बार–बेन्च विवादले संवैधानिक इजलास बन्धक

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका रिटमाथिको सुनुवाइ अनिश्चित

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण

न्यायाधीश हरि फुँयालको एकल इजलासले मुद्दाको सुनुवाइ रोक्न संवैधानिक इजलासलाई आदेश दिएपछि उत्पन्न बार–बेन्च विवाद साम्य नहुँदा संवैधानिक परिषद्सम्बन्धी रिटमाथिको सुनुवाइ अनिश्चित बनेको छ । बार–बेन्च विवादले परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछिका नियुक्तिविरुद्धका रिटमाथिको सुनुवाइ एक महिनादेखि रोकिएको छ । 
अध्यादेशसम्बन्धी रिटसँगै जोडिएको एक रिटमाथि ८ असोजमा इजलास तोकिए पनि बारले एमिकस क्युरी नपठाएपछि बार–बेन्च विवाद सतहमा मात्र आएन, रिटमाथिको सुनुवाइमै प्रभाव प¥यो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासबाटै यसको निरुपण गर्ने बताए पनि उनले सहमति पालना नगरेको भन्दै कानुन व्यवसायी असन्तुष्ट छन् । 

बुधबार र शुक्रबार बस्ने संवैधानिक इजलासमा गत साता यससम्बन्धी रिटको सुनुवाइ हुन सकेन । शुक्रबार संवैधानिक इजलास नै बसेन । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की बिदामा भएको र अर्का न्यायाधीश विश्वम्भर श्रेष्ठ उपस्थित नभएकाले संवैधानिक इजलास नतोकिएको हुन सक्ने सर्वोच्चका सहरजिस्ट्रार बाबुराम दाहालले बताए । ‘इजलास राख्ने–नराख्ने प्रधानन्यायाधीशको जिम्मेवारी हुन्छ । तर, वरिष्ठ न्यायाधीशहरू नहुँदा नराखिएको हो कि,’ उनले भने । 

अधिवक्ता गणेश रेग्मीले १६ भदौमा दर्ता गरेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने मागसहितको रिटमाथि न्यायाधीश फुँयालले दिएको अन्तरिम आदेशका कारण १७ भदौमा तोकिएको अध्यादेशविरुद्धका रिटमाथिको इजलास स्थगित भएको थियो । आइतबार त्यसको ठिक एक महिना भएको छ, तर सुनुवाइ हुन सकेको छैन । 

अधिवक्ता रेग्मीको रिटमा ‘राष्ट्रिय महत्वको’ विषय भएको भन्दै नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई–दुईजना वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रूपमा झिकाउन आदेश भएको थियो । तर, प्रधानन्यायाधीशसँग भएको सहमति पालना नहुँदा एमिकस क्युरीको नाम नपठाएको सन्देश बारले सर्वोच्चलाई दिएको थियो ।

१ पुस ०७७ मा दर्ता भएको अधिवक्ता ओमप्रकाश अर्यालको रिटको पेसी नौ महिनापछि ११ भदौमा संवैधानिक इजलासमा परेको थियो । तर, प्रधानन्यायाधीश आफैँ विपक्षी भएको मुद्दामा आफैँ बस्न नहुने प्रश्नपछि उनी आफू बिदामा बस्ने र कायममुकायम प्रधानन्यायाधीशलाई संवैधानिक इजलासको नेतृत्व गर्न दिन सहमत भएका थिए । 

तर, यसैबीचमा अधिवक्ता रेग्मीको रिटमाथि एक न्यायाधीशको इजलासबाट मागबमोजिम अन्तरिम आदेश भएपछि अधिवक्ता अर्यालका रिटमाथिको सुनुवाइ रोकिएको थियो । अर्यालले ३० मंसिरमा जारी भएको संवैधानिक परिषद् अध्यादेश खारेजी र त्यसबमोजिमका नियुक्ति पनि बदर हुनुपर्ने मागसहित पूरक निवेदनहरूसमेत दर्ता गराएका छन् । अध्यादेशसँग सम्बन्धित सभामुख अग्निप्रसाद सापकोटाको रिट पनि सर्वोच्चमा विचाराधीन छ ।

प्रधानन्यायाधीश जबरा संवैधानिक परिषद्का सदस्यका रूपमा नियुक्तिसम्बन्धी बैठकमा सहभागी थिए । त्यससम्बन्धी मुद्दा आफैँ हेर्दा प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने भन्दै आवाज उठेपछि त्यसबाट अलग हुन प्रधानन्यायाधीश राणा सहमत भएका थिए । विगतमा पनि कामु प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलासले सुनुवाइ भएका उदाहरण छन् । 

बार–बेन्च समन्वय समितिको २८ भदौको बैठकमा अधिवक्ता रेग्मीको रिट संवैधानिक इजलासमा पठाउने सहमति भएको थियो । तर, ८ असोजमा रिट सर्वोच्चको संयुक्त इजलासमा तोकियो । यसबाट रुष्ट बनेका दुवै बारले एमिकस क्युरीमा सदस्य नै पठाएनन् । उनीहरूले औपचारिक रूपमा सर्वोच्च प्रशासनबाट आवश्यक फाइल नदिइएको बताएका थिए । 

नेपाल बारले प्रधानन्यायाधीशबाट भद्र सहमति उल्लंघन भएपछि समस्या भएको बताएको छ । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले भने, ‘सामान्य नागरिकसँग भएको सहमति त कार्यान्वयन हुन्छ भने यो त न्याय, कानुन क्षेत्रमा भएको उच्चस्तरीय बैठकको सहमति थियो । तर, संवैधानिकको साटो यो मुद्दा हेर्न डिभिजन बेन्च तोकियो । भद्र सहमति उल्लंघन भएको छ ।’

उनले यो विषय हरिकृष्ण कार्की संयोजक रहेको कार्यदलको प्रतिवेदन कार्यान्वयनसँग जोडिएको, तर सर्वोच्चले चासो नदिएको पनि बताए । ‘हरिकृष्ण कार्की संयोजक रहनुभएको प्रतिवेदनमा अनावश्यक रिट दर्ता गर्न नहुने, क्षेत्राधिकारभन्दा बाहिरका असम्बन्धित रिट दर्ता नगर्न सुझाब छ । त्यो प्रतिवेदन कार्यान्वयन पनि यससँग जोडिन्छ । कार्यान्वयनमा सर्वोच्चको चासो देखिएन,’ उनले भने । 

उनले यसअघि सर्वोच्च प्रशासनले आवश्यक कागजात नदिएकाले एमिकस क्युरी नपठाइएको बताए । बारले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्वअध्यक्ष शेरबहादुर केसीलाई एमिकस क्युरीका रूपमा पठाउने तयारी गरेको थियो । यता सर्वोच्च अदालत बार एसोसिएसनले पनि सकभर संवैधानिक इजलासबाटै रेग्मीको मुद्दा टुंगिनुपर्ने बताएको छ । तर, न्यायिक कार्यमा कुनै किसिमको अवरोध वा ढिलाइ गर्ने आफूहरूको मनसाय नभएको प्रस्ट्याएको छ ।

सर्वोच्च बारका कोषाध्यक्ष विनोद कार्कीले भने, ‘हामीले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य र रविनारायण खनाललाई यो मुद्दामा पठाउने निर्णय गरिसकेका छौँ । तर, बेन्च गठन सहमतिअनुसार होस् भन्ने हाम्रो चाहना हो । यसको अर्थ अन्य बेन्च गठन भएमा पठाउँदैनौँ भन्ने होइन ।’ सकेसम्म मुद्दा संवैधानिक इजलासलाई तोकियोस् भन्ने सर्वोच्च बारको चाहना रहेको उनले स्पष्ट गरे । 

निवेदकसमेत रहेका अधिवक्ता अर्याल भने मुद्दामा ढिलाइ भएसँगै स्वार्थ समूहले खेल्ने ठाउँ पाएको बताउँछन् । प्रधानन्यायाधीशले उच्चस्तरीय वार्तामा आफ्नो प्रशासनिक अधिकार प्रयोग गरी संवैधानिक इजलासमा पठाउने भनेको रिट नपठाउँदा बारले अडान लिनुपरेको उनको भनाइ छ । 

‘मुद्दा लम्बिनुको दोष प्रधानन्यायाधीशकै हो । प्रशासनिक निर्णय गरेर संवैधानिक इजलासमा पठाउने निर्णय गर्ने, तर डिभिजन बेन्च तोक्ने कार्य भयो । आफ्नो अधिकार प्रयोग गर्न चाहनुभएन । मुद्दा जति–जति लम्बिरहेको छ, स्वार्थ समूहहरू पनि उति नै सक्रिय छन्,’ अर्यालले भने, ‘५२ जना जसले अध्यादेशमार्फत नियुक्ति पाए, उनीहरू जे चाहन्थे, त्यही भयो । नयाँ घटनाक्रम विकास भए, जस्तो राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धका रिट । अदालत प्रशासनले स्वार्थ समूहसँग मिलेर काम गरिरहेको छ । मुद्दा गिजोल्न, मुद्दा लम्ब्याउन त्यो समूह सक्रिय छ ।’ 

सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसी पनि मुद्दा लम्बिँदै जाँदा विभिन्न समस्या आउने बताउँछन् । यसको समाधान भने प्रधानन्यायाधीशकै हातमा रहेको उनको भनाइ छ । विषय निरुपण गर्न प्रधानन्यायाधीश दृढ रहेमा समय नलाग्ने उनको सुझाब छ । 

‘पहिलो– सानातिना मुद्दामा सर्वोच्चले एमिकस क्युरी झिकाउनु नै हुँदैन । सामान्य मुद्दा आफैँले छिन्ने हो, एमिकस क्युरी सस्तो बनाउनुहुँदैन । अर्को– यदि सहमति भएको हो भने प्रधानन्यायाधीशले पालना गर्नुपर्छ,’ केसीले भने, ‘मुद्दाको गाम्भीर्य हेरेर प्रधानन्यायाधीशले जुनियर न्यायाधीश नभई आफूरहित संवैधानिक इजलासमा पठाइदिनुपर्छ । उहाँ आफैँ पनि सम्बन्धित कुनै पनि मुद्दामा बस्नुहुँदैन । प्रधानन्यायाधीश दृढ हुनुभयो भने यो मुद्दा टुंगिन्छ ।’ संवैधानिक इजलासमा मुद्दा तोकिए पनि प्रधानन्यायाधीश बस्न भने नहुने उनको धारणा छ ।

सुझावित समाचार