नेप्सेमा बुलिस प्रवृत्तिको प्रयास कायमै

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

२५ सय १० बिन्दुबाट फर्किएको नेप्से परिसूचकले पुनः बुलिस प्रवृत्ति समात्ने जमर्को गरेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता समस्या कायमै रहे पनि बजार न्यून तहमा पुगेको लाभ उठाउँदै सेयर बजारमा लगानी भने वृद्धि भएको छ । यही कारण गत एक सातामा मात्रै लगानी रकम ८७ प्रतिशतले बढेर २५ अर्ब रुपैयाँ पुगेको छ । 

नेप्से परिसूचक पनि दुई सय २५ अंकले बढेर २७ सय ८२ मा पुगेको छ । सूचीकृत कम्पनीहरूले लाभांश दिने क्रम चलिरहेको छ । लघुवित्तहरूबाट राम्रै लाभांश घोषणा भइरहेको छ भने धेरैजसो वाणिज्य बैंकहरूले पनि लाभांशमा बोनसको हिस्सा उच्च नै बनाएका छन् । 

लगानीकर्ता प्रतिफललाई मात्र महत्व दिइरहेका देखिँदैनन् । केही समयअघिको पुरानो उचाइलाई समेत लगानी आधारका रूपमा बनाइरहेका छन् । यही कारण प्रतिफलले नधान्ने मूल्यमा पनि लगानीकर्ताले आँखा चिम्लिएर लगानी गरिरहेका देखिन्छन् । 

गत साता सबै समूहगत परिसूचकमा सुधार देखिएको छ । वित्त कम्पनी, जलविद्युत्, विकास बैंकलगायतका समूहगत परिसूचक १३ प्रतिशतदेखि करिब १७ प्रतिशतसम्म बढेका छन् । एकै सातामा बेस्ट फाइनान्स, नेपाल हाइड्रोलगायतको मूल्य ४५ प्रतिशतसम्म बढेको छ । मेरो लघुवित्तको भने एकै सातामा १३ प्रतिशतसम्म मूल्य घटेको छ । कारोबार रकम र संख्याका आधारमा नबिल बैंक अग्रस्थानमा छ । बैंकको साताभरमा आठ हजारपटक कारोबार भएर एक अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

बुलिसको तयारी ?
अल्पकालीन विश्लेषण औजार मैनबत्ती चित्रअनुसार गत बुधबार यता नेप्सेको बुलिस प्रवृत्ति कमजोर हुन थालेको देखिन्छ । बुधबार दुवैतर्फ बराबर धागो भएको डोजी र अन्तिम दिन ह्यांगिङ म्यान आकृति बनाएको छ । यसले बजारको वृद्धि रोकिन सक्ने संकेत गरिरहेको छ । तर, यो कमजोर संकेत हो । 

नेप्सेको मुभिङ एभरेज रेखाले बजार बियरिस प्रवृत्तिमै रहे पनि बुलिस प्रवृत्तिमा जान सक्ने संकेत गरिरहेको छ । नेप्सेको सातदिने मुभिङ रेखा र २१ दिने मुभिङ रेखा निकै नजिकिएका छन् । यदि सातदिने रेखाले २१ दिनेलाई काटेर माथि लगेमा यसलाई गोल्डेन क्रसओभर भनिन्छ । यद्यपि, छोटो–छोटो अवधिमा यसको प्रवृत्तिमा समेत परिवर्तन देखिएकाले यसमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । सातदिने रेखा माथि हुँदा बजार बुलिस रहेको मानिन्छ भने यदि २१ दिने रेखा माथि रहेमा बजार बियरिस प्रवृत्तिमा रहेको विश्लेषण गरिन्छ । 

१४ दिने आरएसआई सूचकले पनि पछिल्लो समय बजारमा अधिक खरिदको अवस्था सुरु हुन लागेको संकेत गर्छ । गत बिहीबार यो स्केल ६७ दशमलव १३ सम्म आएको छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे माग र आपूर्ति सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । 

गत साताका लागि उच्च बिन्दु दुई हजार आठ सय ६ बनाएको नेप्सेको पिभट विश्लेषणअनुसार आगामी एक सातामा दुई हजार आठ सय ७६ मा पहिलो लक्ष्य पाउनेछ । यस लक्ष्यमा प्रतिरोध भएमा नेप्सेले दुई हजार ६ सय १७ मा पहिलो टेवा परीक्षण गर्नेछ । 

See More On

सुझावित समाचार