निगमले बुधबार रातिबाट लागू हुने गरी पुनः मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य एक सय १९ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धन एक सय एक रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ भने अन्तर्राष्ट्रिय उडान भर्ने विमानका लागि हवाई इन्धन आठ सय ९५ डलर प्रतिकिलोलिटर पुर्‍याइएको छ । आन्तरिक हवाई इन्धन प्रतिलिटर पाँच रुपैयाँ र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर ४२ डलर वृद्धि गरिएको हो । 

निगमले यसअघि १२ कात्तिकमा पनि मूल्यवृद्धि गरेको थियो । त्यतिखेर पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन–तीन रुपैयाँ बढाएको थियो ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले नेपालमा पनि बढाउन बाध्य भएको निगमले जनाएको छ । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेका कारण नेपाली बजारमा मूल्यवृद्धि गर्न हामी बाध्य छौँ,’ निगमका सहप्रवक्ता पुस्कर कार्कीले भने, ‘मूल्यवृद्धि पछि पनि हामीलाई नाफा छैन । बरु, आगामी १५ दिनसम्म यही मूल्यमा तेल बिक्री गर्दा दुई अर्ब ६२ करोड रुपैयाँ नोक्सान हुने अनुमान गरेका छौँ ।’

मूल्यवृद्धिपछि पनि पेट्रोलमा १७.५८ रुपैयाँ, डिजेलमा १३.१४ रुपैयाँ प्रतिलिटर र एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा नोक्सान रहेको उनको दाबी छ । 

मूल्य समायोजनका लागि निगमले बनाएको कार्यविधिमा एकपटकमा दुई–दुई रुपैयाँभन्दा मूल्य थपघट गर्न नपाइने व्यवस्था छ । त्यसभन्दा बढी दरमा मूल्य थपघट गर्नुपर्ने भए सञ्चालक समितिको बैठक बस्नुपर्ने प्रावधान छ । बुधबार रातिबाट लागू गरिएको मूल्य सञ्चालक समितिले निर्धारण गरेको हो ।

तीन वर्षअघिको उच्च बिन्दुमा कच्चा तेलको मूल्य
तीन वर्षअघि कात्तिक ०७५ मा कच्चा तेलको भाउ उच्च बिन्दु अर्थात् ८४.७६ डलर प्रतिब्यारेल थियो । त्यतिवेला नेपाली बजारमा पनि तत्कालीन समयको सबैभन्दा बढी मूल्य (पेट्रोल एक सय १४, डिजेल र मट्टीतेल समान एक सय एक रुपैयाँ प्रतिलिटर) निर्धारण गरिएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लाग्यो र औसत बिन्दुमा बसेर तलमाथि भइरहेको थियो । 

तर, तीन वर्षपछि मूल्य पुनः उकालो लाग्ने क्रममा बुधबार ८४.४० डलर प्रतिब्यारेल पुगेको छ । यो कच्चा तेलका लागि उच्च बिन्दु हो र केही महिनादेखि कच्चा तेलको भाउ ७० डलर प्रतिब्यारेलभन्दा माथि बसिरहेको छ । 

३ वैशाख ०७७ मा भने कच्चा तेलको भाउ न्यूनतम बिन्दुमा झर्ने क्रममा १९.४५ डलर प्रतिब्यारेलमा आएको थियो । त्यतिवेला नेपाली बजारमा पेट्रोलियमको मूल्य न्यून बिन्दु अर्थात् पेट्रोल ९६ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ८५ रुपैयाँ प्रतिलिटर कायम भएको थियो ।
 

सुझावित समाचार