संघर्षरत न्यायाधीशहरू आज पनि इजलास नबस्ने, आन्दोलनका कार्यक्रम तय गर्दै नेपाल बार

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू शुक्रबार पनि इजलासमा नबस्ने भएका छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको पनि आन्दोलनका कार्यक्रम तय गर्न बैठक बस्दै छ । 

‘सडकमा आवाज उठ्दैमा राजीनामा दिन्नँ’

प्राइम टाइम टिभीलाई दिएको अन्तर्वार्तामा जबराले भनेका छन्, ‘म संविधानको विधि र प्रक्रियाबमोजिम प्रधानन्यायाधीश भएको हुँ, कसैको निगाह, सहयोग र  सद्भावबाट भएको होइन । मेरो बहिर्गमन विधि र प्रक्रिया पनि संविधानले निर्धारण गरेको छ । त्यसअनुसार जान मलाई मञ्जुर छ ।’ तर, सडकबाट आवाज उठ्दैमा राजीनामा नदिने उनको भनाइ छ । 

सोमबार र मंगलबार प्रधानन्यायाधीशले तोकका पेसी र इजलास नबसेका न्यायाधीशहरूले आन्तरिक छलफललाई नै निरन्तरता दिने भएका हुन् । ‘हामी सोमबारदेखि छलफलमा बसेका थियौँ । पछिल्ला दुई दिन (बुधबार र बिहीबार) पूर्वन्यायाधीशहरूको निधनका कारण शोक प्रस्तावमा सहभागी भएकाले हाम्रो खासै छलफल हुन पाएको छैन । यी दिन इजलास पनि स्थगित भए,’ एक न्यायाधीशले भने, ‘भोलि (शुक्रबार) पनि इजलास नबस्ला कि ! किनकि हामी छलफलमै हुन्छौँ ।’

इजलास नबसेका न्यायाधीशहरूले खासगरी बारको निर्णय कुरेका छन् । बारले तय गर्ने आन्दोलनका कार्यक्रमअनुसार थप रणनीति बनाउने उनीहरूको योजना छ । ती न्यायाधीशले भने, ‘शुक्रबार बारको पनि बैठक छ । कस्तो परिस्थिति हुन्छ, सबैतिर हेर्नुपर्‍यो नि ! त्यसका आधारमा आइतबारबाट अघि बढ्छौँ ।’ 

बारको बैठक बिहान ११ बजेदेखि आफ्नै भवनमा बस्दै छ । राजीनामा नदिन अड्डी कसिरहेका प्रधानन्यायाधीशको कसरी प्रतिवाद गर्ने भन्ने रणनीति बनाउन बैठक बस्न लागेको महासचिव लीलामणि पौडेलले बताए । अदालतभित्र भद्र विरोधदेखि अदालतबाहिर सडकसम्म आन्दोलन चर्काउने कार्यक्रम ल्याउने बारको तयारी छ ।

‘अहिलेसम्मको परिस्थिति हेर्दा प्रधानन्यायाधीश राजीनामा दिने मनस्थितिमा हुनुहुन्न । यसले न्यायालय र उहाँ स्वयंलाई क्षति गर्दै जान्छ,’ पौडेलले भने, ‘हामी अब विरोधस्वरूप कालोपट्टी बाँधेर इजलास जाने, धर्ना दिने, धर्नाको समय हरेक दिन बढाउँदै लैजाने, बेन्च बहिष्कार गर्नेसम्मका कार्यक्रमको तयारीमा छौँ । सबै न्यायाधीशको बेन्च बहिष्कार गर्ने कि प्रधानन्यायाधीशको भनेर बैठक र छलफलले तय गर्छ । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउनेदेखि देशभरका अदालत केही घन्टा ठप्प गर्ने निर्णय पनि हुन सक्छ ।’ प्रधानन्यायाधीशले अटेर गरे लाठी–गोली खाए पनि कडा आन्दोलनमा उत्रिने पौडलले बताए । 

मन्त्रिपरिषद्, संवैधानिक परिषद्लगायतमा भाग मागेको, सर्वोच्चबाट गरेका फैसला देखाएर ‘बार्गेनिङ’ गरेको तथा गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेकोलगायत गतिविधिबाट प्रधानन्यायाधीशमा न्यायिक विचलन देखिएको भन्दै सिंगो न्याय क्षेत्र र नागरिक समाजसमेतले मार्गप्रशस्त गर्न दबाब दिएका छन् । सर्वोच्चका सहकर्मी न्यायाधीश र बार एसोसिएसनले मात्रै होइन, सर्वोच्च बार, चार पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, न्याय क्षेत्रसँग सम्बन्धित संघसंस्था, बृहत् नागरिक आन्दोलनले जबराको राजीनामा मागेका छन् । 

शोक प्रस्ताव पारित गर्न बसेका दुई पूर्ण बैठकमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच के कुरा भयो ?
न्यायालय सुधारका लागि संघर्षरत सर्वोच्चका न्यायाधीशहरू बुधबार र बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको पूर्ण बैठकमा उपस्थित थिए । बुधबार सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डित र बिहीबार पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक डाकिएको थियो ।

त्यसैले पूर्ण बैठकमा अरू मुद्दाको विषयमा छलफल भएन । स्रोतका अनुसार बिहीबारको बैठकमा एक न्यायाधीशले ‘चिसो बढ्योे’ भन्दै प्रधानन्यायाधीश र आफूहरूबीचको संवादहीनतातर्फ पनि इंगित गरेका थिए । तर, त्यसमा धेरै लामो कुरा भएन ।

‘शोक प्रस्ताव पारित गर्ने बैठकमा विवादका विषय उठाउने कुरै भएन । भित्री कुरो त्यस्तो वातावरणमा हुने विषय पनि होइन,’ एक न्यायाधीशले भने, ‘एक–अर्कालाई अभिवादन गर्‍यौँ । त्यसबाहेक त्यही चिसो बढ्यो, मौसम यस्तो छ जस्ता सामान्य कुरा भए । गम्भीर कुरा हुने कुरै भएन ।’ 

पूर्ण बैठकको जानकारी सर्वोच्च प्रशासनबाट सबै न्यायाधीशलाई दिइने गरिन्छ । बैठक कक्ष प्रधानन्यायाधीशको च्याम्बरसँगै जोडिएको छ । सबै न्यायाधीश बैठकमा उपस्थित भएलगत्तै प्रधानन्यायाधीश जबरा भित्रैबाट प्रवेश गर्छन् । पछिल्ला दुई बैठक पनि विगतका झैँ सामान्य अभिवादनबाट सुरु भए । ‘मुख्य रजिस्ट्रारले निधन भएका पूर्वन्यायाधीशको जीवनी वाचन गर्नुभयो । हामी सबैले मौनधारण गर्‍यौँ र आ–आफ्नो च्याम्बरतिर लाग्यौँ, अरू विषयमा कुरा भएन,’ ती न्यायाधीशले भने । 

सुझावित समाचार