एमाले अब पूर्ण रूपमा प्रतिपक्षमा, गुमायो संघदेखि प्रदेश सत्ता

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रदेश १ को मुख्यमन्त्रीबाट भीमप्रसाद आचार्यले राजीनामा दिएसँगै नेकपा एमाले सबै प्रदेशमा प्रतिपक्षी बनेको छ। २०७४ को निर्वाचनपछि नेकपा एमालेले ४ प्रदेशसहित संघीय सरकारको नेतृत्व गरेको थियो। नेकपा माओवादी केन्द्र र एमाले एकता भएर बनेको तत्कालीन नेकपाको प्रदेश २ बाहेक ६ वटै प्रदेशमा सत्ताको नेतृत्व थियो। नेकपा विभाजन भएसँगै सत्तामा एमालेको ओरोलो यात्रा सुरु भएको हो।  

केपी ओली नेतृत्वको संघीय सरकार गुमाएको एमालेले गण्डकी प्रदेश सरकार, लुम्बिनी प्रदेश सरकार र बागमती प्रदेश सरकार यसअघि गुमाइसकेको छ। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ०७८ जेठ २७ मा ढलेको थियो। उनले पहिलोपटक राजीनामा दिएर पुन: दोस्रोपटक शपथ लिएर सत्ता जोगाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन। गण्डकीमा अहिले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन्। 

शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार पनि एमालेले जोगाउन सकेन। ०७८ साउन २८ मा एमालेको लुम्बिनी प्रदेश सरकार ढलेपछि पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसी सोनाम त्यहाँका मुख्यमन्त्री बने। यसबीचमा नेकपा मात्र विभाजन भएन। नेकपा विभाजनपछि पूर्ववत अवस्थामा फर्केको एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन हुन पुग्यो। एकीकृत समाजवादीले बागमती सरकारको नेतृत्व गरिरहेको छ। 

बागमती सरकार ढल्ने अवस्थामा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिए। त्यसपछि एमालेकै अष्टलक्ष्मी शाक्य ०७८ भदौ २ गते मुख्यमन्त्री बनिन्। उक्त समयमा नेपाल पक्षधर रहेकी शाक्यलाई मुख्यमन्त्री बनाए पनि बागमती सरकार एमालेले जोगाउन सकेन। अन्तत : प्रदेश सभामा अविश्वासको प्रस्तावको फेस नगरिकनै शाक्यले कात्तिक १० गते राजीनामा दिइन्। बागमती प्रदेश सरकारको नेतृत्व त्यसपछि एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले गरिरहेका छन्। 

प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि १० भदौमा भीमप्रसाद आचार्य  मुख्यमन्त्री बनेका थिए। तर, आचार्यले पनि सोमबार प्रदेश सभामा अविश्वासको प्रस्ताव फेस नगरिकनै राजीनामा दिएसँगै एमालेले सबै प्रदेशबाट आफ्नो सत्ता गुमाएर प्रतिपक्षमा पुगेको छ। प्रदेश १ मा एकीकृत समाजवादीका राजेन्द्र राईलाई गठबन्धनले मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ। उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिनेछन्। 

प्रदेश २ जनता समाजवादी पार्टीका लालबाबु राउत मुख्यमन्त्री छन्। यस्तै, कर्णाली प्रदेशमा माओवादीका त्रिलोचन भट्ट र कर्णालीमा माओवादीकै महेन्द्रबहादुर शाही नेतृत्वमा सरकार छ। नेकपा विभाजनपछि माओवादीले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पाएको छ। 

सुझावित समाचार