मनाङवासीको बाध्यता : बिरामी पर्दा हेलिकाेप्टरकै भर

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा मनाङवासीलाई बिरामी हुँदा हेलिकाेप्टरको भर पर्नुपर्ने बाध्यता छ। जेठ १४ र ३१ को बाढीले मनाङका सडक क्षतविक्षत बनाएपछि जिल्लावासी हेलिकाेप्टरको भर पर्न बाध्य भएका छन्।

सडक अवरुद्ध हुँदा नागरिकको दैनिक जीवनयापनमै पनि समस्या परेको छ । भौगोलिक रूपमा विकट मनाङमा बर्खा लागेसँगै सडक अवरुद्ध हुन्छ। स्थानीय उपचारका लागि महँगाे भाडा तिरेर हेलिकाेप्टरबाट जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको मनाङ नासोेंकी स्थानीय निशा गुरुङले बताइन्। उनले भनिन्, ‘भीषण वर्षापछि आएको बाढीपहिरोले सडक, पुल र बस्तीसमेत बगाएपछि सडक क्षतविक्षत भएको छ ।’ गाउँमा गाडी नआएको तीन महिना भइसकेको छ।

बिरामी भए पनि आफूहरूका लागी हेलिकाेप्टर चार्टर गर्न सक्ने अवस्था नभएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘बिरामी भइहाले पनि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्छ भन्ने चिन्ताले पिरोल्न थालेको छ।’ मनाङमा जटिल रोगका बिरामीलाई उपचारका लागि हेलिकाेप्टरबाट काठमाडौं र पोखरा लैजानुको विकल्प छैन। 

नासों गाउँपालिकाका अध्यक्ष चन्द घलेले गाउँपालिकामा जेठ ३१ र असार १ को बाढीले ठूलो क्षति गरेको उल्लेख गर्दै बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको बताए। जिल्लाको माथिल्लो क्षेत्रमा जाने भ्राताङमा हाल सडक मर्मतको काम भइरहेको यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। अहिले तलेखुदेखि भ्राताङभिरसम्मकै सडक मर्मत भइरहेको छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडक नहुँदा बिरामीलाई सबैभन्दा बढी समस्या परेको बताए। बेंसीसहरदेखि मनाङ सिमाना म्यार्दीसम्मको ३५ किमि र त्यसपछिको ५ किमि खोत्रोसम्म अहिले अस्थायी रूपमा सवारी चलेका छन्। चामेबाट तलेखुसम्मको दुई किलोमिटरमा जिप चलेको छ। सरकारले मनाङलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढीपहिरोपछि आफैँले हेलिकोप्टर ल्याई उद्धार र राहतमा खटेका मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले आफ्नो बुबा पेमा छिरिङ गुरुङ र आमा छ्युङ्दा गुरुङको नाममा स्थापित फाउन्डेसनमार्फत तलेखुदेखि भ्राताङभिरसम्म सडक मर्मत गरिरहेको बताए।

वर्षाले सडक अवरुद्ध भएसँगै मनाङमा उपचारका लागि बिरामी होल्ड गरेर राख्ने कि नराख्ने भन्नेमा स्वास्थ्यकर्मी दोधारमा रहेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए। उनले भने, ‘सडक अवरुद्ध छ, जटिल बिरामीलाई रिफर गर्नसमेत समस्या भएको छ।’ मौसम खराबीका कारण हेलिकाेप्टरबाट समेत बिरामीको उद्धार गर्न कठिनाइ हुने गरेको प्रमुख आचार्यले बताए।

See More On

सुझावित समाचार